खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङस्थित मध्यपहाडी लोकमार्गको दिक्तेल–हलेसी सडकखण्डमा सुविधायुक्त पेट्रोल पम्प खुलेको छ ।
करीव ६ करोडको लगानीमा खुलेको नमुना खोटाङ फ्युल सेन्टरको भदौ २४ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपमेयर विसन राईले रिबन काटेर, गाडीमा डिजले हालेर उद्घाटन गर्नुभएको छ ।
दिक्तेलका केशव थापा, कटारीका रामेश्वर बराल र ओखलढुंगाका सरोज श्रेष्ठको लगानीमा तयार भएको पम्पले २४ सै घण्टा डिजेल पेट्रोलको सेवा दिने जनाईएको छ । बिजुली बत्ती नहुँदा पनि निरन्तर सेवा दिईनेछ ।
पम्पमा पेट्रोलको दुईवटा मेशिनबाट चारवटा नोजलमाफर्त र डिजेलको दुईवटा मेशिनबाट चारवटा नोजलमार्फत इन्धन भरिनेछ । इन्धन बचतका लागि ६० हजार लिटरको ट्याङकी रहेको छ ।
इन्धन भर्ने बाहेक पम्पमा सुविधायुक्त शौचालय, महिला पुरुष अपाङमैत्री शौचालय, कफी सप, एयर हाउस, ग्यारेज तथा क्युआर र एटिएमको सुविधा रहेको छ । एटिएम तत्काल जडान गरिएको छैन । एटिएम जडान गर्न बैंकसँग सहकार्य भईरहेको पम्पका सञ्चालक केशव थापाले बताउनुभयो ।
फ्युल सेन्टरलाई नेपाल आयल निगमबाट भदौ १८ गतेदेखि पेट्रोलियम पदार्थको सप्लाई/आपूर्ति गर्न र सडक डिभिजन हर्कपुर ओखलढुंगाबाट साउन ९ गते पेट्रोल डिजेल फिलिङ स्टेशन राख्ने अनुमति प्राप्त भएको थियो ।