काठमाडौं । चलचित्र ‘होस्टेल-३’मा अभिनेता आर्यन सिग्देल अनुबन्धित हुनुभएको छ । निर्माण पक्ष र सिग्देलबीच सम्झौता भएको हो । आर्यन यो चलचित्रमा महत्वपूर्ण ‘वार्डेन’को भूमिकामा देखिनुहुनेछ ।
सशान कँडेलको निर्देशन रहने यो चलचित्रमा आर्यनसँगै अभिनेत्री परीक्षा लिम्बु पनि अनुबन्धित हुनुभएको छ । होस्टेल-३ आगामी फागुन १६ गते विश्वभर एकसाथ रिलिज हुने तयारीमा छ । बुधबार जापान, मध्यपूर्व र मलेसियाका लागि चलचित्रको वितरण अधिकार बिक्री भइसकेको छ । जापानका लागि यूएनए इन्टरटेन्मेन्टका उज्ज्वल गुरागाईंले वितरण अधिकार लिनुभएको छ भने मध्यपूर्व र मलेसियाका लागि आशिष पुरुषले वितरण अधिकार लिनुभएको छ ।
चलचित्रमा आर्यन र परीक्षासँगै ‘कुल ब्वाय’ अर्थात् पारस बम, रिहान गिरी, आशिष घिमिरे, पदम तामाङ, सिम्रन पन्त, हेना नगरकोटी, उमर खान, समा पराजुली, सन्तोष बानियाँलगायत कलाकारहरूले अभिनय रहने जनाइएको छ ।
होस्टेल शृंखलाले नयाँ स्टारहरू जन्माउनेको रूपमा ख्याति कमाएको छ । पहिलो होस्टेल चलचित्रबाट अनमोल केसी, सलोन बस्नेत, प्रकृति श्रेष्ठले डेब्यु गर्नुभएको थियो भने होस्टेल रिटन्र्सबाट स्वस्तिमा खड्का, सुशील श्रेष्ठ, नजिर हुसेन, सुशील सिटौला जस्ता कलाकारले डेब्यु गर्दै नेपाली चलचित्रमा सफलता हासिल गर्नुभएको छ । विसं २०७० सालमा रिलिज भएको होस्टेल र २०७२ मा रिलिज भएको होस्टेल रिटन्र्स घरेलु बक्स अफिसमा सफल भएका थिए ।
होस्टेल-३ को स्क्रिप्ट माधव शर्माले लेख्नुभएको हो भने कथा निर्देशक कँडेलकै हो । यसलाई सम्मान इन्टरटेन्मेन्टले आरोन कन फिल्मससँगको सहकार्यमा निर्माण गर्दै छ । कार्यकारी निर्माता शंकर कोइराला, निर्माता कर्ण कार्की र गोविन्द अधिकारी रहनुभएको छ । यस्तै, सह निर्मातामा सुधा मरहठ्ठा, सुरेश कँडेल र अर्जुन सापकोटा हुनुहुन्छ भने लाइन प्रोड्युसर भेषराज गौतम रहनुभएको छ ।