सत्ता सेवाका लागि कि स्वार्थका लागि ? सेवाका लागि हो भने व्यावहारिक रूपमा नेपाली राजनीति किन अनुत्तरित ? सत्ता सेवामुखी भए सुशासन हुन्छ । स्वार्थले भ्रष्टाचार र कुशासन उपहार दिन्छ । नेपाली राजनीति र राजनेताहरूको आचरण, मनोविज्ञानलाई सूक्ष्म विश्लेषण गर्दा तिनीहरू सबै आफ्नो र परिवारको स्वार्थमा नितान्त केन्द्रीकृत छन् । नातागोताबाट टाढा गएभने गुटसम्म पुग्छन् । अन्तिम गन्तव्य पार्टीसम्म मात्रै हो । देश र जनतासम्म पुग्ने लक्ष्य भएको नेतृत्व हालसम्म नेपाली राजनीतिमा जन्मेकै छैन् । यो तीतो सत्य हो । जनतासम्म जाने सोच भएको नेतृत्वको मुन्टो निमोठिन्छ । देशको राजनीतिको शीर्ष स्थानमा रहेकाहरू परिवार, नातागोता, गुटका र पार्टीका साथै मुनाफाखोर, तस्कर, माफियाहरूको भावना र चाहनाको प्रतिनिधित्व गर्छन् नकि आमजनताको । यिनीहरू राजनीतिमा जनताका समस्या समाधानार्थ आएका होइनन् आफ्नो र आफ्नाका समस्या समाधान गर्न हो । यो कपोलकल्पित अभिव्यक्ति किमार्थ होइन ।
यिनीहरूका कार्यशैली, जीवनशैली र निर्णयहरूले प्रमाणित गरेका विषय हुन् । यिनीहरूले जनतालाई बहाना बनाए । मुराद आफू र आफ्नाहरूको पूरा गरे । यिनीहरूको अन्तिम गन्तव्य आमजनतासम्म नभएर पार्टीका कार्यकर्तासम्म हो । आमजनतासम्म पुग्ने यिनीहरूको लक्ष्य नै छैन् भने राजनीतिले आमजनता कसरी लाभान्वित हुने ? निर्वाचनको बेला जनतालाई ठग्न रेल, पानीजहाज, घरघरमा ग्यास, बाटो, बिजुली आदिको हावादारी विज्ञापन गर्छन् । निर्वाचित भएपछि यिनीहरू आफ्नो र परिवारको आर्थिक उत्थानमा केन्द्रीकृत हुन्छन् । जनताप्रति जवाफदेही हुने मूलभूत कर्तव्यबाट सधैं च्युत छन् । जनताप्रतिको कर्तव्य निर्वाह गर्ने चरित्र नै छैन । सत्ता र शक्तिका लागि यिनीहरू किन मरिहत्ते गर्छन् ? आफ्नो दश पुस्तासम्मलाई आर्थिक बन्दोबस्त कसरी गर्ने चिन्ताबाट यिनीहरू ग्रस्त छन् ।
राजनीति नैतिकता र भरोसाको विषय नभएर निराशा र भ्रष्टाचारको राजमार्ग बन्यो । हिजो पनि भ्रष्टाचार नभएको होइन । तर आज जस्तो भ्रष्टहरू हिजो छाडा र निर्लज्ज थिएनन् । बहुदलीय व्यवस्थाको चमत्कारिक उपलब्धि भनेको भ्रष्टाचारका क्षेत्र र आयतनको चमत्कारिक वृद्धि हो भन्दा अन्यथा हुँदैन । हिजो भ्रष्टाचार गर्नेहरू राजासँग डराउथे ।
अहिले राजनीतिको केन्द्रविन्दुमा रहेकाहरूको जीवन विगतमा अत्यन्तै अभावग्रस्त थियो । तसर्थ आफ्नो भावी सन्ततिले अनन्तकालसम्म अभाव भोग्न नपरोस् भन्ने ध्येयले राजनीतिको शक्तिलाई निर्मम प्रयोग गर्दा नै देशमा कुशासन र भ्रष्टाचार उत्कर्षमा छ । यिनीहरू सुविधाभोगी हुदा राज्यका साधनस्रोतलाई यिनीहरूले चरम दुरुपयोग गरेका छन् । राज्यको कानुन र नियमलाई स्रोतसाधन दुरुपयोगमैत्री बनाएका छन् । नेपालीहरूको दुर्भाग्य नेपालका पार्टीहरूका नेताहरू अपराधी, भ्रष्टाचारी, मुनाफाखोर र तस्करहरूको संरक्षणमा तल्लिन छन् । द्वन्द्वकालमा नयाँ नेपाल बनाउने बहानामा एकथरीले डर र भय सिर्जना गरेर लुटे । अहिले सत्तामा निर्भयका साथ ढुकुटी र शक्तिको दुरुपयोग, सुन तस्करी यिनीहरूको राजनीतिक अभीष्ट बन्यो । राज्य संयन्त्रको शीर्षस्थ पदमा रहनेहरूले राज्यका जग्गाजमिन निजी बनाए । नियमानुसार तिर्नुपर्ने महसुल तिर्न व्यवसायीलाई दबाब दिनुपर्ने उत्तरदायित्वलाई बिर्सेर ठग र लुच्चा व्यवसायीको पक्षमा बहस, पैरवी र निर्णय गर्न दबाब दिए ।
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर राज्यका जिम्मेवार पदाधिकारीहरू मानव तस्करी जस्तो जघन्य अपराधमा चुर्लुम्म डुबे । आफ्नो र आफ्नाको बन्दोबस्त गर्ने यिनीहरूको कार्यनीति र रणनीतिले नेपाली राजनीतिक नेतृत्व इतिहासमै कहालीलाग्दो शैलीमा नांगिएको छ । यिनीहरूले जनतालाई सेवाको, सुशासनको डेलिभरी होइन निराशा, कुशासन डिलिभरी गरे । राजनीति नैतिकता र भरोसाको विषय नभएर निराशा र भ्रष्टाचारको राजमार्ग बन्यो । हिजो पनि भ्रष्टाचार नभएको होइन । तर आज जस्तो भ्रष्टहरू हिजो छाडा र निर्लज्ज थिएनन् । बहुदलीय व्यवस्थाको चमत्कारिक उपलब्धि भनेको भ्रष्टाचारका क्षेत्र र आयतनको चमत्कारिक वृद्धि हो भन्दा अन्यथा हुँदैन । हिजो भ्रष्टाचार गर्नेहरू राजासँग डराउथे । आज भ्रष्टाचारीहरू कसैसँग डराउने अवस्था छैन् । यसको मुख्य कारण राजनीतिका मुखियाहरू देशको र जनताको भविष्यप्रति केन्द्रीकृत नभएर पारिवारको भविष्यको चिन्तामा केन्द्रीकृत हुनु हो ।
परिणामस्वरूप राजनीतिको गन्तव्य नै कुशासन र भ्रष्टाचार बन्यो । जहाँका नेता भ्रष्टाचारी हुन्छन् तिनीहरू विलासी हुन्छन् । पारिवार, नातागोता र सीमित कार्यकर्ताको मोहमा समग्र राजनीति भ्रष्टीकरणतिर उन्मुख हुन्छ । सरकारको प्रधानमन्त्री आलोपालो बारम्बार परिवर्तन हुन्छ । परिवर्तनपछि सुधार हुन्छ भन्ने विश्वास नै आकाश भएको छ । प्रधानमन्त्री परिवर्तन हुनुभनेको एउटा भ्रष्टबाट अर्को भ्रष्टमा सत्ता हस्तान्तरण हुनु हो भन्ने जन बुझाई छ । त्यसैले अहिले सरकारमा व्यक्तिको परिवर्तनले जनतामा आशा, उत्साह होइन झन् निराशा उत्पन्न गर्ने कारण बनेको छ । मुद्राको विशेषता तृप्तिहीनता हो । यो जतिभए पनि पुग्दैन भन्ने कुरा भ्रष्टहरूले प्रमाणित गरेका कारण जिम्मेवार समस्या समाधानतिर भन्दा समस्या उत्पादनमा तल्लिन छन् । व्यक्तिलाई सम्पत्ति किन र कति आवश्यक छ ? यो विषयमा गम्भीरतापूर्वक बहस जरुरी छ । विकसित देशका नागरिकहरूमा धन सञ्चयको मनोविज्ञान नितान्त फरक छ । उनीहरू हप्ताभर कमाएको धनलाई बिदाको दिनमा निस्फिक्री खर्च गर्छन् । यो जीवनशैलीलाई विकसित देशका नागरिकहरूले आफ्नो संस्कृति बनाए । सन्ततिलाई धन सञ्चय उनीहरूको प्राथमिकतामा पर्दैन । त्यहाँ सन्ततिको शिक्षा, स्वास्थ्यको जिम्मा सरकारले लिन्छ ।
पैसाको अभावमा कुनै नागरिक उपचारबाट वञ्चित हुँदैन । अस्पताल जाँदा खल्तीमा पैसा हुन जरुरी छैन । सरकारले वृद्ध, अपांगहरू सबैको पूर्णतःजिम्मा लिन्छ तसर्थ विकसित देशका नागरिहरूमा सम्पत्ति सञ्चय प्रमुख प्राथमिकतामा छैन् । नेपालमा परिवारको सदस्य बिरामी भयो भने उसको रोग कसरी सञ्चो गर्ने चिन्ताभन्दा पनि उपचारको खर्च कसरी जुटाउने चिन्ता हुन्छ । शिक्षा र स्वास्थ्य निजीकरण भएपछि जीवन खर्चिलो बन्यो । भ्रष्टाचार प्रवद्र्धनमा शिक्षा र स्वास्थ्यमा भएको निजीकरण विशेष जिम्मेवार छ । राज्यले शिक्षा, स्वास्थ्य र अशक्त तथा वृद्धहरूको सुरक्षा व्यवस्थाको ग्यारेन्टी नगर्दासम्म देशमा भ्रष्टाचार नियन्त्रणको विषय प्रोपोगण्डामा सीमित हुन्छ नकि व्यवहारमा । भ्रष्टाचार नियन्त्रणको विषय प्रोपोगन्डा होइन हामीलाई भ्रष्टाचारको व्यावहारिक समाधान चाहिएको छ । व्यक्तिलाई धनको आवश्यकता कति भन्ने आंकलन र लेखाजोखा नहुँदा नेपाली राजनीति भ्रष्टाचारमा रुमलिएको छ ।
राजनीतिका जिम्मेवारहरूमा सन्ततिलाई माछा दिने कि बल्छी दिने भन्ने छनौट त्रुटिपूर्ण हुँदा भ्रष्टाचार अहिले असाध्य रोग बन्यो । नेपालीहरूले भोग्दै आएको अनुभवको आधारमा नेपालमा राजनीति गर्नेहरू जो सत्तामा, संसद्मा लामो समयसम्म प्रतिनिधित्व गरे तिनीहरूको जीवनशैली, कार्यशैली, दृष्टिकोण, परिवार, नातागोता, गुटका र पार्टीका कार्यकर्ताप्रतिको मोहसँग भ्रष्टाचारको निकटतम सम्बन्ध छ । निर्वाचन जसरी पनि आफैंले जित्नुपर्छ किनकि फेरि थप भ्रष्टाचार गर्नुपर्छ भन्ने सोच, घमण्ड, षड्यन्त्र, तिगडमलाई आफ्नो सफलता मान्ने आमराजनीति कर्मीहरूको दृष्टिकोण, विचार, भावना, कामना आदिमा आमूल परिवर्तनविना यथास्थितिमा विकास, समृद्धि र सकारात्मक परिवर्तनको सुरुवात र भ्रष्टाचारको अन्त्य किमार्थ हुँदैन । कर्मचारी तन्त्रको सोच, कार्यशैली, जीवनशैली, आदर्श, मनोविज्ञानमा आमूल परिवर्तनविना भ्रष्टाचार नियन्त्रण असम्भव छ । हामी अहिले विकासको काममा होइन खाली भाषणे विकासमा केन्द्रीकृत छौं । विकासलाई वर्तमान राजनीतिले कार्यान्वयनको विषयभन्दा भाषणको विषय बनायो । भाषणमात्रै गर्ने काम कत्ति नगर्नेहरूले आफ्नो कार्यकालमा विकास चमत्कारिक भएको विषय निर्लज्ज भन्ने आँट वास्तवमा नेपालीको दुर्भाग्य बन्यो । समानता, न्याय, रेलका कुरा, घरघरमा खाना पकाउने ग्यास आपूर्तिको हवादारी गफ र पानीजाहाजका बकम्फुसे अभिव्यक्तिले राजनीतिक नेतृत्व अविश्वसनीय बन्यो । भ्रष्टाचार, कुशासनले यिनीहरूप्रति आफ्नै कार्यकर्ताहरूको आस्था र विश्वास गुमेको अवस्था छ । यिनीहरूले परिवर्तनका लागि हिजो गरेको लगानीलाई नगदमा असुली गर्ने सामुहिक अभियानको सिकार देश र जनता लामो समयसम्म भएकाले देशको अर्थतन्त्रको ढन्नेसो भाँचिएको छ । राष्ट्र संकटापन्न अवस्थामा छ ।
त्यसको परिणाम र प्रमाण हो खाद्यान्न संकट, बेरोजगारी, अभाव, गरिबी, युवाहरू विदेश पलायन, उर्लँदो व्यापार घाटाको परिस्थिति र अवस्था । अहिले भनिएको विकासका तथाकथित अभियन्ता वा राजनीतिक नेतृत्वको लक्ष्य, उद्देश्य र चरित्र विकासका लागि होइन विनाशका लागि अनुकूल छ । हामी विकासका नाममा विनाश तिर अग्रसर छौं । यो तीतो सत्यलाई आत्मसात गर्न लामो समयसम्म देशको राजनीति र विकासको एकलौटी नेतृत्व गर्नेहरू तैयार छैनन्/हुँदैनन् । अझै भन्नु पर्दा पार्टीको नकाव लगाएका, विवेकलाई आंशिक होइन पूरै जिम्मा दिएका कार्यकर्तालाई यो विषय पस्कने हो भने तिनीहरू पनि यसलाई विदेशी घुसपैठ, राजतन्त्रको धङधङी, परिवर्तनविरोधी तत्व जस्ता शब्दहरूको प्रयोग गरेर सत्य र तथ्यलाई सोझै नकार्छन । पाडो पाए पनि पाडी पाए पनि भतुवालाई बिगौतीको मतलब भएजस्तै जनतालाई जुन दल, जुन शक्तिले शासन गरे पनि समृद्धि, विकास, रोजगारी साथै आत्मउन्नतिका अवसरका अतिरिक्त सामाजिक सुरक्षा र सद्भाव चाहिएको छ । त्यो अमूक पार्टीको नेतृत्वले दिन्छ भन्ने विश्वासमा हामीले देशका ठूला पार्टी हौं भन्नेहरूलाई पटकपटक शासनको अधिकार दियौं । जनमतलाई सबै पार्टीहरूले दोबाटोको बुर्की बनाए । परिणामस्वरूप तिनै भ्रष्ट र विश्वासघातीहरूलाई बारम्बार विश्वास गर्दा परिस्थिति दिनानुदिन जटिलता तिर निर्देशित छ । तर वास्तविकतालाई अन्यथा व्याख्या गर्नेहरूसँग सत्ता र शक्ति केन्द्रीकृत हुँदा पालैपालो भ्रष्टाचार र कुशासनलाई संस्थागत गरेका छन् ।
नेपालमा शिक्षितहरूको संख्या जति बढेको छ लाग्छ चेतनाको स्तर त्यति नै घटेको छ । यदि जनताको चेतनाले काम गरेको भए खुल्लमखुला देशलाई बर्बाद गर्नेहरू नै किन निर्वाचनमा बारम्बार विजयी घोषित हुन्छन् ? हिजो देशमा पञ्चाय नै विकासको बाधक हो भन्ने विषय जसले पढायो आज तिनीहरू नै जनता, देशको प्रगति र उन्नतिको बाधक बनेका छन् ।
दुर्भाग्य नेपालमा शिक्षितहरूको संख्या जति बढेको छ लाग्छ चेतनाको स्तर त्यति नै घटेको छ । यदि जनताको चेतनाले काम गरेको भए खुल्लमखुला देशलाई बर्बाद गर्नेहरू नै किन निर्वाचनमा बारम्बार विजयी घोषित हुन्छन् ? हिजो देशमा पञ्चाय नै विकासको बाधक हो भन्ने विषय जसले पढायो आज तिनीहरू नै जनता, देशको प्रगति र उन्नतिको बाधक बनेका छन् । जनताले पञ्चायत फाले । बहुदलको स्थापनापछि आफ्नो अवस्थामा आमूल परिवर्तन हुन्छ भन्ने विश्वासलाई सरकारको जिम्मेवारी लिने कुनै पनि व्यक्तिले देश र जनताप्रति इमानदारी, नैतिकता र इन्टिग्रिट्रि प्रदर्शन गर्न सकेन । त्यसैले ती विषयहरूको अभावमा जे जे अनियमितता हुनुपर्ने हो ती सबै भए । जे-जे जनताको र देशको पक्षमा गर्नुपर्ने थियो त्यो पटक्कै भएन । भएन भन्नेहरू सबै पार्टी पार्टीमा विभाजित भए । पार्टीका कार्यकर्ताले आफ्नो नेताका कमजोरी हेर्ने आँखा र विवेकलाई बन्दगी राखेका कारण आफ्नो पार्टीको नेताको कमजोरी नदेख्ने रोगबाट सबै पार्टीका कार्यकर्ताहरू ग्रसित भए ।
यसले विरोधको सांगठनिक शक्ति विभाजित भयो । संगठित विरोधले हिजो व्यवस्थाहरू पल्टिए । अहिले विरोधलाई संगठित हुन नदिने शक्ति भनेको तिनै व्यक्तिहरू भए, पार्टीहरू भए जसले विरोधलाई हिजो सांगठनिक नेतृत्व प्रदान गरेका थिए । पार्टीका कार्यकर्तामा विवेक, निष्पक्षता र तटस्थता शून्यताले यिनीहरूद्वरा भइरहेको चरम अन्यायको विरोधमा उत्रने शक्तिको खडेरी नै नेपाल र नेपालीको दुर्भाग्य बन्यो । परिणामस्वरूप पार्टीका नेताहरूले पालैपालो जनतालाई अन्याय गर्ने प्रतिस्पर्धात्मक अवस्थाको सुरुवातसँगै देश र जनताको अवस्था ओह्रालो लाग्यो।यसमा सबै दोषी छन् । दुर्भाग्य आफू निर्दोष छु भन्ने झुठो दलिल नै सबैले जनता ठग्ने अस्र बनाएका छन् । राष्ट्रिय ठग, मुनाफाखोर व्यवसायी, उद्यगपति, दलाल, सुदखोर, बिजुली, पानी, टेलिफोन, पेट्रोलियम पदार्थ चोरहरूसँगको साँठगाँठबाट प्राप्त धनले एउटै व्यक्ति बारम्बार निर्वाचनमा टिकट पाउने, निर्वाचन जित्ने जुन कालो धन्दाको आविष्कार भयो यसले राजनीतिलाई नै दुर्गन्धित र कलुषित बनायो ।
निर्वाचनमा टिकट नै कित भ्रष्टले पाउँछ कित तस्कर र मुनाफाखोर व्यापारीले पाउँछ । देश सपार्न बनेको संविधानले सबै पार्टीका टाउके र तिनका पिछलग्गुमात्रै सप्रिए । समग्रमा देश बिग्रियो । अनियमिततालाई नियमित गर्ने काम प्रधानमन्त्री र मन्त्रीहरूले गर्ने परिस्थितिले भ्रष्टाचार र कुशासनको उपहार देश र जनतालाई दिन सबै पार्टीको नेतृत्वलाई भ्याइनभ्याई छ । अपवादका रूपमा क्षणिक सत्ता भोग गर्ने विश्वेश्वरप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई र मनमोहन अधिकारी जस्ता व्यक्तिहरूले विकास र सुशासनको झिनो कोसिस गरे । हिजो उनीहरूलाई असफल बनाउने शक्ति अहिले उनीहरूकै नाम जप्दै देशलाई सर्वनाश गर्न कृतसंकल्पित छ ।
भाषणमा देश र जनतालाई आदर्श मान्ने अभिव्यक्ति दिनेहरू व्यवहारमा भने भ्रष्टाचार, कुशासनलाई आदर्श र गन्तव्य बनाउँदा नै अहिले परिस्थिति जटिल बन्यो । देश र जनताको भावना, चाहनाको नेतृत्व गर्ने व्यक्ति र विचारको पर्खाइमा नेपाली जनता अझै कति तड्पिन पर्ने हो यसको भविष्यवाणी गर्न सजिलो छैन । तसर्थ यसको छिनोफानोको जिम्मा समयलाई नै दिनुको विकल्प छैन । राजनीतिमा स्वार्थको रजगज हुँदासम्म राजनीति सुन्दैन । राजनीति नसुन्दासम्म भ्रष्टाचार, कुशासनका बादसाहको दिन पनि सक्किँदैनन् । भ्रष्टाचार, कुशासनका बादसाहहरूको रजगजका दिनहरू नसकिदासम्म सुशासन, विकास र समृद्धि अहिले जस्तै फगत प्रोपोगण्डाका विषय बन्छन् नकि व्यवहारमा अनुवादका विषय ।