चौरी खर्क पुगेर ६ बालबालिकालाई लगाइयो खोप

वर्षायाममा गोठाला आमाबुवासँगै रानीशैना उच्च पाटनमा पुगेका बालबालिकालाई खोप लगाउँदै सिमकोट गाउँपालिका-८ स्याडा स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीको टोली । तस्बिरः दाने बोहरा/हिटा

दाने बोहरा हुम्ला, संवाददाता
Read Time = 4 mins

हुम्ला । हुम्लाको सिमकोट गाउँपालिका-८ स्याडा स्वास्थ्यचौकीको स्वास्थ्यकर्मीको टोली जिल्लाको उच्च पाटन चौरी खर्कमा पुगेर ६ बालबालिकालाई विभिन्न किसिमको खोप लगाइएको छ । सिमकोट गाउँपालिका स्वास्थ्य शाखाको खर्कमा रहेका बालबालिकाका लागि घुम्ती खोप शिविर अभियानअन्तर्गत रानीसैनामा रहेका स्याडा गाउँकासहित उत्तरी नाम्खा, ताँजकोट र बाजुरा जिल्लाका त्यस क्षेत्रमा रहेका पाँच बालक र एक बालिकालाई खोप लगाइएको हो ।

६ महिनादेखि १५ महिना मुनीका ती बालबालिकालाई बिसिजी, डिपीटी, पिसीभी, पोलियो, रोटा, जेइ र एफआइपिभि रुबेला टाइफाइडलगायत आदि रोगविरुद्धको खोप लगाइएको स्याडा स्वास्थ्यचौकीका अहेब राजेश थापाले जानकारी दिनुभयो ।

झण्डै चार हजार मिटर अग्लो पाटन चौरी खर्क रानीसैनामै पुगेर बालबालिकाका लागि खोप कार्यक्रम सञ्चालन गरेको अहेब थापाले जानकारी दिनुभयो । भदौ १७ गतेदेखि २२ गतेसम्म रानीशैनामा खोपसहित स्वास्थ्य शिविर सञ्चालन भएको थियो ।

वर्षाको समयमा खर्क तथा अग्लो लेकमा चौँरीगाईसहित अन्य पशुवस्तु चरिचराउका लागि लैजानुका साथै खर्कमा बालबालिका र गोठाला जाने भएकाले उनीहरूको उपचारका लागि घुम्ती शिविर सञ्चालन गरेको सिमकोट गाउँपालिका स्वास्थ्य संयोजक नर बहादुर भण्डारीले बताउनुभयो । रानीशैना खर्कमा गोठाला बसेका ४३ जना गोठालाको स्वास्थ्य जाँचसहित औषधि उपचार गरिएको संयोजक भण्डारीले बताउनुभयो । २० महिला र २३ पुरुष गरी ४३ जनाको उपचार गरिएको संयोजक भण्डारीले बताउनुभयो ।

स्याडा गाउँका र नाम्खा, ताँजकोट गाउँपालिकासहित छिमेकी बाजुरा जिल्लाका रानीशैनामा पुगेका गोठाला, जडिबुटी खन्न पुगेका नागरिकहरुको उपचार गरिएको उहाँले बताउनुभयो । रानीशैनामा हुम्लाका मात्रै नभएर बाजुरा जिल्लाका नागरिक पनि पुगेका छन् । घुम्ती शिविरमा स्याडा स्वास्थ्यचौकी इन्चार्ज लवी रावतको नेतृत्वमा स्वास्थ्यकर्मीको टोली खटिएको थियो ।

बर्खायामको झरीसँगै कठिन यात्रामा खटिई सेवा प्रदान गर्ने स्वास्थ्यकर्मीलाई गाउँपालिका र स्वास्थ्य शाखाले धन्यवाद दिएको छ । गत वर्ष पनि सिमकोट गाउँपालिका स्वास्थ्य शाखाले आफ्नो पालिका भित्र रहेका उच्च पाटनमा पुगेका बालबालिका र नागरिक स्वास्थ्य उपचारबाट कोही नछुटुन भनेर घुम्ती शिविर सञ्चालन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *