बी.पी कोइराला र समाजबाद

राजकुमार कार्की ओखलढुङ्गा
Read Time = 16 mins

नेपाली कांग्रेसका संस्थापनक नेता, नेपालको इतिहासमै पहिलो पटक जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला :
जन्म : विसं १९७१ साल भदौ २४ गते भारतको वनासरमा भएको हो ।
निधन : २०३९ साल साउन ६ गते ६८ वर्षको उमेर भएको थियो ।
परिवार
बुबा कृष्णप्रसाद कोइराला र माता दिब्या कोइरालाको साइला सन्तानको रूपमा जन्मनु भएका कोइरालाको सुशीला कोइरालासँग विवाह भएको थियो । उहाँका तीन छोरा एक छोरी हुन् । छोराहरू प्रकाश कोइराला, हर्ष कोइराला र शशांक कोइराला हुन् भने छोरी चेतना कोइराला हुन् ।

शिक्षा :
वि.सं १९८८ सालमा भारतको वनासरबाट उच्चमाध्यमिक शिक्षा पूरा गर्नु भएको थियो । वनारस हिन्दु विश्वविद्यालयबाट राजनीति तथा अर्थशास्त्र विषयमा स्नातक तहसम्मको अध्ययन पूरा गर्नु भएको थियो । पछि कलकत्ता विश्वविद्यालयबाट कानुन विषयमा स्नातकोत्तर पुरा गरेपछि दार्जेलिङमा कानुन व्यावसाय गर्नुभएको थियो ।

राजनीतिक जीवन (राजनीतिक नेतृत्व )
बी.पी कोइरालाको सक्रियतामा २००३ साल कात्तिक १५ गते वनारसमा बस्ने नेपालीहरूलाई संगठीत गरी देवीप्रसाद सापकोटाको सभापतित्वमा अखिल भारतीय नेपाली राष्ट्रिय कांग्रेस नामक संस्थाको स्थापना भएको थियो ।

वि.सं २००३ साल माघ १२ र १३ गते प्रवासी नेपालीहरू र नेपालको कारगार तोडेर आएका गणेशमान सिंहलगायत भारतमा बसोवास गर्ने नेपाली प्रतिनिधिको उपस्थितिमा प्रथम महाधिवेशन सम्पन्न भएको थियो । भारतको कलकत्ता भवानीपुरमा भएको महाधिवेशनले संगठनको नाम परिवर्तन गरी नेपाली राष्ट्रिय कांग्रेस राखेको थियो । उक्त महाधिवेशनले ३३ वर्षीय बी.पी कोइराला कार्यकारी सभापतिमा चयन गरेको थियो ।

बी.पी कोइरालाले स्पष्ट भन्नु भएको थियो गरिबीको वितरण समाजवाद होइन । एक-एक चम्चा दूध वितरण गर्नु समाजवाद होइन । औद्योगिक पुँजीवादको विकासबाट ठूलो पैमाना (जग्गाजमिनको ठूलो मात्रालाई, विस्तारलाई सानो पार्न लिएको अनुपात) मा उत्पादन गरी न्यायोचित वितरण गरेर समाजवाद ल्याउन सकिन्छ ।

सुवर्ण शमशेर राणाको सक्रियतामा वि.सं २००४ साल साउन १ गते नेपाल प्रजातन्त्र कांग्रेसको स्थापना भएको थियो । २००६ साल चैत २७ गते भारतको कलकत्तामा नेपाली राष्ट्रिय कांग्रेसको चौथो महाधिवेशन सम्पन्न गरेको थियो । नेपाली राष्ट्रिय कांग्रेसको चौथो महाधिवेशनमा नेपाल प्रजातन्त्र कांग्रेसका प्रतिनिधिहरूको पनि सहभागिता थियो । दुवै पार्टीका सहभागी प्रतिनिधिहरूको उपस्थिति भएको बेलामा दुवै पार्टीलाई एकीकरण गरी नेपाली कांग्रेस नामको लोकप्रिय संस्थाको स्थापना गरिएको थियो । यो संस्थाले नै नेपालमा राणाहरूको एकतन्त्रीय राणाशासन व्यवस्थाको अन्त्य गरी प्रजातन्त्रको स्थापना गरेको थियो ।

प्रजातन्त्र घोषणा तथा सरकार सञ्चालन
२००७ साल फागुन ७ गते नेपालमा प्रजातन्त्र घोषणा भएपश्चात् श्री ३ महाराज मोहन शमशेर जबरा प्रधानमन्त्री तथा परराष्ट्र बन्नुभएको थियो भने विश्वेश्वरप्रसाद कोइराला गृहमन्त्री बन्नु भएको थियो ।

२०१६ साल जेठ १३ गते नेपालको २२औं तथा नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बन्नुभएको थियो । उहाँको कार्यकाल त्यति लामो हुनसकेन । २०१७ साल पुस १ गतेसम्म उहाँ प्रधानमन्त्री रहनुभयो । २०१७ साल पुस १ गते तत्कालीन राजा महेन्द्रले आफ्नो विशेषाधिकार प्रयोग गरेर तत्कालीन संविधान र बी.पी कोइराला नेतृत्वको सरकार विघटन गरेका थिए । त्यसपछि बी.पी कोइरालालाई बिना मुद्दा कैद गरेको थियो ।

जेलजीवन :
भारतमा चलिरहेको स्वतन्त्रता आन्दोलनमा लागेका कारण बेलायती सरकारले वि.सं १९८६ सालमा तीन महिना कैद गरेको थियो ।
२०१७ साल देखि २०२४ सालसम्म राजा महेन्द्रले बिना कुनै मुद्दा जेल हालिएको थियो । २०२४ सालमा देशनिकाला गरी भारतको वनारसमा जान दिएको थियो ।

२०३२ सालमा उहाँ नेपाल फर्कनु भएको बेलामा सरकारले देशद्रोहको अभियोगमा कैदमा राखेको थियो । २०३४ सालमा उहाँविरुद्ध लगाइएका सबै अभियोगहरू फिर्ता गरेको थियो । २०३६ सालको आन्दोलनमा उहाँलाई आफ्नै निवासमा नजरबन्द गरिएको थियो ।

साहित्यमा योगदान :
राजनीतिक सामाजिक योगदान सँगसँगै साहित्यमा पनि ठूलो योगदान गर्नुभएको छ । उहाँले उपन्यास, कथा जीवन लेख्नु भएको छ ।

उपन्यास :
तीन घुम्ती : यो उपन्यासमा महिलाका तीन रूपमा चित्रण गरिएको छ । महिलालाई प्रेमीका, पत्नी र आमाको रूपमा चित्रण गरेर तयार पारिएको ।

सुम्निमा : यो भिन्न संस्कृतिको समन्वय, समिश्रणको गाथाको रूपमा यस उपन्यासलाई लिइन्छ । यो उपन्यास मा प्रेमले मानिसलाई शारीरिक रूपले टाढा भए पनि मानसिक रूपले नजिक अनुभूत गराउँछ भन्ने यसको सार हो ।

नरेन्द्र दाइ : नरेन्द्र दाइ एक मनोवैज्ञानिक उपन्यास हो । एउटा पुरुषको पत्नी र प्रेमिका दुई छुट्टाछुट्टै सम्बन्धको दुई स्त्रीबीचको कथा हो । दुई भिन्न चरित्रका नारीको जीवन्त कथा नै नरेन्द्र दाइ उपन्यासको मुख्य सार हो ।

मोदीआइन : हजारौं वर्षअघिको महाभारतीय युद्धकथा यस उपन्यासको मुख्य कथा (विषयवस्तु) हो । युद्धको परित्याग र शान्तिको स्थापना यो उपन्यासको मुख्य सन्देश हो । बी.पीको वस्तविक चिन्तन र विश्लेषण यस उपन्यासमा पाउन सकिन्छ ।

हिटलर र यहुदी : जर्मन तानाशाह हिटलरले लाखौं निर्दाेष यहुदीहरूलाई ग्यास च्याम्बरमा थुनेर मारेको घट्नाको आधारमा यो उपन्यास तयार पारिएको छ । हिटलरले गरेको नरसंहार युद्ध भयङ्करता देखाएर शान्ति नै मूल धार हो भन्ने कुरा देखाइएको छ ।

बाबु, आमा र छोरा : आफ्नै छोराकी गर्भवती प्रेमीका बाबुको दोस्रो बिहे भई बाबुकी पत्नीको रूपमा स्थान लिएको यस उपन्यासमा भनिएको छ । यो उपन्यासमा भएजस्तो नेपाली समाजको त कुरै भएन युरोपेली समाजमा पनि पाच्य हुने अवस्था नरहेको विश्लेषण छ ।

कथा :
दोषी चश्मा : यो मनोवैज्ञानिक कथा हो । यसमा उच्च ओहोदामा पुगेको मानिस र सामन्य मानिसबीचको सम्बन्धको बारेमा प्रष्ट पारिएको छ । यस कथालाई दुई तरिकाबाट विश्लेषण गर्न सकिन्छ । उच्च ओहोदामा पुगेको मानिसलाई चाकरी गर्नैपर्छ नत्र सामान्य मानिसले खान नै पाउँदैनन् भन्ने यो कथाको मुख्या सारजस्तो बुझिन्छ । जुन यस कथाका पात्र केशवराजले आफ्नी श्रीमतीसँग गरेको गुनासोले प्रष्ट पार्दछ ।

अर्काे कुरा गाडीमा सवार जरसाहबले केशवलाई नदेखी हिँड्नु, देखेर पनि नबोलाई हिँड्नु, वास्ता नगरिनुले उच्च पदमा पुगेपछि मान्छे मातिन्छन् र अरूलाई मान्छे गन्दैनन् भन्ने कथाको सार रहेको छ ।

जेलजर्नल :
२००७ सालको परिवर्तन भएपछि भएका सुधारका प्रयासहरू :
तत्कालीन समयमा जम्मा विद्युत उत्पादन १.४ मेगावाट, ५१ माइल रेलमार्ग, ५० हजार हेक्टर जमिनमा सिँचाइ सुविधा, ३०० वटा टेलिफोन लाइन, १०० वटा हुलाकी कार्यालय, १ वटा कलेज, ११ वटा माध्यमिक विद्यालय, र २०० प्राथमिक विद्यालय थिए ।

६ सय ४९ शैय्याको अस्पतालमा ५० जनामात्रै डाक्टर थिए । देशको सम्पूर्ण स्वास्थ्य क्षेत्रको प्रतिनिधित्व गरिरहेका थिए । वित्तीय संस्थाको रूपमा नेपाल बैंक लिमिटेडमात्रै थियो । नेपाली रुपैयाँको कम चलनचल्ती थियो भने तराईका जिल्लाहरूमा भारतीय रुपैयाँको बढी प्रयोग हुनेगरेको थियो ।

बिर्ता प्रथाको उन्मूलन गरियो । राजनीतिक, आर्थिक, धार्मिक क्षेत्रका मानिसलाई पुरस्कार स्वरूप राज्यको जमिन बिर्ता दिइने चलन थियो । २५ रोपनीभन्दा बढी यस्तो जग्गा बिक्री गर्न वा धितो बन्धक राख्न नपाइने गरी हदबन्दी कायम गरियो ।

उत्पादकलाई मोहियानी हकको सुनिश्चत्ता गरियो । जमिन्दारले उत्पादनको अधाभन्दा बढी हिस्सा लिन नपाउने र साहुले १० प्रतिशत भन्दा बढी ब्याज लिन नपाउने व्यवस्था कायम गरिएको थियो ।

