काठमाडौं । चलचित्र ‘सानो संसार’को ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्रको मंगलबार सार्वजनिक गरिएको ट्रेलरमा एउटा मध्यम वर्गीय परिवारले जीवन चलाउन गर्ने संघर्षको कथा प्रस्तुत गरिएको छ ।
चलचित्रको करिब तीन मिनेट लामो ट्रेलरमा विसं २०६८ सालको परिवेशबाट प्रारम्भ भएको देखाइएको छ, जहाँ एउटा परिवारले आफ्नी छोरीलाई अध्ययनका लागि अमेरिका जानका लागि बिदा गरिरहेको देखाइएको छ । त्यसपछि दृश्यमा भने उक्त परिवारमा आउने विभिन्न समस्याहरूलाई चित्रण गरिएको छ ।
चलचित्रको ट्रेलरअनुसार एउटा मध्यम तथा निम्नवर्गीय नेपाली परिवारको दुःख र पीडालाई चित्रण गरेको अनुभव गर्न सकिन्छ ।
सिद्धार्थ पुडासैनीको निर्देशन रहेको चलचित्रमा हास्य कलाकार केदार घिमिरे ‘माग्नेबुढा’की श्रीमती सीतादेवी तिमल्सेनाको मुख्य भूमिका रहेको छ । चलचित्रमा उहाँसहित राज पंगेनी शर्मा, अनु दाहाल, अञ्जसा रिजाल शिशिर शिवाकोटी, सरिता भण्डारी र जीवन गौतमको अभिनय छ । यी सबै कलाकारले यही चलचित्रमार्फत नेपाली रजतपटमा डेब्यु गर्दै छन् । राजधानी मिडिया एड प्रोडक्सन र प्रिन्सेस मुभिजको ब्यानरमा यो चलचित्र निर्माण भएको हो । अर्जुनकुमार निर्माता रहेको चलचित्रका कार्यकारी निर्माता माधव वाग्ले हुनुहुन्छ । राजधानी मिडिया र प्रिन्सेस मुभिजले चलचित्रलाई संयुक्त रूपमा प्रदर्शन गर्नेछन् ।
पुडासैनीले यही चलचित्रबाट लेखन तथा निर्देशनमा डेब्यु गर्दै छन् । उहाँलाई चलचित्रको कथा लेखनमा सरिष्मा खत्रीले सघाउनुभएको छ । प्रवीन खड्काको छायांकन र रोमी तण्डुकारको सम्पादन रहेको चलचित्रको डिजिटल पाटर्नर म्युजिक नेपाल र क्रिएटिभ पाटर्नर टुनामुना कन्सेप्ट रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच