✍️ निरञ्जन मैनाली
राणाशासनविरुद्ध कांग्रेसले सस्शत्र युद्ध गरेको थियो । २०१८ सालमा हतियार उठाएको इतिहास छ । यसैगरी २०२८ सालमा एमालेले झापा विद्रोह गरेको थियो । देशमा आमूल परिवर्तका लागि बेलाबेलामा सस्शत्र संघर्ष हुनेगरेका छन् । यो हाम्रो देशमा मात्र होइन विश्वका धेरै देशमा निरकुंशताका विरुद्ध जनताले हतियार उठाएका छन् । यस्तै नेपालमा पनि २०५२ सालमा माओवादीले आमूल परिवर्तनको नारा दिँदै सस्शत्र संघर्ष गर्यो ।
नेकपा-माओवादीले यस आन्दोलनलाई २०५२ फागुन १ गते नेपाली राजतन्त्रलाई समाप्त र जनगणतन्त्र स्थापना गर्ने लक्ष्यका साथ सुरुवात गरेको थियो । यसकै जगमा २०६२/०६३ सालमा भएको शहर केन्द्रीत आन्दोलनबाट देशमा परिवर्तन भयो । विसं. २०६३ साल मंसिर ५ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेसँग युद्ध समाप्त भएको थियो ।
राज्य र विद्रोही पक्षबीच विस्तृत शान्ति सम्झौतालाई स्वीकार गरेर नै आजको अवस्थामा आएका छौं । तत्कालीन अवस्थामा देशी–विदेशी शक्तिले विस्तृत शान्ति सम्झौतालाई स्वागत गरेको भुल्न मिल्छ र ? संविधानसभाबाट जनताको संविधान प्राप्त भएको हुनाले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालले पहिलो पटक शोषित पीडित आदिवासी सीमान्तकृत महिला मुस्लिमलगायतलाई राजनीतिक अधिकार स्थापना भएको हो । यो सबैका लागि खुशीको कुरा होइन र ?
महान् जनयुद्धबाट प्राप्त उपलब्धिलाई निस्तेज पारेर कसको गुलामी गर्न खोजिँदै छ, सोचनीय विषय छ । सबैले महान् भन्नुपर्ने विषयमा गरिमामय संसद्मा तुच्छ रूपमा प्रस्तुत हुनाले यिनैलाई कुरी कुरी गरेको जस्तो लाग्दैन र ? आफ्नो बहुमत छ भन्दैमा ठूला दलले दम्भ देखाउन मिल्छ ? हिजो ज्ञानेन्द्रको शासन कालमा माओवादीसँग सम्झौता गरेर आन्दोलन गरेर आज यो उपलब्धि नभएको भए यिनीहरूको हैसियत कहाँ हुन्थ्यो होला ? व्यवस्थालाई खिसिट्युरी गर्ने अधिकार कसैलाई पनि छैन । हिजोका कुरा भुल्दै गएमा हाम्रो अस्तित्व कहाँ पुग्ला समयमै सोच्ने कि ? कुनै अमूक दललाई एक्कै छिन छिर्के हानेर के जातिको ....न्यानो भने जस्तै नहोस् । महान् शहीदको अपमान नगरौ । हिंसा होइन जनयुद्धलाई गर्व गरौ । सबैले यसको स्वामित्व लिन ढिला नगरौ ।
माओवादीले दश वर्षे जनयुद्ध नगरिदिएको भए आज आफ्नो हालत कस्तो हुन्थ्यो होला जनयुद्धलाई हिंसा देख्नेहरूले एक पल्ट सोच्ने कि ? यत्रो महान् उपलिब्धका हकदारहरूलाई बहुमतको दम्भमा जबरजस्ती पेलेर लान खोज्नु दुर्भाग्यपूर्ण हो । बारा कोल्हवी, हाल काठमाडौं ।