रानी एलिजावेथको चिठ्ठी

हिमालय टाइम्स
Read Time = 12 mins

✍️ शंकर धिताल

‘मेरो चौरासीको काममा आइनस् भने मेरो मलामी पनि आउनुपर्दैन’, आज हजुरआमा एक्कासि कस्सिएर बोल्नुभयो । वरपरका सबै स्तब्ध भए । ऊ पनि झसंग भयो । उसलाई यसको उत्तर दिन आएन वा यसको जवाफमा बोलिने शब्दहरू उसले पाएन । घटना टुंगियो, तर त्यसबाट विष्फोटित भावनाका लार्भाहरूले अन्त्यहिन बाटो पहिल्याउन थाले । उसको मनलाई हरेक पल यही हजुरआमाको वाक्यले पोल्न थाल्यो । भारतीय रेष्टुरेन्टमा तन्दुरी पोल्दा पनि उसलाई हात कम, मन ज्यादा पोल्न थाल्यो । कुखुराका फूल टिप्दा पनि उसले हरेक फूलभित्रबाट हजुरआमाकै वाणी आइरहेझै महसुस गरिरहयो । ए.आई.यन.(सहायक नर्स)को तालिम लिने सैद्धान्तिक कक्षामा पनि उसको मन एकोहोरो भइरहृयो ।

भोग्नेलाई कहिले नै सन्तुष्टि भएको छ र ? परापूर्वकालदेखि नै सन्तुष्टिको ठेक्का त देख्नेहरूको पोल्टामै राखिएको छ । ऊ इञ्जिनियरबाट २४ लाख खर्च गरेर बढुवा भई परदेशमा तेस्रो दर्जाको नागरिक बन्न सफल भएको छ । यस कुरामा उसलाई कुनै गर्व महशुस भइरहेको छैन, तर उसका परिवारलाई भने धेरै मानिसलाई गफ दिने मेलो बनेको छ । निधारमा ऋणको नाम्लो, पिठ्युँमा पढाइको ढाकर, हातमा भविष्यको तोक्मा बोकेर गह्रौं पाइला सार्दासार्दै सात समुद्र पारी हिँडेको वर्ष दिन बित्न लागिसक्यो । न त उसलाई कहिल्यै सुख भएको छ न त उसले भविष्यमा हुने सुखको सपना देख्न सकेको छ । नेपालबाट अष्ट्रेलियाको लागि प्लेन चढेर हिँड्दा जुन जोस उसको मनमा थियो, त्यो अहिले खटिराको पाप्रो उप्किए झैं पक्क पक्क उप्किएर सकिँदैछन्, तर ती दागहरू भने अझै उस्तै छन्, ताजा ।

‘ल ल ! बुढीले त आज बल्ल हगी । जाउ जाउ सोहोर्न थाल’, सहायक नर्स तालिमको पहिलो प्रयोगात्मक कक्षाको पहिलो दिनको पहिलो घण्टामै उसको तालिम गराउने मेन्टरले अह्रायो । उसलाई के गरौं-गरौं भयो । फेरि उसले याचना गर्ने आँखाले मेन्टरतिर हेर्यो । धन्न मेन्टर नेपाली नै हो र उसले पनि आँखाको याचना बुझ्यो । तर, मेन्टरले गर्न सक्ने सहयोग केही पनि छैन । जसरी भए पनि आची सोहोर्नु त छँदैछ । पहिलो दिनको पहिलो घण्टामै उसले जीवनमा पहिलोपटक भेटेकी महिलाको जीवनमै पहिलोपटक आची सोहोर्दैछ । जसको आची सोहोरिरहेको छ, उसको अनुहार पनि उसले देखेको छैन । घिनाउँदै सोहोरेको देखेर मेन्टरले ‘भाई कति दिन घिन मानेर काम चल्छ ? काम ठूलोसानो हुने हाम्रो देशमा मात्रै हो । यहाँ केही फरक पर्दैन । सफा हुने गरी सोहोर, पैसा आउँछ’ भन्दै हाँस्यो । उसले पनि जवाफमा मुस्कुराउने स्वांग पारिदियो ।

सम्झना फूर्सदमा मात्र आउँदैन, सम्झना जब आउँछ, तब मानिस चाहिँ फूर्सदमा आउँछ । ऊ सानै हुँदा जण्डिसले ग्रसित भएछ । मधेसमा बसेका उसका बुवाआमाले पहाडमा भएका उसका हजुरबुवा, हजुरआमालाई चिठ्ठी लेखी पठाए, ‘नातीलाई बिमारले गाँज्दै लग्यो है’ भनेर । मुखिया हजुरबुवाले आफैं चिठ्ठी पढ्नुभयो र हजुरआमालाई भन्नु भएन । बाली थन्क्याउने बेला थियो, काममा हानी होला भनेर सायद हजुरबुवाले त्यसो गर्नु उचित सम्झनु भएन । अर्को पनि पत्र मधेसबाट आयो, ‘नातीको मुख हेर्नु मन छ भने चाँडै मधेस आउनु ।’ हजुरबुवाले स्वभावतः यो चिठ्ठी पनि हजुरआमालाई देखाउनुभएन र ‘आज मैले बिहानखेरी अलिक नराम्रो सपना देखें । ए बाहुनी !, तँ मधेसमा जेठाका घरमा जान्छेस त ?’ हजुरबुवाले घुमाउरो पारामा आफ्नी बाहुनीलाई ‘नातिको मुख हेर्नु जा’ भनेर अह्राउनुभयो ।

‘हिजो बेलुका त तिम्री स्टेलालाई स्ट्रोक भएछ । रातभरी हस्पिटलमा राखेछन् । बिहानमात्र स्टेलाले स्ट्रोक जितिछिन् । अघि ल्याएर उनकै कोठामा राखेका छन् । तिमीलाई थाहा छ भाइ ? यो त सिक्थ एट्याक हो नि । यो बुढीको कथा थाहा छ तिमीलाई ?’

काखमा नाति खेलाउन रहर लागेकी हजुरआमा ‘आजै जान्छु, अहिल्यै जान्छु’ भने झैं उफ्रिन थाल्नुभयो । मधेस पुगेपछि मात्र हजुरआमाले आफ्नो नातिको अवस्था थाहा पाउनुभयो र त्यति नै बेला सबैथोक छोडेर नातिकै समिपमा बस्ने निधो गर्नुभयो । त्यसपछिदेखि हजुरआमाकै स्याहारसुसारमा उसको जिउ फिर्दै गयो र ऊ अहिलेसम्म बाँचेको छ । यो सब उसले सुनेको कथा हो तर ऊ आफूलाई यस कथाको जिउँदो जाग्दो प्रमाणका रूपमा पाउँछ । त्यसैले त उसले हजुरआमासँग ठाडो आँखाले हेर्न सक्दैन, बस प्रेम र आदर भावका कारण । जो मान्छेको गु मुत आफ्नै हातले सोहोरिन्छ, त्यसको माया त्यतिकै बढ्दो रहेछ । अहिले उसलाई थाहा भइरहेको छ, उसकी हजुरआमाले किन यति धेरै मरिहत्ते गर्छिन् भनेर । पहिलो दिन आची सोहोरि दिएकी वृद्धाकैमा ऊ फेरि पनि गयो । उनको नाम स्टेलाम्यारिन रहेछ ।

सिसौको मुढो लडेझैं ९९ वर्षीया स्टेला रातोदिन अचेत भई ओछ्यानमा लड्दी रहिछिन् । उनी जिउँदै छिन् भन्ने कुराको संकेत गर्न उनको नाकबाट आउने जाने श्वास नै नाप्नुपथ्र्यो । स्टेलाको परिवारका आगन्तुक भनेकै उनको वृद्ध नाति थियो । स्टेलालाई खानेकुराहरू सबै पेलेर तरल बनाएर खुवाउने गरिन्थ्यो । उसले रेसिडेन्ट बुक (आश्रम बासिन्दाहरूको अभिलेखकीय पुस्तक)मा गएर स्टेलाको जीवनको बारेमा थाहा पाउन खोज्यो । तर, खासै केही भेटिएन । उसको तालिमको क्रममा ऊ विभिन्न वार्डमा पुग्नुपथ्र्यो । तर, पनि दिनको कमसेकम एक समय मिलाएर ऊ स्टेलालाई भेट्न जान थाल्यो । त्यसपछि पनि उसले कति धेरै बुढाबुढीको स्याहार ग¥यो । तर, पनि उसलाई कसै प्रति स्टेलासँग झैं भावनात्मक निकटता महसुस भएको छैन ।

‘हिजो बेलुका त तिम्री स्टेलालाई स्ट्रोक भएछ । रातभरी हस्पिटलमा राखेछन् । बिहानमात्र स्टेलाले स्ट्रोक जितिछिन् । अघि ल्याएर उनकै कोठामा राखेका छन् । तिमीलाई थाहा छ भाइ ? यो त सिक्थ एट्याक हो नि । यो बुढीको कथा थाहा छ तिमीलाई ?’ मेन्टरले केही नयाँ जानकारी दिन लागे झैं लाग्यो । उसलाई त्यही भएर उसले नजिक गएर कान थाप्यो । ‘यो बुढीको २५-३० वर्ष पहिलेमात्रै हजुरबुवा मरेको रैछ । त्यो हजुरबुवा चाहिँ १०१ वर्ष भएर मरेको रहेछ । त्यो हजुरबुवाको सयौं वर्थडेका दिन रानी एलिजावेथको हस्ताक्षर भएको चिठ्ठी उसको हजुरबुवालाई पठाइएको रैछ । अष्ट्रेलियामा चाहिँ एक सय वर्ष बाच्ने मान्छेलाई रानीको हस्ताक्षर भएको चिठ्ठी आउँछ, बेलायतबाट । स्टेलालाई पनि यो चिठ्ठी लिएरमात्र मर्न मन लागेको रैछ । आफ्नो हजुरबुवा जस्तो । यसको नातिले भनेको ।

मान्छे भन्ने जातको मन पनि बुझ्न सकिन्नँ । उसले पाउने चिठ्ठीका लागि हामीले स्याहार गर्नुपरेको छ ।’ मेन्टरले लामो सुस्केरा हाल्यो । मेन्टर आफ्नै सुरमा खाजा खान थाल्यो । उसलाई भने एकदमै अर्कै महशुस हुन थाल्यो । कस्तो अर्कै ? खै कस्तो कस्तो ! उसले पहिले कहिल्यै अष्ट्रेलियाको यस्तो व्यवस्थाकाबारेमा थाहा पाएको थिएन । उसलाई यतिमात्रै थाहा थियो कि बेलायतकी महारानीको जन्मदिनको दिन चाहिँ अष्ट्रेलियामा सार्वजनिक बिदा दिइन्छ । ढोकालाई अर्ध खोलेर ऊ स्टेलाको कोठामा प्रवेश गर्‍यो । स्टेलाको लडिरहेको ज्यानलाई हे¥यो । बेलाबेला अचेत अवस्थामै खोलिने ती आँखाका नानीलाई हेर्‍यो । एउटा जाबो रूखको बोक्रोलाई पेलेर बनाइएको कागजमा, रासायनिक प्रशोधनबाट बनाइएको मसीले कोरिएका केही शब्दले पनि कसैको ज्यान बचाउन सक्छ ? प्रश्नको जिउँदो जाग्दो उत्तर उसको अगाडि लडिरहेकी थिइन् । मानिसले जीवनमा के नै चाहन सक्छ र ? भनिन्छ, नि कि त चाहना कि त चिहान ।

स्टेलाले चाहना रोजिन्, त्यही भएर उनी अहिलेसम्म चिहान नजानमा सफल छिन् । के मानिसबाटै प्रकट भएको चाहना स्वयं मानिसकै जीवनभन्दा पनि ठूलो हुनसक्छ ? चाहनाको दाम्लो यति दह्रो हुँदोरहेछ, जसले मृत्युको मुखबाट पनि मानिसलाई घिसारेर फिर्ता ल्याउन सक्छ, उसले कहिल्यै कल्पना गरेको थिएन । यस्तै, यस्तै सोच्दै उसले आफ्नी हजुरआमा र स्टेला म्यारिनको अनुहारलाई एउटै भाँडामा हालेर घोल्दै हेर्न थाल्यो । उसले स्टेलाको निधारलाई विस्तारै छामी दिँदै गर्दा स्टेलाले आफ्ना आँखा चलाइन् । स्टेलाको अनुहारमा गहिरो सन्तुष्टि देखियो । उसले स्टेलाको निदारमा हलुका गरी आफ्ना औंला चलाई नै रहृयो । स्टेला पनि सायद लामो समय पछि गहिरो निद्रामा निदाइन् । क्रमशः

Leave a Reply

Your email address will not be published. Required fields are marked *