१ लाख ९ हजार २ सय रुपैयाँ तिरेर सांसद केसी रिहा

विवेक खड्का दाङ, संवाददाता
Read Time = 2 mins

दाङ । आइतबार अदालतमा आत्मसमर्पण गरेका लुम्बिनी प्रदेश सभा सदस्य धनबहादुर केसी सोमबार रिहा हुनुभएको छ । उहाँले सोमबार फौजदारी अपराधसंहिता २०७४ को दफा १५५ को सुविधा अनुसार १ वर्षसम्म कैद सजाय तोकिएका व्यक्तिले रकम जम्मा गरेमा जेल सजाय भोग्नु नपर्ने प्रावधान बमोजिम १ लाख ९ हजार २ सय रुपैयाँ तिरेर रिहा हुनुभएको हो ।

कानुन अनुसार कैदको सट्टामा रकम तिरेर के.सी. रिहा हुनुभएको हो । रुकुम पूर्वबाट निर्वाचित कांग्रेस सांसद केसी कागजात किर्ते मुद्दामा दोषी ठहर हुनुभएको थियो । कैद सजाय पूरा नगरेका उहाँ रुकुम पूर्व जिल्ला अदालतमा आइतबार उपस्थित हुनुभएको थियो । जिल्ला अदालतका निमित्त श्रेस्तेदार राधाकृष्ण रिजालका अनुसार न्यायाधीश लोकबहादुर हमालको इजलासले प्रदेश सभा सदस्य केसीलाई रकम लिएर रिहाइको आदेश दिएको हो । निवेदकले १ दिन बराबरको ३ सय रुपैयाँका दरले १ लाख ९ हजार २ सय रुपैयाँ बुझाएको रिजाले जानकारी दिनुभयो।

२०४८ असार ९ मा तत्कालीन रुकुम जिल्ला अदालतले कागजात किर्ते मुद्दामा केसीलाई एक वर्ष कैद र दुई हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो । सम्बन्धविच्छेदको मुद्दामा नक्कली कागजात पेस गरेको भन्दै श्रीमती राधा केसीले दिएको जाहेरीमा मुद्दा चलेपछि उहाँ दोषी ठहर हुनुभएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *