काठमाडौं । चलचित्र ‘डिएनए’को फस्ट लुक सार्वजनिक गरिएको छ । हालै घोषणा गरिएको नेपाली पौराणिक एक्सन थ्रिलर शैलीको चलचित्र ‘डिएनए’को फस्ट लुक पोस्टर सार्वजनिक गरिएको हो । पोस्टरमा यही चलचित्रबाट ठूलो पर्दामा डेब्यु गर्न लाग्नुभएका अभिनेता सुधन पोखरेलले प्रकाश फ्याँकिरहेको बाकसमा केही हेरिरहेका छन्, जहाँ पौराणिक वस्तुलाई सांकेतिक रूपमा प्रस्तुत गरिएको छ । पोस्टर डिजाइन रोयल भीमसेनले गर्नुभएको हो ।
यस चलचित्रको छायांकन भने आउँदो फाल्गुनमा सुरु गर्ने निर्माण पक्षले जनाएको छ । छायांकनमा जानुअघि यस चलचित्रमा प्रमुख भूमिका निभाउन लाग्नुभएका अभिनेता पोखरेललाई सबै पक्षबाट तयार पारिने निर्देशक चानस पुन मगरले बताउनुभयो । अन्य कलाकारहरूको जानकारी केही समयपछि दिइने चलचित्रका निर्माता कुमार भास्करले जानकारी गराउनुभयो ।
चलचित्र निर्माण कम्पनी फोनिक फ्लिकको ब्यानरमा बन्ने यो चलचित्रको छिट्टै टिजर सार्वजनिकको पनि तयारी गरिएको छ । यो चलचित्र पौराणिक कथाको ‘मोर्डन एडप्टेसन’मा आधारित थ्रिलर हुने, जसमा एक्सनका रोमाञ्चक दृश्यहरू प्रस्तुत गरिने निर्देशक चानसको भनाइ छ ।
चलचित्र ‘डिएनए’लाई निर्देशक पुनमगर र मणिरत्न त्रिपाठीले संयुक्त रूपमा लेखन र निर्देशन गर्दै हुनुहुन्छ । चलचित्र निर्माण फोनिक फ्लिकले गर्नेछ भने बड पिक्चर्स र अण्डर एक्सपोज सिनेमासँगको सहकार्य रहनेछ । पौराणिक कथा र एक्सन थ्रिलरको संयोजनले दर्शकहरूलाई फरक अनुभूति दिलाउने अपेक्षा गरेको अर्का निर्देशक मणिरत्न त्रिपाठीले बताउनुभयो ।
चलचित्रमा राजु तामाङको एक्सन निर्देशन रहनेछ । सुशान्त केसी र प्रशान्त योगीले छायांकन गर्नेछन् भने सहायक छायांककार यज्ञलाल ज्ञवाली हुनुहुन्छ । मानस्वी मालाकारको संगीत, चिरायु पौडेलको मुख्य सहायक निर्देशन, गणेश क्षेत्रीको सम्पादन, वर्षा क्षेत्रीको कस्ट्युम डिजाइन, सुदीप पाण्डेको रंग संयोजन, सुदिल धितालको साउण्ड डिजाइन तथा ट्राइडेण्ट कन्सेप्टको पब्लिसिटी डिजाइन चलचित्रमा रहनेछ । चलचित्रका निर्माता कुमार भास्कर हुनुहुन्छ भने एसोसियट निर्माता आशिष पुडासैनी र कार्यकारी निर्माता विकाश भण्डारी रहनुभएको छ ।