बंगलादेशका कपडा उद्योगको भविष्य अनिश्चित

हिमालय टाइम्स
Read Time = 2 mins

ढाका । ‘फाष्ट फेसन’ व्यवसायमा बंगलादेश विश्वमै अगाडि छ । बंगलादेशी कारखानाहरूबाट निकासी गरिएका हेनेस एण्ड मोरिट्ज, ग्याप र जाराजस्ता आधुनिक फेसन ब्राण्डका कपडाहरू विश्वका धेरै देशहरूमा बिक्री हुन्छन् । पछिल्लो तीन दशकमा यिनै व्यवसायले बंगलादेशलाई विश्वको सबैभन्दा गरिब देशबाट निम्न मध्यम आय भएको देशमा परिणत गरेको हो । तर, हाल वार्षिक ५५ बिलियन डलरको कपडा उद्योगले अनिश्चित भविष्यको सामना गरिरहेको छ ।

सत्ता उथलपुथल र त्यसअघि भएको आन्दोलनले कपडा उद्योग धरापमा पर्ने देखिएको हो । आन्दोलनका क्रममा कम्तीमा चारवटा कपडा कारखानामा आगजनी गरिएको थियो । देशका कपडा व्यवसायीका समस्या अझै कायमै छन् । मिलका कामदारले राम्रो तलबबाहेक अन्य धेरै सुविधाको माग गरिरहेका छन् । मजदुरकै अभावमा काम ठप्प हुने अवस्था छ । राजनीतिक उथलपुथलका कारण यो वर्ष निर्यात १० देखि २० प्रतिशतले घट्ने सम्भावना छ ।

यो सानो गिरावट होइन, बंगलादेशको निर्यात आम्दानीको ८० प्रतिशत छिटो फेसन निर्यातबाट आउँछ । मूल्यवृद्धिले मुलुकमा कपडा उत्पादन महँगो भएको छ । तर, माग नहुँदा मूल्य बढाएर सामान बेच्न नसकिएको व्यापारीहरू बताउँछन् । निकासीबाट हुने नाफा घटेसँगै देशको विदेशी मुद्रा सञ्चिति पनि घटेको छ । एजेन्सी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *