सर्पदंशका स्वास्थ्यकर्मीलाई आक्रमणको भय

प्रकाश मैनाली सर्लाही, संवाददाता
Read Time = 6 mins

सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका-१, नवलपुरस्थित सर्पदंश उपचार केन्द्रका स्वास्थ्यकर्मीले भेन्टिलेटर र आइसियु सञ्चालन नहुँदा सँधै भय र त्रासको वातावरणमा काम गर्नुपरेको गुनासो गरेका छन् । सर्पले टोकेपछि शरीरमा विष फैलिएर बिरामी गम्भीर भएको अवस्थामा भेन्टिलेटर र आइसियुको सहायतामा उपचार गर्नुपर्ने हुन्छ । यस्तो अवस्थामा उपचार गर्न ल्याइएका बिरामीलाई तत्काल एन्टिस्नेक भेनम चढाएर सुविधा सम्पन्न अस्पतालमा रेफर गर्ने गरिएको छ ।

सर्पदंश उपचार केन्द्रका इन्चार्ज एवं हेल्थ असिस्टेन्ट जगर्नाथ यादवले गम्भीर अवस्थामा ल्याइएका बिरामीलाई बाहिर रेफर गर्नासाथ प्रायः बिरामीका आफन्तले आफूहरुमाथि आक्रोश पोख्ने गरेको गुनासो गर्नुभयो । “हामीले यहाँबाट रेफर गरिएको बिरामीलाई बाटोमा कतै तलमाथि भयो भने हामीकहाँ आएर आक्रोश पोख्ने गरिन्छ,” यादवले भन्नुभयो, “हामीकहाँ आइसियु र भेन्टिलेटर चलाउन जान्ने दक्ष जनशक्ति नभएकाले जटिल अवस्थाका बिरामीलाई बाहिर पठाउनुुको विकल्प नै छैन् ।” गएराति हरिवनतर्फबाट एक जना सर्पदंशका बिरामीलाई पनि सिकिस्त अवस्थामा सर्पदंश उपचार केन्द्रमा ल्याइएको थियो । ति बिरामीलाई यहाँ प्राथमिक मात्राको एन्टिस्नेक भेनम चढाएर जनकपुर रेफर गरिएको छ । जनकपुरस्थित प्रादेशिक अस्पतालले समेत उपचार सम्भव नभएको भनेपछि ति बिरामीको अहिले जनकपुरकै एक निजी अस्पतालमा उपचार जारी छ ।

अवस्था सामान्य हुँदै ल्याइएको बिरामीलाई एन्टिस्नेक भेनम चलाएर उपचार गरिरहे पनि सिकिस्त अवस्थाका बिरामीलाई उपचार गर्ने उपकरण नभएको र बिरामी तलमाथि हुँदा आफूहरु माथि नै आक्रमण हुने हो कि भन्ने त्रास रहेको उपचार केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीको गुनासो छ । सर्पदंश उपचार केन्द्र नवलपुरले एक जना निजी चिकित्सकको सहयोग लिएर सञ्चालन गरेको आइसियू र भेन्टिलेटर २०७६ साल जेठमा हरिवनतर्फबाट ल्याइएकी एक बालिकाको उपचारकै क्रममा मृत्यु भएपछि आफन्तले चिकित्सकमाथि नै आक्रमण गरी उपकरणमा तोडफोड गरेपछि सोही मितिदेखि आइसियु र भेन्टिलेटर बन्द छ ।

सर्पदंश उपचार केन्द्रका कोषाध्यक्ष दीपक श्रेष्ठले गम्भीर अवस्थामा ल्याइएका बिरामीलाई उपचार गर्न नसक्दा उपचार केन्द्रमा पुनः आक्रमणको घटना दोहोरिने हो की भन्ने चिन्ता रहेको दुुःखेसो पोख्नुभयो । उहाँले उपचार केन्द्रमा सर्पले टोकेका बिरामीलाई चलाइने एन्टिस्नेक भेनम पर्याप्त रहेपनि आइसियु र भेन्टिलेटर चलाउन नपाउँदा चिन्ता थपिएको बताउनुुभयो । “यहाँबाट रेफर गरिएका बिरामीको आफन्त औषधि नै नरहेको भन्दै आक्रोश व्यक्त गर्नुहुन्छ तर हामीसँग औषधिको अभाव छैन्,” श्रेष्ठले भन्नुभयो, “आइसियु, भेन्टिलेटर चलाउन जान्ने दक्ष जनशक्ति नहुँदा समस्या परेको हो ।” श्रेष्ठले उपचार केन्द्रकै दुुई जना स्वास्थ्यकर्मीलाई कोेरोना सङ्क्रमणका बेला धरान लगेर तालिम दिएपनि उनीहरुले समेत आइसियुु र भेन्टिलेटर चलाउन नमानेका बताउनुुभयो । श्रेष्ठले भन्नुभयो, “तालिम दिएर ल्याइएका कर्मचारीले हामी ‘रिक्स’ लिँदैनौँ भनेपछि हामी अलमलमा पर्‍यौँ, नयाँ चिकित्सकको आवेदन माग गर्दा पनि आइसियु, भेन्टिलेटर चलाउन जान्नेबाट आवेदन नै परेन ।”

सर्पदंश उपचार केन्द्र नवलपुरले स्थानीय स्तरमा भेन्टिलेटर र आइसियुको सुविधासहित सर्पदंशका बिरामीको उपचार हुने ठाउँ नरहेकाले सर्पले डसेका बिरामीलाई जतिसक्दो चाँडो उपचार केन्द्रमा ल्याउन आग्रह गरेको छ । प्रादेशिक अस्पताल मलङ्गवाका मेडिकल सुपरिटेन्डेन्ट डा. नवलकिशोर झाले आफूहरुले पनि दक्ष जनशक्तिको अभावमा सर्पदंशका बिरामीलाई एन्टिस्नेक भेनमकै भरमा उपचार गर्नुपरेको बताउनुुभयो । उहाँले गम्भीर अवस्थाका बिरामीलाई जनकपुर वा वीरगञ्ज रेफर गर्ने गरिएको जानकारी दिनुुभयो । दुई साताअघि हरिवन नगरपालिका-८, चापिनीका एक युवकको नवलपुर सर्पदंश उपचार केन्द्रमा सामान्य उपचार गरी थप उपचारका लागि जनकपुर लैजाँदा बाटोमा नै मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *