नेतामाथि थपिँदो शंका

हिमालय टाइम्स
Read Time = 8 mins

वर्तमान समयमा नेपालका विभिन्न पार्टीका नेता कुनै न कुनै अभियोगमा मुछिने गरेका छन् । नेताहरूको कुनै प्रकरणमा संलग्नता देखिँदै आएको छ । यसलाई आमजनताले प्रजातन्त्रको पर्यायकै रूपमा हेर्ने गरेका छन् । हालैमात्र नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङलाई पनि सहकारीको रकम अपचलन गरेको आरोप लागेको छ । सहकारी अपचलनको यो पछिल्लो अभियोग हो । यसपूर्व राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेमाथि यस्तै अभियोग लागेको थियो । जी.बी. राईमार्फत सहकरीको रकम अपचलन गरेको भनेर उहाँमाथि अरोप लाग्दै आएको छ । यही विषयलाई लिएर लामो समयसम्म सदन अवरुद्धसमेत भएको थियो ।

रविले उक्त प्रकरणमा आफ्नो संलग्नता नरहेको भनेर पटक-पटक स्पष्टीकरण दिँदै आउनुभएको भए पनि संसद्मा उहाँले यस विषयलाई लिएर बयानसमेत दिनुभएको छ । त्यसो त हेर्ने हो भने प्रायःजसो नेताहरूलाई यस्ता अनेकौं अभियोग लागिरहन्छन्, तिनले बेलाबेलामा चर्चा पाउँछन् र बजार तताउँछन् तर बिस्तारै ती सेलाउँदै जाने गर्छन् । उधिनेर हेर्ने हो भने सतहमा आएका यस्ता अनेकौं प्रकरण आउँदै/हराउँदै गएका छन् । केही फाट्टफुट्ट अभियोगहरूमा दुई-चारजना नेताहरूले जेल सजाय भुक्तान् गरेका छन् । तिनलाई अपवादका रूपमा लिँदा उचित हुन्छ । नेपाली कांग्रेसका गोविन्दराज जोशी, चिरञ्जीवी वाग्ले, जयप्रकाश गुप्ताहरूले भने आफूलाई लागेको अभियोगमा अदालतले तोकेको सजाय अनुसार जेलसजाय भोग्नुभयो ।

प्रजातन्त्र आएयता अभियोग लागेका प्रायःजसो नेताहरूले त्यस्तो सजाय पाएको देखिएको छैन । प्रजातन्त्र आएयता लाउडा, चेज एयर, धमिजा, टनकपुर, वाइड बडी, न्यारो बडी, मेलम्ची खानेपानी, ललिता निवास, बालमन्दिर, बाँसवारी, गिरीबन्धु टी-स्टेट, बतास, सुन तस्करी, सेक्युरिटी प्रेस, नक्क्ली भुटानी शरणार्थीदेखि हाल चर्चामा आएका सहकारी प्रकरणसमेत थपिँदै आएका छन् । पुराना यस्ता काण्डहरूमध्ये केहीको अदालती निराकरण भइसकेको छ र केहीको बाँकी हुनसक्छ तर अभियोग लागेका कोहीले पनि कठोर सजाय पाएको देखिएको छैन । सबैले कुनै न कुनै तरहले सफाइ पाइसकेका छन् । यस्ता धेरै अनियमितता खरानीमुनि आगो छोपिएर रहेजसरी रहिरहेका पनि होलान् तर सतहमा उत्रिएकाहरूलाई मात्र हेर्ने हो भने पनि ती सयौंको संख्यामा छन् ।

हाल सहकारीको रकम अपचलनमा धनराज गुरुङको संलग्नता रहेको भनिएको छ । छानविन भएर त्यसको निष्कर्ष नआई को दोषी हो/होइन त्यो यसै भन्न सकिँदैन । त्यसो भन्ने अधिकार सबैलाई हुँदैन, अधिकार प्राप्त निकाय र अधिकारीलाई त्यसको निर्णय दिने अधिकार हुन्छ । विद्यमान नियमकानुन समेत आकर्षित हुन्छन् । कानुनविरुद्धका कार्यहरू अपराधका रूपमा परिभाषित हुन्छन् । गुरुङले ललितपुरस्थित ‘मितेरी बचत तथा ऋण सहकारी संस्था’बाट करोडौं रकम हिनामिना भएको भनेर आफूमाथि लागेको आरोपको खण्डन गर्नुभएको छ ।

उक्त सहकारीमा उहाँकी श्रीमती ज्योति गुरुङको संलग्नता रहेको तर श्रीमती ज्योतिसँग उहाँको पाँच वर्ष पहिले नै सम्बन्धविच्छेद भइसकेकाले ज्योतिबाट भएको अपचलनको जिम्मेवारी आफूले लिनु नपर्ने आसयको विज्ञप्ति उहाँले जारी गर्नुभएको छ । यसको छानबिन हुन बाँकी छ र निष्कर्ष आउन पनि बाँकी नै छ । यस्ता सन्दर्भहरू पटक-पटक देखापर्नु नहुने थियो । प्रकरणहरू कसैले बद्नियतपूर्ण ढंगले दोष लगाउनाले चर्चामा आएका हुन्छन् भने कुनै दोष लगाइएको व्यक्तिको वास्तविक संलग्नता रहेकै भएर दोष लगाइएको हुन्छ । गुरुङमाथि लागेको दोष यथार्थ हो वा बद्नियतपूर्ण छानविनपछि थाहा हुने विषय हो तर सत्तारुढ पार्टीको वरिष्ठ पदाधिकारी भएकाले यसलाई छायाँमा पारिनु हुँदैन ।

भोलिका दिनमा त्यसलाई एउटा निष्कर्षमा पुर्‍याइयो भने मात्र कि उहाँ आरोपमुक्त बन्न सक्नुहुन्छ कि आरोप पुष्टि भएर दोषी प्रमाणित बन्नुहुन्छ । पहिले-पहिलेका प्रकरणहरू जसरी नै यसलाई पनि उचाल्ने र पछार्ने गरी झुलाएर राख्ने हो भने उहाँमाथि लागेको आरोप सदाका लागि लागी नै रहन्छ । विभिन्न आरोप लागेका सांसदहरू संसद्मा लुकिछिपी आउने गरेका छन् भने प्रदेशमन्त्रीले समेत कुनै हत्याको घटनामा आफ्नो नाम जोडिएकाले पदबाट राजीनामा दिनुपरेको छ । यसैगरी तोकिएको सजायबाट कानुनले तोकेको व्यवस्था अनुसार रकम तिरेर छुट्ने कार्यबाट पनि उहाँहरूको कुनै न कुनै प्रकरणमा आरोप लाग्ने गरेको पुष्टि हुन्छ । अनेक प्रकरणहरू केन्द्रदेखि प्रदेश तथा स्थानीय तहसम्म छ्याप्छ्याप्ती रहेको पुष्टि हुन्छ ।

कानुनले निर्दोषले सजाय नपाओस् भन्ने आसयले बरू दोषी छुटोस् निर्दोषले सजाय नपाओस् भनेको छ । यस अर्थमा कुनै प्रकरणमा निजमाथिको अपराध पुष्टि नभई निर्दोषले सजाय पाउनुहुँदैन । दोषी उम्किन दिनु हुँदैन । यस्ता कुरामा कानुन सक्रिय हुनुपर्छ र कानुनको व्याख्या विश्लेषण गरी न्यायको निरुपण गर्ने अधिकारीमा हिम्मत हुनुपर्छ । यतिमात्र होइन कानुनको व्याख्या गरी न्याय निरुपण गर्ने अधिकारीमा बद्नियत पनि हुनुहुँदैन । त्यसो भयो भने न्यायको अवसान हुन्छ । यस पहिले कतिपय प्रकरणमा न्यायको अवसाय भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *