काठमाडौं । नेपाली कांग्रेसका संस्थापकमध्ये एक सूर्यप्रसाद उपाध्यायको ४०औं स्मृति दिवस सम्पन्न भएको छ । सूर्यप्रसाद उपाध्याय स्मृति प्रतिष्ठानको आयोजनामा नेपाली कांग्रेसका प्रमुख संस्थापकको वास्तविक पहिचान र यथोचित सम्मान विषयक विचार गोष्ठीकासाथ उपाध्यायलाई स्मरण गरिएको हो ।
विसं ०१७ सालसम्म नेपाली कांग्रेसमा बीपी, सुवर्ण, सूर्यप्रसाद र गणेशमान सिंह शीर्ष नेता मानिनुहुन्थ्यो । ०१७ को काण्डमा पृथक भूमिकाको पृथक व्याख्याका आधारमा विगतमा नेपाली कांग्रेसले उपाध्यायका विषयमा चासो लिएको थिएन । तर, गतसाल कांग्रेसले उपाध्यायलाई तीन नेता समान लहरमा उपाध्यायको स्थान रहेको स्वीकार गरेपछि उहाँको योगदानलाई थप परिचय र सम्मानका लागि विचार गोष्ठिको आयोजना गरिएको अनेक तथ्यहरूको प्रस्तुतिकासाथ प्रतिष्ठानका अध्यक्ष डा.रमेश ढुंगेलले स्पष्ट गर्नुभएको थियो ।
कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एक सन्देशमार्फत उपाध्यायको योगदान नेपाली कांग्रेसको जीवनमा सदा स्मरणीय रहेको धारणाकासाथ उहाँलाई पार्टीले उपयुक्त सम्मान गर्नकै लागि बीपी, सुवर्ण, गणेशमानजी समान सूर्यप्रसादलाई पनि स्थान दिइएको बताउनुभएको छ । देउवाको सन्देश वाचन गर्दै वरिष्ठ पत्रकार तथा हिमालय टाइम्सका सम्पादक प्रा.पुरुषोत्तम दाहालले सूर्यप्रसाद उपाध्यायको योगदानलाई अवमूल्यन गर्न नहुने र विगतमा जसले जुनरूपमा योगदान दिनुभएको तिनलाई बिर्सन खोज्नु भनेको जरा काटेर फल फलाउने आशा गर्नु सरह भएको विचार प्रकट गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि संस्कृति पर्यटन एवं नागरिक उड्डयनमन्त्री तथा नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले नेपाली राजनीतिमा उपाध्यायको समन्वयकारी भूमिका रहेको र त्यस्तो भूमिका सदावर्त स्मरणीय हुने विचार प्रकट गर्नुभएको थियो ।
कार्यक्रममा सूर्यप्रसाद उपाध्यायको अत्यन्त निकटस्थ रहेर राजनीतिक उत्प्रेरणा पाएकोमा गर्वबोध हुनेगरेको भन्दै कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद अर्जुननरसिंह केसीले उपाध्यायसँगका अनेक पुराना स्मृतिहरूबारे जानकारी दिँदै उहाँ जस्तो राजनीतिज्ञलाई सम्मान गरिएन भने कृतघ्नता हुने विचार प्रकट गर्नुभएको थियो । यस्तै, पूर्वमन्त्री नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.मीनेन्द्र रिजालले उपाध्यायको बहुआयामिक व्यक्तित्वको प्रभाव नेपाली राजनीतिमा रहेको विचार प्रकट गर्नुभएको थियो भने पूर्वउपसभामुख तथा कांग्रेस नेतृ पुष्पा भुसालले आफ्नो पिताजी काशीनाथ गौतमसँगै सूर्यप्रसाद उपाध्यायको प्रेरणाले आफू राजनीतिमा रहेको बताउनुभएको थियो । सो अवसरमा राष्ट्रिय पञ्चायतका पूर्वअध्यक्ष तथा राप्रपाका नेता नवराज सुवेदीले सूर्यप्रसाद उपाध्यायालाई प्रधानमन्त्रीको प्रस्ताव लिएर राजा महेन्द्रले आफूलाई पठाएको तर उहाँले बीपीसहित सबै राजनीतिकर्मीको जेलमुक्ति र विदेशमा रहेका कांग्रेसका साथीहरूलाई आममाफी भएमा मात्रै आफू प्रधानमन्त्री हुने नत्र असम्भव रहेको प्रत्युत्तर दिएको जानकारी दिनुभएको थियो ।
कार्यक्रममा प्रजातान्त्रिक विचार समाजका पूर्वअध्यक्ष तथा वरिष्ठ चिकित्सक डा.केदारनरसिंह केसीले सूर्यप्रसाद उपाध्यायले अनेक राजनीतिका जटिलताहरूलाई राम्ररी बुझ्नुभएको हुनाले उहाँको व्यवहार पनि धरातलीय यथार्थता अनुरूप भएको विचार प्रकट गर्नुभएको थियो । कांग्रेसका नेता तथा संस्थाका सल्लाहकार लोकेश ढकालले अहिलेको राजनीतिले सही दिशा दिन नसकेको बताउँदै उपाध्याय जस्ताको समन्वयकारी चिन्तन आजको आवश्यकता रहेको विचार प्रकट गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच