लण्डन । युइएफए नेसन्स लिगमा इंग्ल्याण्डले फिनल्याण्डलाई पराजित गरेको छ । कप्तान हृयारी केनको दुई गोलसँगै इंल्याण्डले फिनल्याण्डलाई २-० ले हराएको हो । वेम्बली स्टेडियममा बायर्न म्युनिखका स्टारले ५७औँ र ७६औँ मिनेटमा गोल गर्दै घरेलु टोलीलाई जित दिलाउनुभयो ।
युरोकप २०२४ को फाइनलमा स्पेनसँग पराजित भएपछि ग्यारेथ साउथगेटले राजीनामा दिनुभएको थियो । त्यसयता, इंग्ल्याण्ड अन्तरिम प्रशिक्षक ली कास्र्लेको काँधमा छ । यो उहाँको लगातार दोस्रो जित हो । अंक तालिकामा दोस्रो स्थानमा रहेको इंग्ल्याण्डले यसअघि आयरल्याण्डलाई यही नतिजाले पराजित गरेको थियो ।
यदि साउथगेटको स्थायी उत्तराधिकारीको खोजी अक्टोबरमा अर्को अन्तर्राष्ट्रिय ब्रेकभन्दा बढी लम्बियो भने कास्र्ले अझै केही समय इंग्ल्याण्डको प्रशिक्षकमा रहन सक्नुहुनेछ । नेसन्स लिगको दोस्रो चरणमा खेलिरहेको इंग्ल्याण्डले समूहको शीर्ष स्थानमा रहेको ग्रिससँग ६ अंकको बराबरी गरेको छ ।
यसैबीच, अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा अमेरिका र न्युजिल्याण्डले एक-एक गोलको बराबरी खेलेका छन् । सिनसिनाटीमा भएको खेलमा घरेलु टोली अमेरिकाले सुरुवाती अग्रता लिएको थियो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा अमेरिकाले ६९औँ मिनेटमा अग्रता बनायो । अमेरिकाका लागि क्रिष्टियन पुलिसीले फ्लोरिन बालोगनको मद्दतमा गोल गर्दै अग्रता दिलाउनुभएको थियो । तर, ८९औँ मिनेटमा न्युजिल्याण्डले खेल बराबरी गरेको हो । न्युजिल्याण्डका बेन वाइनले गोल गरेपछि अन्ततः मैत्रीपूर्ण फुटबल एक-एक गोलको बराबरीमा सकिएको थियो । एजेन्सी ।