साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडेले नेपालको सन्दर्भमा सरकारी स्वामित्वका व्यावसायिक कम्पनीहरू सफल हुँदैनन् भन्ने मान्यतालाई गलत साबित गरिदिएको छ । निजी क्षेत्रसँगको तीव्र प्रतिस्पर्धाबीच पनि खाद्यान्नलगायत अत्यावश्यक दैनिक उपभोग्य वस्तुको कारोबारमा सफलता हासिल गर्न सक्नु कम्पनीको ठूलै उपलब्धि हो । साल्ट ट्रेडिङको यो सफलताले सरकारी स्वामित्वका घाटामा रहेका अन्य सार्वजनिक संस्थानलाई समेत चुनौती दिएकोे छ । प्रस्तुत छ, ६२औँ वार्षिकोत्सवका अवसरमा कम्पनीका अध्यक्ष प्रदिपलाल श्रेष्ठसँग हिमालय टाइम्सका लागि लेखनाथ पोखरेलले गर्नुभएको संवादको संक्षिप्त अशं :
साल्ट ट्रेडिङ कम्पनीका बारेमा बताइदिनुस् न ?
आयोडिनयुक्त नुन देशभर आपूर्ति गरी सहज बनाउने र हरेक वर्ष हुने नुुनलगायत विभिन्न खाद्यवस्तुको अभाव एवं कालोबजारी रोक्ने उद्देश्यका साथ स्थापना भएको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड पब्लिक/प्राइभेट पार्टनरसिप (पिपिपी) मोडलको नेपालकै पहिलो कम्पनी हो । खासगरी नुन आपूर्ति व्यवस्थापनका लागि २०२० सालमै पिपिपी मोडलमा स्थापना भएको यस कम्पनीमा देशैभरका नुन व्यापारीका साथै सरकारको समेत सेयर लगानी रहेको छ । कम्पनीमा पूर्वमेचीदेखि पश्चिम महाकालीसम्मका व्यापारीको लगानी रहेको छ । साल्ट ट्रेडिङ स्थापनाअघि सरकारले विभिन्न क्षेत्र र मात्रा तोकेर व्यापारीलाई नुन आयातकोे अनुमति दिने गथ्र्यो ।
कम्पनीले नुनमात्रै कारोबारचाहिँ कहिलेसम्म गर्यो ?
कम्पनीले २०३० सालदेखि नै खाद्यान्न कारोबार पनि सुरु गरेको थियो । खाद्य कम्पनी लिमिटेड स्थापना गरेर खाद्यान्नको कारोबार सुरु गरेको थियो । किनभने त्यतिबेला नेपालमा मैदा मिल थिएन । आवश्यक मैदा भारतबाट आयात गर्नुपथ्र्यो । नेपालको गहुँ भारत जाने र भारतबाट महँगोमा मैदा ल्याउनुपर्ने बाध्यता थियो । उत्पादित वस्तु भारतमै लगेर बेच्नुपर्ने भएकाले किसानले पनि उत्पादनको मूल्य पाउँदैनथे । त्यसैले देशमा औद्योगिकीकरण, आयात प्रतिस्थापना र रोजगारी सिर्जना गर्ने उद्देश्यले पनि मैदा मिल सुरु गरिएको थियो । त्यसपछि कम्पनीले क्रमिक रूपमा नेपाल वनस्पति घिउ उद्योग, गोरखकाली रबर उद्योग, बुटवल धागो उद्योग, तेल उद्योग सञ्चालनमा ल्यायो । अहिले कम्पनीले चिनी, मैदा, पिठो, चामल, तेल, दाल, अखबारी कागजसमेतको कारोबार गर्दै आएको छ । त्यसैगरी एसटिसी ग्याँस, रासायनिक मलको कारोबार पनि गर्छ । अनुदानिक र गैरअनुदानिक दुवै प्रकारका रासायनिक मलको कारोबार गर्ने गरेका छौँ ।
कम्पनीले वित्तीय क्षेत्रमा पनि लगानी गरेको छ नि ?
हो, बिमा, फाइनान्स क्षेत्रमा पनि कम्पनीको लगानी रहेको छ । सगरमाथा इन्स्योरेन्स थियो, त्यो अहिले त्यही कम्पनी सलिको इन्स्योरेन्सका नाममा सञ्चालन भएको छ । त्यस्तै नेसनल फाइनान्स कम्पनी सञ्चालनमा थियो, अहिले त्यही कम्पनी सनराइज बैंकमा गाभिएको छ । त्यसैगरी कम्पनीले हाउजिङ क्षेत्रमा पनि काम गर्दै आएको छ ।
कम्पनीले मैदा, पिठोबाहेकका अन्य खाद्य पदार्थ पनि बिक्री गर्छ, ती खाद्यवस्तु आफ्नै उत्पादन होइनन् ?