बी.पीको समाजवाद
बी.पी कोइरालाले स्पष्ट भन्नुभएको थियो गरिबीको वितरण समाजवाद होइन । एक–एक चम्चा दूध वितरण गर्नु समाजवाद होइन । औद्योगिक पुँजीवादको विकासबाट ठूलो पैमाना ( जग्गाजमिनको ठूलो मात्रालाई, विस्तारलाई सानो पार्न लिएको अनुपात)मा उत्पादन गरी न्यायोचित वितरण गरेर समाजवाद ल्याउन सकिन्छ । भूमिसुधार गरेर वास्तविक किसानलाई जग्गा वितरण गर्नुपर्छ । त्यसो गर्दा औद्योगिक विकासका लागि जगेडा श्रमशक्ति प्राप्त गर्न सकिन्छ । उत्पादनको विपुल्ता (विशाल उत्पादन)लाई वितरण गरेर समाजवाद ल्याउन सकिन्छ भन्ने विचार थियो । तर पछिल्लो समय मानवीय श्रममा आधारित मध्यमस्तरको प्रविधिको प्रयोगद्वारा उत्पादन गर्ने नीतिमा जोड दिनुभएको थियो ।

अमेरिका र युरोपको प्रगति एसिया र अफ्रीकी देशहरूको कच्चा पदार्थको उपभोगका कारणमात्र संभव भएको तर्क राख्दै, पूरै सन्सारले त्यति नै उपभोग गर्ने हो भने सन्सारको स्रोतले नपुग्ने तर्क थियो । त्यसैले उहाँले सादा जीवनको आवश्यक्तामा जोड दिएको पाइन्छ ।

बी.पीको समाजवाद र आजको सान्दर्भिक्ता
नेपालको अर्थतन्त्र अझै पनि विदेशमुखी रहेको छ । वैदेशिक रोजगारीमा गएका नेपाली युवायुवतीले पठाएको रेमिट्यान्सले देश चलेको छ । नेपाललाई उत्पादनमुखी अर्थतन्त्र बन्न अझै निकै समय लाग्ने देखिएको छ । नेपालमा धेरै नागरिकहरू भूमिहीन छन् । उहाँहरूले अरू (साहु)को खेतवारीमै काम गरेर आफ्नो र आफ्नो परिवारको जीविका चलाउनुपर्ने अवस्था छ । पहाडी जिल्लाहरूमा भूमिहीनको संख्या कम भए पनि तराईका जिल्लाहरूमा भूमिहीनको संख्या धेरै भएको समचार आउने गरेका छन् । कतिपय नेपालीलाई अझै पनि अरूकै जग्गा कमाएर खानुपर्ने अवस्था रहेको छ । नेपालको अहिलेको यो अवस्थालाई नियाल्दा बी.पी कोइरालाको त्यो बेलाको समाजवाद आज पनि उत्तिकै सान्दर्भिक छ । उहाँको समाजवादको मुख्य थिम भनेको हरेक नेपाली परिवारको जमिन र त्यहाँबाट उत्पादन हुने वस्तुको औद्यागीकरण बजारीकरणबाट आम्दानी गर्नु हो । कुनै जमिन खाली र बाँझो नराख्नु पनि थियो । आज युवाहरू रोजगारीका लागी विदेश पलायन भएका छन् । गाउँमै बसेर कृषि गर्ने युवाहरूले उत्पादन गरेका वस्तुहरूले बजार नपाउने समस्या, बजार पाइहाले पनि उचित मूल्य नपाउने समस्याका कारण निर्वाहमुखी खेतीमै सीमित छन् । (लेखक : नेपाल प्रेस युनिय जिल्ला शाखा ओखलढुंगाका अध्यक्ष हुनुहुन्छ ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *