अदुःख नवमीको पूजाअर्चनाको प्रसंग

हिमालय टाइम्स
Read Time = 8 mins

✍️ तोयराज नेपाल

भाद्रशुक्ल नवमीलाई अदुःख नवमीव्रत भनिन्छ । अदुःख नवमीको व्रत उदयव्यापी तिथिमा गर्नुपर्दछ । यस विषयमा स्कन्द पुराणको वचन छ ।
नभस्ये शुक्लनवमी या वा पूर्णा तिथिर्भवेत् ।
अस्तदोषादिरहिता सर्वदुःख हरा परा ।।
यसमा समस्त दुःखहारिणी भगवती गौरीमाताको पूजाराधना गर्नाले सम्पूर्ण दुःख कष्टबाट मुक्त भई अनन्त सुख समृद्धि प्राप्त हुन्छ भनिएको छ । पूजामा दियो कलश गणेशको पूजा गरी अर्को एउटा छुट्टै कलशमाथि थालीमा प्रतिमा राखी गौरीको पूजा गर्नुपर्दछ । पूजा गरी नौ किसिमका पक्वान्न तथा फलफूलहरू नैवेद्य चढाउनुपर्दछ र अन्त्यमा विशेष पाँच दाना नरिवल चता नौ प्रकारका पक्वान्नसमेतको वायन (भेटी) राखी दान गर्नुपर्दछ । सकेसम्म उपवास बसेर, नसके पानीमात्र खाएर व्रत गर्दा फलदायी हुन्छ । त्यो पनि नसके फलफूलहरू खाई व्रत गर्न सकिन्छ । रात्रिमा जाग्राम गरेर नाचगान गरी भगवतीको आराधना गरेर बिहान भएपछि उत्तरांग पूजा गरी बिसर्जन गरेर शक्ति अनुसार सपत्नीक ब्राहृमणहरूलाई वस्त्र अलंकारसमेतले पूजा गरी भोजन गराएर बन्धुवर्ग र आफूले पनि प्रसाद ग्रहण गर्दा समस्त दुःख हटेर जानेछ भनेर शास्त्रमा बताइएको छ । नौ वर्षसम्म व्रत गरी अन्त्यमा उद्यापन गर्दा सम्पूर्ण दुःख नष्ट भएर जान्छन् र सुख समृद्धि प्राप्त भइ अन्त्यमा कल्याणमय मोक्ष पद प्राप्त गर्न सकिने बताइएको छ ।

थालीमा प्रतिमा राखी गौरीको पूजा गर्नुपर्दछ । पूजा गरी नौ किसिमका पक्वान्न तथा फलफूलहरू नैवेद्य चढाउनुपर्दछ र अन्त्यमा विशेष पाँच दाना नरिवल चता नौ प्रकारका पक्वान्नसमेतको वायन (भेटी) राखी दान गर्नुपर्दछ । सकेसम्म उपवास बसेर, नसके पानीमात्र खाएर व्रत गर्दा फलदायी हुन्छ ।

यस विषयमा उपाख्यान यस्तो रहेको छ : अघि कुनै समयमा एउटी अप्सरा श्रापका कारण पशु योनिमा जन्म लिएर कुक्कुटी नामले चिनिन्थिन् । पूर्वजन्मका कुनै पुण्यका प्रभावले त्यसलई पूर्वजन्मको स्मरण हुन्थ्यो । उनकी मर्कटीनामकी एउटी साथी पनि थिइन् । ती दुइटी कुक्कुटी र मर्कटी जंगलमा दुःख पूर्ण जीवन निर्वाह गर्दै बसेका थिए । दैववश भाद्रशुक्ल नवमीका दिन कुक्कुटीले मर्कटीलाई भनिन् हे ¤ सखी आज अदुःख नवमीको दिन हो । त्यसकारण केही नखाएर व्रत बसौं, हाम्रा दुःख नाश हुनेछन् । मर्कटीले पनि हुन्छ भनेर दुवैजना व्रत बसे । दिन समाप्त भएपछि मर्कटीलाई भोकले ज्यादै सताएर व्रतको कुरा बिर्सिएर यताउति हेर्दा मुजुरका अण्डा भेटेर खाइन् । अनि मुख कुल्लागरेर उज्यालो मुख गर्दै कुक्कुटीका छेउमा आएर भोक लागेजस्तो गरी स्वाङ पारेर बसिन् । मर्कटीले भनिन्, ए साथी तैँले केही खाएजस्तो छ नि ¤ तेरो व्रत भ्रष्ट भयो, मैले भनेको मानिनस्, बरू व्रतमा खानुभन्दा त मर्नु नि ! भनेर गाली गरिन् । कुक्कुटीले फेरि भनिन् अब हामी दुवै केदारनाथ भगवान्का शरणमा गएर प्राण त्याग गरौंभन्दा मर्कटीले पनि मानिन् । अनि कुक्कुटीले म असल ब्राहृमणका कुलमा जन्मनलिन पाऊँ भनेर प्राण त्याग गरिन् भने मर्कटीले म रानी हुन पाऊँ भनी प्राण त्याग दुवैले गरे । नभन्दै समयकालमा दुवैले जे भनेर प्राण त्याग गरेका थिए ब्राहृमणी र राजपत्नी नै भएर जन्मिए । कुक्कुटी ब्राहृमणीका पाँच भाइ छोरा भए भने मर्कटी रानीका छोरा भएनन् । बडो कष्ट भयो । तर दुवैलाई पूर्वजन्मको स्मरण हुन्थ्यो । मर्कटीले कुक्कुटीका छोराहरू मार्न लगाएर तिनका टाउका पोको पारेर वायन (भेटी)का रूपमा कुक्कुटीलाई दिइन् । यता कुक्कुटीले अदुःख नवमीमा भवगवतीको व्रत गरी पूजा गरेर वायनका रूपमा साथीले दिएको पोकोपारेको उपहार सम्झझिएर आफ्ना छोराका टाउका साथीका विश्वासले पोको नखोलिकन अर्पणगरिन् । व्रतका प्रभावले भगवतीले ती काटिएका शीरबाट कुक्कुटीका छोराहरू बचाइदिनुभयो र वायनका स्थानमा सुनका टाउका बनाइदिनुभयो । अनि ती कुक्कुटी ब्राहृमणीले आफ्ना पतिलाई दिएर आनन्द पूर्वक रहन थालिन् ।

उता मर्कटी रानीलाई आफूले मराएका कुक्कुटीका छोरा बाँचेको देखेर डाह र पीडा उत्पन्न भयो । ऊ रुन र चिन्ता गर्न लागिन् । पछि उनलाई पश्चात्ताप भयो र कुक्कुटीसँग गएर सबैकुरा भनिन् । कुक्कुटीले पनि उसप्रति कुनै दुर्भावना नलिइकन तिनै छोराहरूद्वारा प्रायश्चित्त गर्न लगाइन् । मर्कटीले पनि प्रायश्चित्त गरेर अदुःख नवमीका दिन भगवती गौरीको आधना गरिन् । अनि भगवती प्रसन्न भएर मर्कटी रानीलाई पनि छोरा दिुनुभयो । त्यसपछि अदुःख नवमीका व्रतका प्रभावले दुवैको दुःख दूर भई कुक्कुटी एवं मर्कटी दुवै आनन्द पूर्वक रहन थाले भन्ने प्रसंग स्कन्द पुराणमा उल्लेख छ । त्यसकारण अदुःखनवमीका दिन श्रद्धा एवं भक्तिपूर्वक भगवती गौरीको आराधना गर्दा पशु योनिमा प्राप्त भएका कुक्कुटी र मर्कटीहरूको दुःख हट्यो । अनि बालहत्या एवं ब्रहृमहत्या जस्ता जानअञ्जान गरेका कर्म मर्कटी जस्ता पापिनीलाई पनि भगवती माताले अनुकम्पा गरी सम्पूर्ण दुःख हटाएर सुख सम्पन्न गराउनुभएको हुँदा सविस्तार प्रसंग हो । भगवती गौरीमाताले सम्पूर्ण दुःख नास गरेर यस लोकमा सुख समृद्धि प्रदान गरी परलोकमा कल्याणमय मोक्षपद समेत प्रदान गर्नुहुनेछ । ॐ हरये नमः ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *