काठमाडौं । निर्मलादेवी कुर्मीलाई अपहरण गरी बेपत्ता पारेको आरोप लागेका लुम्बिनी प्रदेशका मन्त्री बादशाह कुर्मीले राजीनामा दिनुभएको छ । मुख्यमन्त्री चेतनारायण आचार्य नेतृत्वको सरकारमा उहाँले वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाउनुभएको थियो । उहाँ गत साउन ९ गते मन्त्री बन्नुभएको थियो । बादशाह नेपाली कांग्रेसबाट निर्वाचित प्रदेश सांसद हुनुहुन्छ । चौतर्फी विरोध भएपछि उहाँले मंगलबार पदबाट राजीनामा दिनुभएको हो ।
जानकी गाउँपालिका परस्पुरकी कुर्मीलाई बादशाहकै निर्देशनमा अपहरण र बेपत्ता पारिएको भनी आफन्त र अधिकारकर्मी आन्दोलित छन् । सरकारी प्रतिवेदनबाट पनि बादशाह दोषी देखिएको दाबी उनीहरूले गरेका छन् । महिला सुरक्षा दबाब समूहले पनि निर्मला कुर्मीको न्यायका लागि निरन्तर खबरदारी गर्दै आएको छ । ‘उहाँविरुद्ध ठगी र कर्तव्य ज्यान मुद्दा छ । अहिले अनुसन्धानकै क्रममा छ,’ जिल्ला प्रहरी कार्यालय बाँकेका एक प्रहरी अधिकारीले भने । बादशाहकै संलग्नतामा २०७५ सालमा निर्मलालाई अपहरण गरी बेपत्ता पारिएको पारिवारिक स्रोतको दाबी छ । प्रहरी अनुसन्धानबाट पनि बादशाहको संलग्नता खुल्ने प्रमाणहरू फेला परेको बताइएको छ ।
एकल महिला रहनुभएकी निर्मलाको सम्पत्ति हत्याउन बादशाहको संलग्नतामा उहाँलाई अपहरण गरी बेपत्ता पारिएको बताइएको छ । ठगी र कर्तव्य ज्यान मुद्दाका अभियुक्त कुर्मीले राजनीतिक आडमा संरक्षण पाइरहनु भएको उनीहरूको आरोप छ । उहाँ बाँके क्षेत्र नम्बर ३ ‘ख’ बाट कांग्रेसका तर्फबाट निर्वाचित सांसद हुनुहुन्छ ।
उहाँलाई मन्त्री पदबाट हटाउन कांग्रेसलाई दबाबसमेत बढेको थियो । आफूमाथि यो मुद्दाको आरोप लागेपछि कुर्मीले नैतिकताका आधारमा पदबाट राजीनामा दिएको उहाँको सचिवालयले जनाएको छ । आफूमाथि लागेको आरोपमाथि निष्पक्ष छानविनमा सहज बनाउन भन्दै कुर्मीले राजीनामा दिएको सचिवालयले बताएको छ ।
कुर्मीलाई न्याय माग्दै पीडित र अधिकारकर्मीहरू करिब एक महिनादेखि काठमाडौं केन्द्रित भएर धर्ना दिइरहेका थिए । निर्मलाको अपहरणपछि हत्यामा संलग्न भनिएका अभियुक्त बादशाह कुर्मीलाई कानुनी सजाय दिनुको साटो लुम्बिनी प्रदेशमा वनमन्त्री बनाइएपछि पीडितहरूले पुनः आन्दोलन सुरु गरेका हुन् ।
२५ माघ ०७५ को राति अचानक निर्मला बेपत्ता हुनुभएको थियो । उहाँको अपहरणपछि हत्या भएको भनिए पनि अहिलेसम्म शव फेला पर्न सकेको छैन । उक्त प्रकरणमा नेपालगञ्ज-१७ कै बादशाह कुर्मी, कृष्णकुरारी सिंह, कुँवर बब्बर सिंह ठाकुर, उर्मिला कनोजिया, अम्मरलाल कुर्मी र धीरेन्द्र सिंह तथा नेपालगञ्ज-१८ का रमेश थापा र पावर्ती विष्ट संलग्न रहेको भन्दै जिल्ला प्रहरी कार्यालय बाँकेमा महिला अधिकार मञ्चकी केन्द्रीय सदस्य मनकुमारी गुरतालले जाहेरी दिनुभएको थियो । बादशाहमाथि गृह मन्त्रालयको छानविन समितिले समेत अनुसन्धान गर्न सिफारिश गरेको थियो । तर, कांग्रेसबाट निर्वाचित कुर्मी पहुँचको आधारमा कारबाहीबाट जोगिँदै आउनुभएको छ ।