पाल्पा । पछिल्लो समय पाल्पामा आत्महत्याको स्थिति डरलाग्दो देखिएको छ । निराशा र चिन्ताका कारण जीवनको अस्तित्व नदेख्दा आत्महत्या गर्नेहरूको ग्राफ डरलागदो देखिएको हो ।
पछिल्लो तीन आर्थिक वर्षमा मात्र जिल्लामा दुई सय ४९ जनाले आत्महत्या गरेको प्रहरीको तथ्याड्ढ छ । जिल्ला प्रहरी कार्यालय पाल्पाको तथ्याड्ढ अनुसार जिल्लाभर आव २०७८/०७९ मा ७५ जनाले आत्महत्या गरेका थिए । यस्तै आव २०७९/०८० मा ८६ जना र आव २०८०/०८१ मा ८८ जनाले आत्महत्या गरेको तथ्यांकमा उल्लेख छ । सबैभन्दा बढी झुण्डिएर र विष सेवन गरेर आत्महत्या गर्नेहरू छन् । पछिल्लो तीन वर्षमा २ सय १४ जनाले झुण्डिएर आत्महत्या गरेका छन् । यस्तै सो अवधिमा २९ जनाले विष सेवन गरेर आत्महत्या गरेका छन् । त्यसपछि नदीमा हाम फालेर आत्महत्या गर्ने छन् । जहाँ तीन वर्षमा चार जनाले नदीमा हाम फालेर आत्महत्या गरे । त्यसपछि शरीरमा आगो लगाएर आत्महत्या गर्ने छन् । १ जनाले आफ्नो शरीरमा आगो लगाएर जीवन त्यागेका छन् । प्रहरीको तथ्यांक अनुसार हरेक वर्ष आत्महत्य गर्नेको संख्या बढ्दै गएको देखिन्छ । तुलनात्मक रुपमा आत्महत्या गर्नेको संख्या बढ्दो रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डिएसपी) सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो ।
गत आवमा ४० वर्षभन्दा माथिका ४८ जनाले आत्महत्या गरेको प्रहरीको तथ्याड्ढमा उल्लेख छ । जबकी अघिल्लो आवमा यो उमेर समूहका ४० जनाले मात्र आत्महत्या गरेका थिए । ४० वर्षभन्दामाथि आत्महत्या गर्ने मानिस दीर्घरोगी, पारिवारिक समस्यामा रहेका, डिप्रेसनका औषधी सेवन गरेको प्रहरीले जनाएको छ । यस्तै पछिल्लो समय आत्महत्या गर्ने किशोर–किशोरी पनि बढेका छन् । गत आव २०८०÷०८१ मा सात जना बालबालिकासहित किशोर–किशोरीले आत्महत्या गरेको प्रहरीले जनाएको छ । यो संख्या अघिल्लो आवको तुलनामा चार जनाले बढी हो । जिल्लामा आत्महत्याका घटना बढ्दै जान थालेपछि प्रहरीले अभियान चलाएको छ ।
पाल्पामा तीन आर्थिक वर्षमा भएका आत्महत्याको अवस्था
आत्महत्या न्यूनीकरण गर्न समुदाय र विद्यालयस्तरमा पुगेर सचेतनाका कार्यक्रमहरु गर्नेदेखि आत्महत्याको प्रयास गर्नेहरुको कारण खोजी गरी उनीहरुलाई उचित परामर्श दिदै आइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी श्रेष्ठले बताउनुभयो । सफलता र असफलता बीचको दूरीले मानिसलाई आत्महत्याको बाटो रोजाउने प्रहरी अधिकृतहरू बताउँछन् । महत्वाकांक्षा र अपेक्षाअनुसार व्यावसायिक, व्यक्तिगत जीवनमा आत्मसन्तुष्टि नमिलेपछि व्यक्ति डिप्रेसनमा जाने र त्यसको चरम रूप आत्महत्या हुने प्रहरीहरूको भनाइ छ । आत्महत्याको कहालीलाग्दो स्थितिलाई लिएर अध्ययन गरी समाधानको बाटो खोज्नुपर्ने सरोकारवालाहरु बताउँछन् ।
आत्महत्याका पछाडी आर्थिक र समाजिक कारणहरू जोडिएका हुन्छन् । आर्थिक कारणमा बेरोजगारी, वैदेशिक रोजगार र महिलाहरू आत्मनिर्भर नहुनु कारणहरू हुन् । यस्तै सामाजिक कारणमा परपुरुष वा स्त्रीसँगको अवैध सम्बन्ध, बोक्सी, दाइजोजस्ता सामाजिक विकृतिले समेत मानिसलाई आत्महत्याको बाटो देखाउने गर्दछ । मानसिक तनाव अर्को कारण हो ।
त्यसमा कार्य असफलता, प्रेममा सफल हुन नसक्नु, घरेलु हिंसा, पारिवारिक कलह, न्याय प्रणालीमा पहुँचको कमी र कतैकतै दीर्घरोग लागेका व्यक्तिले समेत अब ठीक हुन सकिन्न भन्ने थाहा पाएपछि धेरैले आत्महत्या गर्ने गरेका छन् । समाजबाट एक्लिन थालेको महसुस गरेपछि मानिस आत्महत्या गर्ने स्थितिमा पुग्छ । मेरा वरिपरि कोही छैनन्, म एक्लै भएँ भन्ने महसुस गरेपछि उसले बाँच्नुको अर्थ नदेखेर आत्महत्या गर्ने अवस्थामा पुग्ने गरेको मनोविद्हरु बताउँछन् । मानिस विभिन्न समस्यामा पर्दा समयमै उचित परामर्शको अभावमा समेत आत्महत्या बढेको छ ।