फेरि अर्की निर्मलाको न्यायका लागि आवाजहरू उठिरहेका छन् । बेलाबेलामा देशका विभिन्न ठाउँमा हुँदै र दोहोरिँदै आएका हिंसात्मक घटनाले मानव जाति र सभ्यतामाथि नै लज्जाबोध हुँदै आएको छ । यसमध्येको पछिल्लो सन्दर्भका रूपमा बाँके नेपालगञ्जकी निर्मला कुर्मीको हत्या र शवसमेत बेपत्ता परिएको घटनालाई लिनुपर्ने भएको छ । समाजमा घरेलु हिंसा वा परिवारबाट दिने यातना, बलात्कार, हत्यामा परिवारमात्र होइन छिमेकी, आफन्त, नातागोता र बाहिरी मानिसबाट समेत यस्ता घटना हुँदै आएका छन् । तिनको स्वरूप सामान्यदेखि गम्भीर प्रकृतिका हुनेगरेका छन् । सतहमा देखापरेका घटनाहरू मात्र पनि अनेकौं छन् तर बाहिर नआई भित्रभित्रै दबाइएका घटनाको त लेखाजोखा नै हुन सक्दैन ।
अनेक गृहमन्त्रीहरू आए-गए । उनीहरू एकहप्तामा नै अपराधीहरूलाई कानुनको घेरामा ल्याउने धाक दिने गर्थे । केही चमत्कारी व्यक्तिहरूले निर्मलाहरूकै नाम भँजाएर गृहमन्त्रीको जिम्मेदारी पाएका थिए । तर ती सबै हावा हुन पुगे । अहिलेका गृहमन्त्री कञ्चनपुरबाटै प्रतिनिधित्व गर्नुहुन्छ उहाँका लागि बाँकेकी निर्मला र कञ्चनपुरकी निर्मलालाई न्याय दिनु एक गम्भीर चुनौतीसमेत हो । त्यो चुनौती पूरा गर्न अरूभन्दा केही शालीन रमेश लेखक कति समर्थ हुनुहुने हो उहाँको समेत अग्निपरीक्षा हुँदैछ ।
कुनै धार्मिक प्रभावले, कुनै अस्थाका आधारमा, कुनै दबाब, कुनै सामाजिक मर्यादाका कारणले सबै घटना सार्वजनिक बन्ने गरेका छैनन् । चर्चामा आएका केही घटनालाई प्रतिनिधि घटनाका रूपमा लिने हो भनेमात्र पनि तिनको स्परूप, प्रकृतिकारण र परिणामको समेत आँकलन हुनसक्छ । केही घटनाहरू श्रीमान्प्रतिको अनास्था बाहिरसम्म आउने भयग्रस्त मनोविज्ञानबाट प्रेरित भएका हुन्छन् र भित्रैभित्रै तिनलाई सहेर बस्न महिलालाई बाध्य परिएको हुन्छ । कुनै घटनारू गाउँका स्थानीय बुद्धिजीवीले सामाजिक मर्यादा बिथोलिने र अन्य गाउँसम्म आफ्नो गाउँको मर्यादामा आँच आउने भयले दबाउन खोजिएका हुन्छन् भने केही घटनामा राजनीतिक, प्रशासनिक दबबा जस्ता अनेकौं कारणले अनुसन्धान गर्ने पक्षलाई कमजोर बनाइएको हुन्छ ।
पीडित पक्षलाई प्रलोभनमा पारेर राख्ने गरिएको हुन्छ । यस्ता विद्यामानता नहुने हो भने हिंसाका घटनाको संख्या धेरै देखिन आउने थिए । यस्ता सबै दबाब पार गर्दै बाहिर आएका घटनामात्र अनेकौं छन् । निर्मला कुर्मी काण्ड निर्मला पन्तको अर्को संस्करणका रूपमा बाहिर आएको छ तर यी दुईमा हत्या भएको घटनालाई समान रूपमा लिन सकिए पनि अन्य कुरामा समानता छैन । कलिला नानीहरूको यौनपिपासुहरूबाट बलात्कारपछि हत्या हुनेगरेको छ । अहिलेसम्म बलात्कारी पत्ता नलागेको वा पत्ता लगाउन नखोजिएको कञ्चनपुरकी निर्मला पन्त बलात्कार तथा हत्या प्रकरण र यस्ता अनेकौं प्रकरणमा हत्याको पृष्ठभूमिमा बलात्कार कारण बनेर आएका छन् भने निर्मला कुर्मीको हत्याप्रकरणमा सम्पत्ति कारण बनेर आएको छ ।
बाँके नेपालगञ्ज-१७ की निर्मला कुर्मीका श्रीमान् बितेको चार वर्षपछि उहाँका १४ र १८ वर्षका दुई छोराहरूसमेतको दश दिनको अन्तरालमा मृत्यु भयो । शोकाकुल अवस्थामा रहेकै बेलादेखि उहाँमाथि अत्याचार सुरु भएको थियो । बन्धक बनाउने, शारीरिक र मानसिक यातना दिने, उहाँको साम्पत्तिक अधिकार प्रमाणित हुने कागजातहरू खोसेर कब्जामा लिनेजस्ता व्यवहार भए । उहाँका श्रीमान् महलु कुर्मी र छोरारहरूको नाममा साढे चार बिघा जमिन रहेकाले उहाँको यही जग्गामाथि त्यस्ता मानिसहरूको आँखा परेको थियो ।
एकातिर श्रीमान्को मृत्यु र त्यसको चार वर्षपछि नै हुर्किएका दुई छोरा १४ र १८ वर्षका रामसागर र सुरेशलाई गुमाउनु पर्दाको भावविहृलको अवस्थामा उहाँ बेसहारा बन्नुभएको थियो । सभ्य समाजले यस्तो अवस्थामा पुगेकी महिलालाई संरक्षण र सहारा दिनुपर्नेमा समाजका अग्रणी व्यक्तिहरू नै उहाँमाथि बक्रदृष्टि राखेर सम्पत्ति हत्याउन पुगेकाले समाजको काला कर्तुतहरू उदांगिन पुगेका छन् । निर्मलालाई २०७५ सालमै बेपत्ता परिएको र सीमापारि भारतमा उहाँको मृत्युभएको भनियो । अहिले उहाँको नाममा रहेको जग्गाजमिन पनि समाजका केही मानिसहरूले आफ्नो नाममा बनाइसकेको अवस्था छ । यसले गर्दा समाजको यथार्थ चित्र उदांगिन पुगेको छ ।
एकल र सहाराबिहीन महिलाहरूमाथि समाजले कसरी खेदो खन्दोरहेछ भन्ने यो एउटा दृष्टान्त हुनसक्छ । उहाँको मृत्यु भइसकेको भनिए तापनि उहाँको शव भेटिएको छैन । समाजका तिनै आपराधिक मनोभावनाका मानिसहरूले नै उहाँको शवसमेत गायव बनाएको हुनसक्छ । सम्पत्तिलाई नै सर्वोपरी ठान्ने त्यो पनि अर्काको, असहाय महिलाको सम्पत्ति खान ज्यानसमेत मार्ने व्यक्तिहरू यो समाजमा हाकाहाकी हिँडिरहने वातावरणबाट यस्ता अरू महिलाहरू पनि सुरक्षित छैनन् भन्ने पुष्टि हुन्छ । देशमा संविधान र कानुन छ । नेपाल कानुनी राष्ट्र हो । यहीँ कानुनको उल्लंघन यसरी भइरहनु विडम्बना हो । निर्मला कुर्मीलाई न्याय मिलोस् भन्ने चाहना ती अपराधीबाहेक अरू सबैको रहेको छ ।
यसका लागि कसैको कामनामात्र होला र कोही उहाँको न्यायका लागि लागिपरेका छन् । अधिकारकर्मीहरू यसका लागि संघर्षरत हुनुहुन्छ । महिला सुरक्षा दबाब समूहको सक्रियतामा सरकारमाथि दबाब सिर्जना गर्ने प्रयास भइरहेका छन् । लोकतन्त्रमा योभन्दा लाजमर्दो अरू केही हुँदैन भन्दै उहाँहरू सडकमा आउनुभएको छ । अधिकारकर्मीहरूले घटनाको छानविन नहुँदा राज्यमाथि नै नागरिकको विश्वास टुट्ँदै गएको धारणा राख्नुभएको छ । यो यथार्थ हो । घटनामा संलग्न रहेका अपराधीलाई कानुनी रूपमा दण्डित नगर्नुले वास्तविक रूपमा राष्ट्र नै कलंकित बन्नपुग्छ । अपराधी जुनसुकै पार्टीको भए पनि ऊ अपराधी नै हो । यस्ता अपराधीलाई कुनै पनि पार्टीले संरक्षण दिनु हुँदैन । यसले गर्दा समाज र अन्ततः राष्ट्र नै बद्नाम बन्न पुग्छ । निर्मला कुर्मी, निर्मला पन्तलगायत अन्यायमा परेका सम्पूर्णले न्याय पाउनुपर्छ भन्ने सबैको चाहना हो, राज्यले यसतर्फ गम्भीरतापूर्वक सोचोस् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच