‘भ्रष्टाचारको चपेटामा देश’ सार्वजनिक

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । हेम पाठकको शब्द रचना रहेको गीत ‘भ्रष्टाचारको चपेटामा देश’ सार्वजनिक गरिएको छ । काठमाडौंमा एक विशेष समारोहबीच हेम-सरिता पाठक फाउण्डेशनको आयोजनामा गीतको भिडियो सार्वजनिक गरिएको हो ।

फाउण्डेशनका नेपाल शाखाका अध्यक्ष राधेश्याम लेकालीले स्वागत मन्तव्यमार्फत् अतिथिहरूको स्वागत गर्नुभएको कार्यक्रममा प्रमुख अतिथि लोकप्रिय कलाकार मदनकृष्ण श्रेष्ठ र नेपाल सरकारका पूर्वमुख्यसचिव लीला गड्तौला रहनुभएको थियो ।
गीतकार पाठकले गीत सिर्जना र संस्थाको उद्देश्य एवं महत्वमाथि प्रकाश पार्नुभएको थियो । उहाँले आफू नेपालमा रहँदा तीन दशकअघि सामाजिक विकास समाज, अनामनगरमार्फत भ्रष्टाचारविरुद्धको जुलुस निकालेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सभाकक्षमा भ्रष्टाचारविरुद्धको कार्यक्रम गरेको स्मरण गर्नुभयो ।

पूर्वमुख्यसचिव गड्तौलाले भ्रष्टाचारविरुद्ध सबै एकजुट हुनुपर्ने धारणा राख्नुभयो । कलाकार मदनकृष्ण श्रेष्ठले भ्रष्टाचार गर्नेलाई सामाजिक रूपमै बहिष्कार गर्नुपर्ने बताउनुभयो । कलाकार किरण केसीले भ्रष्टाचार गर्नेलाई कुनै पनि प्रतिष्ठामा राख्न नहुने धारणा राख्नुभयो ।

प्राडा.सुरेन्द्र केसीले भ्रष्टचार निर्मूल गर्न नीतिगत सुधार ल्याउन आवश्यक रहेकोमा जोड दिनुभयो । नेता रविन्द्र मिश्रले भ्रष्टाचारलाई जरैदेखि उखेल्न नागरिक सचेत हुन जरुरी रहेको धारणा राख्नुभयो । फाउण्डेशनका नेपाल शाखाका अध्यक्ष राधेश्याम लेकालीले स्वागत मन्तव्य राखेको सो कार्यक्रमको सञ्चालन बिबुसा बस्नेतले गर्नुभउको थियो । फाउन्डेसनले भ्रष्टाचारविरुद्ध समाचार लेख्ने पत्रकार तथा कविहरूलाई समेत पुरस्कृत गर्दै आएको छ ।

गीतमा कुन्ती मोक्तान र शिशिर योगीले स्वर दिनुभएको छ भने बिबी अनुरागीको संगीत छ । गीतको भिडियोलाई सुदन केसीले निर्देशन गनुभएको हो । समारोहमा गीतसंगीत तथा अन्य क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको बाक्लो उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *