काठमाडौं । गलैंचा उत्पादक तथा निकासीकर्ता संघ र नेपाल निर्यात व्यवसायी महासंघले गलैंचाको कच्चा पदार्थ आयातमा मूल्य अभिवृद्धि कर (भ्याट) छुटको माग गर्दै आइतबार उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेटेका छन् । व्यवसायीले अर्थमन्त्रीसमक्ष नेपाली गलैंचाको ऊनी धागो कटाइ, रंगाइ, धुलाइ र बुनाइमा प्राप्त भइरहेको भ्याट छुट सुविधा खारेज गरिएकाले समस्या भएको बताएका छन् । गलैंचा उत्पादक तथा निकासीकर्ता संघका संस्थापक अध्यक्ष रामबाबु गुरुङले नेपाली गलैंचाको प्रमुख कच्चा पदार्थ ऊनमा भ्याट छुट खारेज गरिँदा उद्योगहरूले प्रतिस्पर्धात्मक क्षमता गुमाई व्यवसाय गर्न नै कठिन भएको बताउनुभयो ।
तेस्रो मुलुकमा निर्यात गरी प्राप्त हुने आयमा ५० प्रतिशत कर छुट दिने व्यवस्था पनि सरकारले खारेज गरेकोमा पुनः कार्यान्वयनमा ल्याइनुपर्ने, गलैंचा बनाउँदा प्रयोग हुने सिल्क धागोमा ऊनसरह भन्सार र भ्याट छुट हुनुपर्नेलगायतका माग रहेका छन् । अर्थमन्त्री पौडेलले कर छुट दिने विषय आर्थिक ऐनबाट सम्बोधन हुने भएकाले संसद्बाटै सम्बोधन गर्नुपर्ने भए पनि उद्योगी व्यवसायीका हरेक खालका समस्या सुन्न र त्यसको समाधान खोज्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘मुलुकको विद्यमान अर्थतन्त्रको दबाब र शिथिल अवस्थाबाट बाहिर निकाल्न सरकार निजी क्षेत्रका कुरा सुन्न तयार छ । निजी क्षेत्रको मनोबल कसरी उकास्ने भन्ने विषयमा सरकार संवेदनशील र गम्भीर छ । तपाईंहरूका समस्या पनि गम्भीर रूपमा लिएको छु र यस विषयमा के गर्न सकिन्छ भनेर चाँडै नै जानकारी दिनेछु ।’