हामी आफ्ना उत्पादनबाहेक स्थानीय बजारबाट खरिद गरेर पनि बिक्री गर्छौं । मैदा, पिठो, तोरी तेल हाम्रो आफ्नै उत्पादन छ भने दाल, चामल, गेडागुडीलगायत वस्तु स्थानीय बजारबाट खरिद गर्छौं ।
खुला बजारभन्दा साल्ट ट्रेडिङले बिक्री गर्ने खाद्यान्न महँगो रहेको उपभोक्ताको गुनासो छ नि ?
त्यस्तो होइन । एउटा कुरा तपाईंले के बुझ्नुपर्छ भने गुणस्तर र मूल्यको भेट हुँदैन । तपाईं गुणस्तरीय उत्पादन खोज्नुहुन्छ भने मूल्य पनि बढी तिर्नुपर्ने हुन्छ । गुणस्तरीय वस्तुलाई बेटर पे नै गर्नुपर्छ । यदि गुणस्तरीय होइन, ठीकै छ, पोलिस गरेकै दाल लिन्छु भन्नुभयो भने त्यो सस्तो पाउन सक्नुहुन्छ । त्यसैले गुणस्तरीय वस्तु खुला बजारमा किन्न जानुभयो भने हाम्रोभन्दा धेरै महँगो पर्न आउँछ ।
दशैँमा उपभोक्ता सहुलियत योजना पनि छन् कि ?
सहुलियत योजनाहरू पनि छन् । चाडबाडमा सरकारले सञ्चालन गर्ने सहुलियत योजनाअनुसार नै हामीले उपभोक्तालाई सेवा दिने हो । त्यतिमात्र नभई कम्पनीले चाडबाडको समयमा आफ्नोतर्फबाट पनि उपभोक्तालाई केही सहुलियत दिने गरेको छ । काठमाडांै उपत्यकाका विभिन्न १० स्थानमा हाम्रा बिक्री केन्द्रहरू रहेका छन् । बालाजु, सतुंगल, सिफल, कपन, लोकन्थली, जडीबुटी, भक्तपुरलगायतका क्षेत्रमा पहिलेदेखि नै हाम्रा बिक्री केन्द्रहरू सञ्चालनमा रहेका छन् । त्यसबाहेक परिमाण हेरेर होम डेलिभरीको व्यवस्थासमेत गरेका छौँ ।
कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न क्षेत्रमा सहयोग पनि गर्दै आएको छ, हाल कुन-कुन क्षेत्रमा सहयोग गरेको छ ?
प्रचारमा आइरहेको एउटा कार्यक्रम त हेमबहादुर मल्ल सम्मान भइहाल्यो । जुन साल्ट ट्रेडिङसँगकै सहकार्यमा नेपाल जनप्रशान संघले हरेक वर्ष सम्मान कार्यक्रम सञ्चालन गर्दै आएको छ । त्यसबाहेक पनि कम्पनीले विभिन्न सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको छ । कम्पनीले २०४५ सालदेखि बाल हितकारी पुरस्कार प्रदान गर्दै आएको छ भने विभिन्न हितकारी संस्थामार्फत् शिक्षा, स्वास्थ्य क्षेत्रमा पनि सहयोग गर्दै आएको छ । विगतमा पाणिनी पुरस्कार पनि प्रदान गर्दै आएको थियो । त्यसो त कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्वको इतिहास लामो छ । कम्पनीले २०३० सालमा आगलागीबाट क्षति भएको सिंहदरबार पुनर्निर्माणमा एक लाख रुपैयाँ सहयोग प्रदान गरेको थियो भने नेपाल आँखा अस्पताल स्थापनार्थ २०३२ सालमा एक लाख रुपैयाँ, राजा कुमार दिपक जंगबहादुर सिंहको संयोजकत्वमा बझाङमा स्थापना भएको क्याम्पसका लागि २०३८ सालमा ११ हजार रुपैयाँ सहयोग प्रदान गरेको थियो । त्यस्तै सामाजिक सेवा राष्ट्रिय समन्वय परिषद्को मन्दिर निर्माणका लागि २०४२-०४३ मा चार लाख रुपैयाँ सहयोग प्रदान गरेको थियो भने २०४३ सालमा वीर अस्पताललाई एउटा शव वाहन प्रदान गरेको थियो । यसबाहेक पनि कम्पनीले विभिन्न संस्थालाई आर्थिक सहयोग प्रदान गरेको छ ।
अहिले कम्पनीको व्यावसायिक अवस्था कस्तो छ ?
राम्रो छ । गत वर्ष २०८०/०८१ मा हामीले १३ अर्ब ३५ करोड बराबरको कारोबार गरेका छौँ । २०७९/०८० को तुलनामा झण्डै ५० प्रतिशतले कारोबार बढेको हो । व्यवसाय विस्तार र विविधीकरणसँगै हरेक वर्ष क्रमिक रूपमा कारोबार बढ्दै गइरहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच