काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री, केन्द्रीय सदस्य एवं सांसद डा.शशांक कोइरालाले आफू विगतमा सातपटक निर्वाचन लडेको र सातैपटक जितेको हुनाले अब नहार्ने गरी पार्टीको केन्द्रीय सभापतिमा लड्ने घोषणा गर्नुभएको छ । डा.कोइरालाले बीपी कोइरालाको १११औं जन्म जयन्तीका अवसरमा नेपाली कांग्रेस बागमती प्रदेश समितिले स्थानीय नवदुर्गा पार्टी प्यालेस सुकेधारामा आयोजना गरेको कार्यक्रममा बोल्दै यस्तो घोषणा गर्नुभएको हो । ‘बीपी विचारमात्रै नभएर संस्कार पनि हो,’ उहाँले भन्नुभयो ।
सो अवसरमा उहाँले बीपीसँगका अनेक संस्मरणहरू सुनाउनुहुँदै उहाँ बालमनोविज्ञानको असाध्य ख्याल गर्ने, बुझेरमात्रै प्रतिक्रिया दिने र आफू त्यसबाट सदा प्रेरित रहेको विचार प्रकट गर्नुभएको थियो । डा.कोइरालाको कथन थियो, ‘नेपाली कांग्रेस र नेपालको राजनीतिलाई सही दिशा दिन पनि आफू सभापतिमा उठ्न चाहेको हूँ ।’ डा.कोइराला ०६४ बाट प्रत्यक्ष राजनीतिमा सक्रिय भएर संविधानको निर्वाचनमा नवलपरासी एक गैंडाकोट क्षेत्रबाट विजयी हुनुभएपछि निरन्तर अहिले चौथोपटक निर्वाचित सांसद हुनुहुन्छ । उहाँ एकपटक पार्टीको महामन्त्री र दुई पटक केन्द्रीय सदस्य निर्वाचित भइसक्नु भएको छ ।
‘बीपी व्यक्ति एक : विचार अनेक विचार प्रवाह’ कार्यक्रममा वाग्मती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले आजका दिनमा हरेक तहका सरकारमा बस्ने साथीहरूले आ-आफ्ना ठाउँबाट आमनागरिकसँग जोडिनुपर्ने र बीपीका विचारका आधारमा समाजवादी अभ्यास गर्नुपर्ने विचार प्रकट गर्नुभएको थियो । सभापतिको आशनबाट पूर्वमुख्यमन्त्री तथा बागमती प्रदेश नेपाली कांग्रेसका सभापति इन्द्रबहादुर बानियाँले बीपी विचारको महत्वलाई आमनागरिकमा पुर्याउने, पार्टी पंक्तिबाट त्यसलाई व्यवहारतः अभ्यासमा लानुपर्ने भएको हुनाले जन्म जयन्तीको अवसर पारेर बहस थालिएको बताउनुभयो ।
कार्यक्रममा धादिङ नेपाली कांग्रेसका नेता तथा प्रदेश सभा सदस्य शिवराज अधिकारी, नुवाकोटाका युवा नेता प्रदेश सभाका पूर्वसदस्य जगदीश्वर नरसिंह केसी, नेपाली कांग्रेस काठमाडौंका सभापति सबुज बानियाँ, प्रदेश महामन्त्री तथा प्रदेशसभा सदस्य कञ्चनवादे श्रेष्ठले समेत बीपी विचारको कार्यान्वयन आवश्यक रहेको विचार प्रकट गर्नुभएको थियो ।
सो अवसरमा पूर्वउपसभामुख तथा कांग्रेस केन्द्रीय सदस्य पुष्पा भुसालले बीपीको विचारबाट अनुप्राणित भएको र आफ्ना पिताजी काशीनाथ गौतमसमेत बीपीको मन्त्रिमण्डलमा सदस्य रहेको हुनाले राजनीतिक संस्कृतिको पक्ष बुझ्ने अवसर मिलेको बताउनुभयो ।
कार्यक्रममा विशेष वक्ताका रूपमा हिमालय टाइम्सका सम्पादक प्रा.पुरुषोत्तम दाहालले बीपी कोइरालाका अनेक सबल पक्षहरूको चर्चा गर्दै केही प्रश्न उत्तरणीय भएको प्रसंग उठाउनुभएको थियो । दाहालको प्रश्न थियो, ‘००७ को क्रान्तिका योजनाकार, परिवर्तनका मूल नायक बीपी कोइरालाले पहिलो आठ महिना शासनमा, त्यसपछि सात वर्ष बाहिरै रहनुपर्ने, अठार महिना नपुग्दै शासनबाट विस्थापित भएर आठ वर्ष जेल, आठ वर्ष निर्वासन र बाँकी पाँच वर्ष भने रोग शैय्यामा बिताउनुमात्रै परेन नेपालमा सार्वाधिक तिरष्कृत, अपमानित किन हुनुपर्यो त्यसको समीक्षा गर्ने कि नगर्ने ? ०४६ मा संयुक्त जनआन्दोलनको नेतृत्व गरी निर्दलीय सत्ताको अन्त्य गर्ने गणेशमान सिंहले किन रुँदै पार्टी छाड्ने अवस्था आयो ? ०४७ मा संविधान जारी गर्ने र राष्ट्रलाई सही दिशा दिने कृष्णप्रसाद भट्टराईले अपमान अनुभव गर्दैै किन पार्टी छाड्नु पर्यो ? दुईपटक किन हराउने काम भयो ? किन एक वर्ष नपुग्दै सरकारबाट विस्थापित गरियो ? ०६३ को जनआन्दोलनका नायक, जसले माओवादीलाई शान्ति प्रक्रियामा ल्यायो, जसले पहिलो संविधानसभाको निर्वाचन गरायो, जसले अन्तरिम संविधान जारी गरी देशलाई गणतन्त्रमा लग्यो गिरिजाप्रसाद कोइरालाले अन्तिममा राष्ट्रपति पदको तृष्णामा अपमानित भएर नै देहत्याग गर्ने अवस्था किन आयो ? ०७२ मा अनेक दबाब र प्रतिकूलता विपरीत संविधान जारी गर्ने सुशील कोइरालालाई पहिले एमालेसँगको सहकार्य तोड्न, पुनः एमालेविरुद्ध उमेम्दवारी दिन लगाउन, अनि पराजित गर्दै राष्ट्रपति पदको ढोका समेत बन्द गराउने काम किन भयो ? र त्यो भन्दा पनि उहाँको निधन शंकास्पद परिस्थितिमा भएको देखिए पनि किन अनुसन्धान भएन ?’, दाहालले भन्नुभयो, ‘कांग्रेसले यी यस्ता अनेक प्रश्नको उत्तर खोज्नै पर्ने भएको छ ।’
उहाँले पत्रकारिताका सन्दर्भमा समाचारका लागि बीपीसँग यात्रा गर्दाका केही रोचक अनुभवहरूसमेत सुनाउनुभएको थियो र त्यस्तो व्यवहार आजको नेतृत्वमा नभएको टिप्पणी गर्नुभएको थियो ।
कार्यक्रममा मदन पुरस्कार विजेता चर्चित साहित्यकार डा.नवराज लम्सालको सशक्त कविताले उपस्थितहरू मन्त्रमुग्ध भएका थिए भने केन्द्रीय सदस्य तथा प्रदेश सदस्य जीवन डंगोल र प्रदेश सहसचिव हरिशरण श्रेष्ठलेसमेत आफ्नो विचार प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको संयोजन लेखक एवं नेपाली कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका पूर्वसदस्य राजु नेपालले गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच