विषय प्रवेश
कविता भन्नेबित्तिकै चेतन मनभित्र उब्जने अन्त्यविहीन शृंखलाका प्रादुर्भावको स्पन्दन हो । जब मानिसले हावाको झोँकामा, खोलाको सुसाइमा, बादलको परिमिलन र फटाइमा, न्याउली र डाँफेको भाकामा गीत र कविता देख्न र सुन्न थाल्दछ ऊ कवि बन्दछ भनिन्छ । प्रकृतिले चेतन मानिसलाई मात्र होइन हरेक सृष्टिलाई कविका रूपमा प्रकट गरेको छ यसैले हरेकका अन्तस्करणमा कवि हृदय लुकेको छ, तर मानिस धर्मको तंखवलाई गुफाको अन्धकारमा विलुप्त गराएर समस्याको समाधान भयो भन्ने प्राणी भएर पनि होला, बाहिरी रूपमा हेर्दा जसले आफ्नो अन्तस्करणमा लुकेको कवितालाई आत्मसात गर्छ र अक्षरमा उतार्छ उसलाई मात्र कवि भनेर स्वीकार गर्दछ । कस्तुरीले आफूभित्र निहीत विनालाई नचिनेर यत्रतत्र दौडेझैँ आफूमा निहीत कवित्वलाई जसले चिन्दैन र प्रस्फुरण गराउन सक्तैन ऊ श्रोता, पाठकमात्र मानिन्छ तथापि चेतन, अवचेतन आफूभित्र रहेको कवित्वले ऊ साहित्यको सेराफेरोबाट बाहिर जान सक्तैन र यसमै श्रोता, पाठक भएर आबद्ध रहन्छ ।
हुन त कविता शब्दमा सजिएको श्वैरकल्पित अभिव्यक्ति हो भन्दा अतिशयोक्ति पनि नहोला । यसलाई कविद्वारा रचना गरिएको कर्मको प्रतिफलका रूपमा स्वीकार र ग्रहण गरिनु आफैंमा वाञ्छनीय छ । जब कला र भावले युक्त मनोवेग शब्दका रूपमा (पद्यात्मक वा गद्यात्मक रूपमा) प्रकट हुँदै वाक्यमा तरंगीत भएर मूर्धन्य बन्दछ तब एकप्रकारको सिर्जना सिर्जित हुन पुग्छ र कविताको रूपमा प्रकट हुन्छ । कविताको भाकालाई पूर्वदेखि पश्चिमसम्मका विभिन्न विद्वान्हरूले वर्षौंवर्षौदेखि विविध प्रबन्धमा परिभाषित गरेको पाइन्छ ।
प्रवासमा बसेर पनि देशभित्र भइरहेको विविध गतिविधिको सूक्ष्मातिसूक्ष्म विषयवस्तुलाई उजागर गरेर कविता लेख्नु आफैंमा एक प्रशंसनीय कर्म हो । यो आफैंमा रचनाकारको वैशिष्ट्यता पनि हो । यस कृतिका कविता पढ्दा कवि माया प्रवासमा बसे पनि देशको सेराफेरोमा घुमिरहेको आभास हुन्छ । सरल भाषा, सरल अभिव्यक्ति मायाको कविताको विशेषता हो ।
पूर्वीय शास्त्रीहरू भामह, विश्वनाथ, आनन्दवर्धन र दण्डीले क्रमशः कविता वा काव्यलाई आ-आफ्नै शैलीमा शब्द र अर्थले संयुक्त रुप काव्य हो, रसात्मक वाक्य नै काव्य हो, चमत्कार युक्त अर्थ रूप ध्वनि नै काव्य हो र सुन्दर अर्थयुक्त पदावली नै काव्य हो भनेर परिभाषित गरेका छन् भने पाश्चात्य विद्वान्हरू वर्डस्वर्थले कविता स्वतःस्फूर्त सस्शक्र अभिव्यक्ति नै कविता हो भनेका छन् भने मैथ्यु अनार्ड, स्यामुल जोन्सनहरूले जीवनको समालोचना गण मिलाइएको संरचना नै कविता हो भनेका छन् । कविता विधा विश्वमै सबैभन्दा बढी लेखिने विधा हो तथापि यसलाई निर्विघ्न अविरल बगिरहने सरिताको बहावझैँ यो लेखेर सकिन्न यसलाई पढेर पार लाइन्न ।
लेखक परिचय
स्याङ्जाको सिरुबारी पञ्चमूलमा पिता दानबहादुर गुरुङ र माता भीमकुमारी गुरुङकी सुपुत्रीका रूपमा जन्मिएकी माया गुरुङ सन् नब्बेको दशकदेखि नै कविता विधामा प्रस्फुरित कवियत्री हुन् । उनको पहिलो काव्यकृतिका रुपमा जिन्दगी कवितासङ्ग्रह र अन्य फुटकर कविताहरू विभिन्न पत्रपत्रिकामा प्रकाशित भएका छन् । गुरुङले राधा फाउन्डेशन नेपालद्वारा नारी रजस्वलासम्बन्धी अन्तर्राष्ट्रिय कविता प्रतियोगितामा दोस्रो पुरस्कार पाएकी छन् भने अन्य विविध प्रतियोगितामाहरूमा पनि सम्मान र पुरस्कारहरू प्राप्त गरेकी छन् । पद्मकन्या क्याम्पस कामाडौंबाट मानविकी तथा समाजशास्त्रमा स्नातक र टिचर ट्रेनिङ सर्टिफिकट तथा विभिन्न तालिमबाट दीक्षित मायादेवी जीविकोपार्जनका सिलसिलामा स्कुल शिक्षिका, आर्मी स्वास्थसेवामा सहायक नर्स र एकाउन्ट फर्ममा सेवा र भिन्नभिन्न अनुभव हासिल गरेर आफूमा निहीत दक्षताको उपमेय उदाहरणका रूपमा आफ्नो मर्यादालाई कायम राख्न सफल भएकी छन् । नारीलाई यसै पनि कमजोर ठान्ने हाम्रो संस्कार र परिवेशमा नारीले घरबाहिर काम गर्न भित्री रूपमा अवश्य पनि त्यति सजिलो छैन जति बाहिरी रूपमा देखिन्छ ।
विदेशी भूमिमा गरिने कामहरू यसै पनि मनभन्दा आवश्यकता उपज बन्दछन् । प्रवासमा गएर काम गर्न यसै पनि असहज त छँदैछ त्यस सँगसँगै साहित्य साधना गर्न र सामाजिक अभियन्ता बन्न जो कोहीबाट हुने कर्म अवश्य होइन । मायालाई पनि पटक-पटकका विविध रूपमा प्रकट भएका बाधाहरूले अल्झाउन नखोजेका होइनन् तथापि मायाभित्र लुकेको प्रतिभाले उनलाई केवल घर र नोकरीका परिधिभित्र मात्र लुकेर बस्न दिएन तसर्थ उनी अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजमा संलग्न भएर त्यसको पूर्वकेन्द्रीय सदस्य र वर्तमानमा बेलायत च्याप्टरको उपाध्यक्षसमेत बन्न सफल भएकी छन् । हङकङ, ब्रुनाई, भारत, सिंगापुर मलेशिया भ्रमण गरिसकेर माया वर्तमानमा वेलिङ्, केन्ट बेलायतमा स्थायी बसोवास गर्दछिन् ।
ऐनाका कविताभित्र
ऐना कवितासंग्रह कवि माया गुरुङद्वारा सरल र प्राञ्जल भाषा शैलीमा सिर्जित पैँतालीस कविता गुञ्छहरूको पुञ्ज हो । साहित्यकार तथा कुशल सम्पादक रमेश दाहालद्वारा सम्पादित यो संग्रहभित्र छिरेर अध्ययन गरिरहँदा पाठकलाई हरेक कवितामा सामान्य, असामान्य दुई रूप प्रकट भएको आभास हुन्छ । झट्ट पढ्दा सामान्य लाग्ने कविताहरू जतिजति पढ्दै गयो उतिउति बाचाल बन्दै गएको आभास हुन थाल्दछ । कुनै पनि कृतिको गुहृयभाव बुझ्न त्यसभित्रका रचनामा अवश्य डुब्नुपर्दछ ।
कवि मायाले आफ्ना कृतिको सुरुवात ‘प्रार्थना’ कविताबाट गरेकी छन् । प्रार्थना शब्द आफैंमा प्रवित्रताको प्रतीक हो । सफलताको मार्गप्रशस्त गर्ने सोपान हो । हाम्रा पूर्वीय समाजका आदिकविहरू कालिदास भारवीहरूले पनि आफ्ना काव्य महाकाव्यको सुरुवात प्रार्थनाबाट गरेका छन् । कालिदासले रघुवंश महाकाव्यको सुरुवात ‘जगतः पितरौ वन्दे पार्वतीपरमेश्वरौ’ भनेर शिवपार्वतीको प्रार्थना (आराधना) बाट सुरु गरेका छन् । यहाँ मायाले पनि त्यही मार्गलाई अवलम्बन गर्दै ‘शारदाले दिउन् सद्बुद्धि’ भनेर सरस्वतीको आराधनाबाट आफ्नो कृतिको सुरु गरेकी छन् ।
हुनत मायाले पूर्वीय साहित्यका कृति पढेकी छन् या छैनन् म यकिन साथ भन्न सक्दिनँ तर हिमालबाट बगेर आएको कोशीको पानीलाई तराईमा ग्रहण गर्दा पनि हिमालका जडिबुटीको बास्नाको आभास भएझैँ देवकोटा, लेखनाथका कविताहरूबाट हाम्रो दर्शनको आस्वाद अवश्य लिएको हुनुपर्दछ । यसबाट बिहानले दिन देखाउँछ भनेझैँ मायाका कविताहरू अझ यो सम्पूर्ण कृति पूर्वीय दर्शन र संस्कृतिभित्रको प्रवोधकको रूपमा यहाँ प्रस्तुत भएको छ भन्दा अतिशयोक्ति नहोला । आज प्रवासमा पुग्नेबित्तिकै आफ्नो धर्म र संस्कारलाई बिर्सन खोज्नेहरूलाई झक्झक्याउन मायाको यो पहिलो कविता नै काफी छ । यो कवितामा माया एक कविमात्र नभएर एक शिक्षिका एक अविभावका रूपमा प्रकट भएकी छन् । आजको युद्धपिपासु संसारले बिर्सन खोजेको पञ्चशील र बुद्धवचनको मर्मलाई उनले प्रखर रूपले उजार गरेकी छन् । जुन वर्तमान परिपेक्षमा अत्यन्त सापेक्ष्य छ ।
पञ्चशीलका कुरा
मनमा सबैले लिउन्
हत्या, हिंसा, असत्य
कुकृत्य सबैले त्यागून्।
साधारण शब्दमा असाधारण भनाइ । हो, पञ्चशील शान्तिमार्गको अचुक अस्त्र हो । आध्यात्मचिन्तनले परिपूर्ण यो कवितामा मायाले बुद्धवचनलाई सूत्रमा आबद्ध गर्दै विश्वलाई एक परिवार र समस्त मानवलाई एकै परिवारका बन्धुवान्धवको रूपमा आबद्ध हुन कवितामार्फत यसरी आहृवान गरेकी छन् ।
संसार एउटै विशाल
परिवार यो ठानी लिउँ
सबै धरती मानवलाई
दाजुभाइ मानी लिउँ ।
हो, मायाको मार्गमा चल्यो भने संसार कति सुन्दर कति शान्त होला ! प्रवासमा बसेर यस प्रकारको सन्देश प्रवाह गर्ने कवि विरलै पाइन्छन् । त्यसका लागि कवि धन्यावादकी पात्र छिन् ।
विश्वको जुनसुकै कुनामा गए पनि मानिस आफ्नो संस्कार संस्कृति र भाषाबाट अलग रहन सक्दैन । अझ भन्ने हो भने अघिअघि मानिस र पछिपछि संस्कार संस्कृति एक-अर्काका पूरकका रूपमा सँगसँगै रहन्छन् । यस कृतिमा समावेश भएको मायाका दोस्रो कविता ‘सरस्वती स्तुति’ समर्पण अनुनय र स्तुतिमा आधारित छ । उनको यो कविता पढ्दा मलाई बाल्यकालमा धरानमा बिहान पूजा गरेर भगवान्सँग आफ्नो इच्छापूर्तिका लागि लम्पसार परेको र प्रत्येक वर्ष गरिने सरस्वतीपूजामा ‘पढ्न आओस्’ भन्दै स्कुल स्कुल कुदेको आफ्नै अतीतले कुत्कुत्यायो । मलाई यो कविता आफ्नो अतीतको गीत लागेझैँ मायालाई पनि सायद परायाभूमि बेलायतमा यो कविता सिर्जना गर्न सरस्वतीपूजाको दिनको बिहानीले स्फूरण गराएको आभास हुन्छ । कविले कवितामा पटक-पटक गरेका अनुनयले पनि यही भाव प्रकट गर्दछ ।
विद्याकी खानी वरदायिनी
तिम्रो महिमा छ अपरम्पार
बुद्धि विवेक समभाव भर
भनी आएँ यो ज्ञानद्वार ।
विश्वमा सबैभन्दा पवित्र र धेरै सम्बोधन हुने शब्द नै ‘आमा’ शब्द हो भन्दा अतिशयोक्ति नहोला । चाहे पूर्वीय समाज होस् वा पाश्चात्य समाज होस् सबैले आमाको महत्वलाई व्यापकता दिएका छन् । ‘जननी जन्मभूमिश्च स्वर्गादपी गरियसी’ सायद हामीले धेरै सुनेको श्लोक मध्येको हुनुपर्दछ । मानिसको आमासमान कुनै छायाँ हुँदैन, कुनै आश्रय हुँदैन, कुनै सुरक्षा हुँदैन र आमासमान संसारमा कोही जीवनदाता हुँदैन भन्ने मान्यताको पृष्ठपोषक हो । आमाका विषयमा संसारमा कति कविता, कति कृति लेखिएका छन् त्यसको चर्चा नगरे पनि गोर्कीको कृति ‘आमा’लाई उल्लेख गर्न यहाँ समीचीन नै होला । कवि मायाले समष्टिमा ममताकी सागर आमालाई मातातीर्थको अवसरमा सम्झिएर लेखेको यो कविताले हरेको मनलाई छुने अपेक्षा गर्न सकिन्छ ।
मातातीर्थ पर्व पुज्य आमाको सम्झनामा
आमाभन्दा प्रिय वस्तु नै छैन यो संसारमा
माता जननी महातारी तिमी विशाल धरती
माया ममता संरक्षण दिने देवीको प्रतिमूर्ति ।
आमाका बारेमा एउटा सन्ततीले गर्ने सम्मान र उद्गार यहाँभन्दा धेरै के होला र ? कविले प्रकृतिप्रति आभार प्रकट गरेको शैलीमा सिर्जित प्रकृति कविता आफैँमा अनुपम कविता हो । वसन्तऋतुको आगमनसँगै खुलेको आकाश, चेरीको मुस्कान देखेर पुलकित कविमन यहाँ भावनामा बगेको छ । प्रकृतिप्रति आभार प्रकट गर्दै कवि यो कवितामा यसरी पोखिन पुग्छिन्-
प्रकृति,
तिमी मिजासिलो
भइदियौ फेरि
र पो मेरो चेरीले
जीवन पाएकोछ
मैले सुम्सुम्याउँदा
टेरबतास नगर्ने चेरी
मुस्कुराउन थालेको छ ।
अन्त्यमा कवि प्रकृतिको प्रशंसा गर्दै ‘प्रकृति धन्य छौ तिमी अद्भूत छौ तिमी’ भनेर भाव प्रकट गर्दछिन् ।
‘नयाँ वर्षको शुभकामना !’ र ‘ल्होछारको शुभकामना’ शीर्षकका यी दुई कवितामा कविले नयाँ वर्षको आगमनको उल्लासमय वातावरणमा शुभकामना आदान-प्रदानको परम्पराको जीवन्ततामा प्रकाश पारेकी छन् । हरेक नयाँ वर्षलाई विगतभन्दा राम्रो सन्देश बोकेर आउने अतिथीको रूपमा स्वागत गर्ने विश्वव्यापी परम्परा छ । विश्वका अधिकांश मुलुकले न्चभनयचष्बल अबभिलमबच अनुसार १ जनवरीलाई नव वर्षको रूपमा मानाउने गर्दछन् । तथापि चिन, नेपाल, इरान, इजरायल आदी देशहरू भने यसको अपवादमा आफ्नो पात्रोअनुसार पृथक् नयाँ वर्ष मनाउने गर्दछन् ।
प्रवासमा गएर काम गर्न यसै पनि असहज त छँदैछ त्यस सँगसँगै साहित्य साधना गर्न र सामाजिक अभियन्ता बन्न जो कोहीबाट हुने कर्म अवश्य होइन । मायालाई पनि पटक–पटकका विविध रूपमा प्रकट भएका बाधाले अल्झाउन नखोजेका होइनन् तथापि उनीभित्र लुकेको प्रतिभाले केवल घर र नोकरीका परिधिभित्र मात्र लुकेर बस्न दिएन ।
नयाँ वर्षको आगमनलाई पृथक् पृथक् नाम चिन लुनार, इजरायल रोस हसनाह, इरान नउरुज, वा चाइनिज, इस्लामिक, तमिल, ग्रेगारियन जेविस जे नामले पुकारे पनि यो विश्वभर मनाइने चाड भने अवश्य हो । नेपालमा नयाँ वर्ष समस्त नेपाली र ल्होछार विशेषत शेर्पा, गुरुङ र तामाङ जातिहरूले उत्सवका रूपमा मनाइने चाड हो । ‘परोपकार पुण्याय पापाय पर पीडनम्’ वेदवचन, अथवा बुद्धवचन यसैको सेरोफेरोमा परिक्रमात्मक देखिन्छ ‘नयाँ वर्षको शुभकामना’ कवितामा कविले पनि यही कुरालाई यस प्रकारले व्यक्त गरेकी छन् ।
करूणा र माया हृदयमा भर
स्वर्गसरि हुन्छयही नै धरा
सुन्दर बनून् सबका जीवन
नयाँ वर्षको छ शुभकामना ।।
त्यस्तै ल्होछारको शुभकामना कवितामा पनि कविले सत्यं शिवं सुन्दरंको मर्मलाई यसप्रकार प्रदीप्त गर्दै लेखनीबद्ध गरेकी छन् ।
शान्त र सुखी उज्याला सुदिन
सबैको खुसी यही नै चाहना
मुटुभरिको यही छ कामना
ल्होछारको छ शुभकामना ।
‘ऐना’ छोटो तर सारगर्भित कविता । यस कवितावाट के प्रष्ट हुन्छ भने लेखाइको सार आयतनमा होइन सारमा हुन्छ । कुनै मानवको बाहृय आकृतिमात्र उसको पहिचान होइन । बाहृय आकृति त केवल उसको भौतिक पहिचान हो । भौतिक देह केवल दिवार हो जड त अन्तरात्मामा छ । अन्तरात्माको अंश नियति हो । यही कुरालाई आत्मसात् गर्दै कविले यस कवितामा ऐना रूपी कृत्रिमताले पूर्ण जगलाई प्रश्न गर्दै लेख्छिन्-
‘एद्रऐना ! अनुहार होइन
मलाई मान्छेको
नियत देखाई देउ.....।
.......... हाँस्नुपर्ने मान्छेले
आँसुले मुहार
धुन किन पथ्र्यो र ?
कविको ‘लौरा’ एक प्रतिबिम्बात्मक कविता हो । कवितामा कविले एक निष्प्राण लौरोलाई मानविकीकरण गरेर बाचाल बनाएकी छन् । सत्य, रज, तम तीनै गुणको सम्मीश्रणबाट मानिस स्वभाव बनेको हुन्छ तसर्थ यी तीनै गुण मानवमा निहीत हुन्छन् । यस कवितामार्फत कविले उपकारी गुणी चिरपर्यन्त जीवित रहन्छ भन्ने कुरालाई दर्शाएकी छिन् । समय गतिशील छ । गतिशील समय सँगसँगै दौडने सत्य, रज, तम तीनै गुणको सम्मीश्रणबाट बनेको स्वार्थी मानिस झनै गतिशील हुन खोज्दछ र यो भागदौडको क्रममा हिजोका आफ्ना सहारासम्मलाई बिर्सिन पुग्छ यही मार्मिक पक्षलाई कविले लौरोमार्फत सजीवझैँ उद्दृत गरेकी छन् यस कवितामा-
यही खोला तरेर जानेले
फर्केर आउँदा
म लौरोलाई देख्तै देखेन
किनकि अब तिनीलाई
लौराको जरूरत भएन
तर म, स्वभावैले एउटा लौरो
मविल्कुल लौरो नै भएर बाँचिरहन्छु
र, सदैव लौरो नै हुन चाहिरहन्छु ।
‘चिनारी’ कविता पढ्दा कविले आफ्नो जन्मभूमि नेपाल र नेपालीको परिचय दिँदै नेपाल बुद्धको देश शान्तिका देश भनेर विगुल फुकेको प्रतीत हुन्छ । आफ्ना देश आफ्नो जन्मभूमिप्रति लेखिएका कविता पढ्न पाउँदा को गौरवान्वित हुदैन र ? यो कविताको यी पंक्तिहरू रचना गर्दैगर्दा कवि मायाको मन कति आत्मविभोर भएर पोखिएको होला ? यसको अनुभूत केवल पारखीबाट मात्र हुनसक्ला ।
विश्वको शिरको टोपी मेरा सगरमाथा
गोर्खालीले चिनाएको वीरताको गाथा
गर्व लाग्छ नेपाली हुँ बुद्ध जन्मेको देश
विश्व शान्ति फैलाउने उादशएको देश ।
कविद्वारा लेखिएको ‘अगुवा’ शीर्षको कविताले आज देशभित्र विकराल रूपमा झागिंएको विकृति र विसंगतिको पर्दाफास गरेको छ जुन कुरा आजको परिवेशमा अति आवश्यकमात्र होइन अपरिहार्य पनि भएको छ । छिचिमिरासरि अगुवाका रूपमा उम्रिएका नेपाल आमाका गद्दार सन्ततीलाई मायाले गरेको यो यक्ष प्रश्न आज समस्त समाजको प्रश्न हो जो आफैंमा सान्दर्भिक पनि छ ।
सधैं कसै न कसैको मनलाई प्रहार गरिरहने
मैका खोजी खोजी अर्काको स्वाभिमान
व्यर्थ कुल्चिरहने र
त्यसमै आनन्द मानिरहने
आफूजस्तै एउटा समूह बनाएर
भित्रभित्रै धमिरा लगाएर
माया र छायाँ दिने
रूखहरू ढालिरहने
तिमीलाई म कसरी अगुवा मानौँ ?
गरिबी विभेदताको जड हो । जहाँ गरिबी हुन्छ त्यहाँ अशिक्षा हुन्छ । हाम्रोजस्तो अशिक्षित मुलुकमा अद्यापि छोरा र छोरीबीचको विभेदताको रेखा मेटिएको छैन । त्यही रेखा मेट्न प्रयत्नशील कवि ‘नगर विभेद’ शीर्षकको कवितामार्फत समाजलाई सचेत गर्ने यत्न गर्छिन् ।
उस्तै हो छोरा, उस्तै हो छोरी केही छैन फरक
नबनाऊ कुँजो बन्धनमा राखी फुकाई देऊ सरक्क ।
प्रेम र विछोड घाम र पानी अझ गहिरिएर भन्ने हो भने काया र छायाजस्तो । प्रकृति वसन्तमा फक्रिएझैं मानवजीवन यौवनमा फक्रन्छ अनि क्रमशः प्रेमको रापमा पग्लन्छ अनि गल्दागल्दै विछोडको रापमा सेकिन पुग्छ यसैको सेरोफेरोमा लेखेकी छन् कविले ‘अलमल’ कविता यस प्रकार छ-
अब त माया र भरोसाको
सिलो खोजेर पाइँदैन
अब त भैगो मलाई,
सापटी मागेर
उधारो खुसीहरू चाहिँदैन ।
यस कृतिमा सम्लित ‘दशैँ’ र ‘तिहार’ दुई कविताहरू नेपाली जनजीवनसँग अन्योन्याश्रित सम्बन्ध भएका कविता हुन् । जात धर्मबाट माथि उठेर प्रत्येक नेपालीले दशैँ, तिहारलाई चाडपर्वका रूपमा मनाउँदछन् । स्वदेशमा धुमधामसँग मनाइने यी चाडहरू नजिक आउँदा हरेक प्रवासीले आफ्नो मातृलाई सम्झन पुग्छन् र ती चाडको रमाइलोको यादमा मर्माहत बन्न पुग्छ । यी कविताहरूमा पनि कवि माया आफूले बिताएका अतीतका चाडका दिनहरूलाई सम्झँदै प्रवासमा यसरी सुस्केरा हाल्न पुग्छिन् । वास्तवमा यी मायाका कविता यथार्थपरक छन् भन्दा किमार्थ अतिशयोक्ति हुँदैन ।
दशैँ त यसपालि पनि
आयो नि आमा !
दशैँ त यसपालि पनि
आयो नि आपा !
तर उस्तै खुसी र हर्ष-उमंगका
लहरहरूले मेरो मनको ढोका खोलेन ।
‘महाकवि’, ‘पारिजात’ र ‘महानन्द’ यी तीन नेपालका व्यक्तित्वमाथि लेखिएका कविताहरू हुन् । परिचय र जीवनीशैलीमा लेखिएका यी कवितामा सरल भाषामा कवि मायाले थोरै लेखेर धेरै सङ्केत गरेकी छन् । महाकवि कवितामा मायाले देवकोटाको जीवनीको बारेमा यसरी कलम चलाएकी छन्-
.......लेख्दथे उनी द्रुतगतिमा,
कविता, महाकाव्य र कथाहरू ।
नेपालीकै जनजीवनका,
दुखेका मनका व्यथाहरू ।।
उनका सबै कृतिहरू,
अनमोल र अमर छन् ।
शब्द-शब्दले मुटु छुने,
मुनामदन अमर छन् ।
कविले साहित्यकार पारिजातको जीवनीदेखि आद्योपान्त लेख्ने क्रममा आफ्नो भाव यसरी पोखेकी छन्-
स्वाभिमानी, निष्ठावान् स्वभावकी धनी
साहित्यमै लागिरहृयौ अशक्त भएर पनि ।
शोषित, पीडित सब जनता र समाजको
हितमा लाग्यौ चेतना दिएर जागरणको ।
त्यसैगरी साहित्यकार भाषाशास्त्री ‘महानन्द’को बारेमा उनले जीवनीकै शैलीमा यस प्रकार लेखेकी छन्-
शिक्षाप्रेमी, भाषाशास्त्री,
पत्रकार पनि हुन् कविवर ।
मानवता र राष्ट्रका लागि,
गरे प्रचार उनले जीवनभर ।।
साना–ठूला जातपात भन्दै,
भेदभाव गर्न हुन्न भनी ।
सबैभन्दा ठूलो कुरो त,
मानवसेवा हो भन्ने जानी ।
यात्री कवितामा समयक्रमसँगै मानिसको विचारमा आउने परिवर्तनलाई कविले मधुर सम्प्रेषणमार्फत उजागर गरेकी छन् । अझ उनले एउटा दयालु मन अर्थात् काँडालाई फूल देख्ने मन कसरी परिवर्तन हुन्छ ? यो प्रश्नको उत्तर यो कवितामार्फत दिएकी छन् भन्दा अतिशयोक्ति नहोला ।
तर अफशोच !
काँडालाई प्रेमले
फूल देख्दादेख्दै
कुन बेला म आफैं
काँडा बनिसकेछु
पत्तो नै भएन हजुर
कुन बेला म आफैं
काँडा बनिसकेछु ।
उनको यो कविताले ‘कुसङ्गो सङ्ग दोषेन साधु जानाति विग्रह’ भन्ने उक्तिलाई चरितार्थ गरेको छ ।
‘प्रश्न’ कवितामा बालसुलभ मनको भावना पोखिएको छ । अद्यापि छाउपडी प्रथा रहेको मुलुकमा यो प्रश्न आम बालिकाका मनमा उब्जने यक्ष प्रश्न हो । नारीहरूको मासिकधर्मको बारेमा समुचित शिक्षाको कमी नै यसको जड हो । दाजुभाइ दिदीबैनीसँग खेल्दाखेल्दै हठात् उसको सोचाइमा अकारण कोठाभित्र पस्नुपर्ने बाध्यतामा कुन बालिकाको मनमा आघात नपर्ला ? यही प्रश्नको उत्तर खोज्ने क्रममा माया भन्छिन्-
पाप लाग्छ रे ठूलो
भान्सामा गएँ भने
पूजाकोठा र चोटामा पुगेँ भने
त्यसैले त मलाई
आफ्नै घरमा पनि बन्देज
लगाइएको छ ।
एउटा सानो कोठामा
आफैंलाई लुकाउनु नै
बाध्यता भएको छ ।
यसै गरेर उनी आमाका नाममा जगत्लाई थप प्रश्न गर्छिन्-
उहिल्यै
माता दुर्गा र देवी सरस्वती
माता लक्ष्मी र देवी पार्वती
पर सर्दा अँध्यारा कोठामा
बसे कि बसेनन् होला ?
उनका कुलका देवीदेवता
रिसाए कि रिसाएनन् होला ?
कविता ‘भावनाको खोलीमा’ एक प्रवासीको मनमा मातृभूमिप्रति उब्जिएको असीम मायाको द्योतक हो । मानिस मातृभूमिबाट जति टाढा पुग्छ त्यति नै उसको मन मातृभूमिसँग नजिक हुन्छ । यही भावनाले ओतप्रोत प्रतीकका स्पमा मायाले यो कविता रचना गरेकी छन् । जुन पठनीय र मननीय छ ।
नेपाली भाषा हो,
सिंगो नेपालको पहिचान ।
अनेकतामा एकता,
हाम्रो राष्ट्रिय स्वाभिमान ।।
‘भ्रमको खेती’ कविता भ्रमको खेतीको भरमा मोटाएर सच्चा देशप्रेमीविरुद्ध षडयन्त्र गर्नेहरूका विरुद्धको जागरण अभियान हो । मायाले कवितामार्फत देशमा वर्तमानमा किनबेच भइरहेको इमान जमान, पराइको अतिक्रमण र भ्रमको सिर्जनामार्फत देशलाई खाल्डोमा हाल्न खोज्नेहरूको विरोधमा सस्शक्र आवाज उठाएकी छन् । जस्तै-
त्यसैले उठ्नुपर्छ अब
आवश्यक परेकालाई
उठाउनुपर्छ अब
उठ्नुपर्छ र जुट्नुपर्छ
देशको अनुहार फेर्नुपर्छ ।
कविता ‘लालमोहर’ आजको देशमा भइरहेको विसंगति र लालमोहरको दुरुपयोगको उजागर गरेको छ । यत्रतत्र स्वार्थलिप्सा, व्यभिचार इष्र्याले साम्राज्य जमाएको समाजमा लालमोहरको नै औचित्य रहन्छ र ? आखिर लालमोहर त एक आस्था हो एक मनोगत भावना हो सत्यको सम्वाहक । जब सत्यमा असत्यको मिश्रण हुन्छ त्यो सत्य आफैं असत्य बन्दछ । यही कुरीतीको विरोध गर्दै माया लेख्छिन्-
सगरमाथा पुर्याउँछौं
नाना विसंगतिका कुराले
......सोझालाई खसालेर
.....र अन्त्यमा फेरि
तिम्रै कुरामा
लालमोहोर लगाउँछौ ।
‘आपा तिम्रो दर्शन’ र ‘मिठू’ यी दुई कविता यो कवितासङ्ग्रहका मननीय कविता हुन् । पहिलो कवितामा आपाको दर्शनमा लालायित छोरीको आकांक्षा दर्साउँछ भने देस्रोमा कर्मक्षेत्रबाट टाढा भएका प्रिय मिठूका सम्झनामा तरगिंत भएको भाव सम्प्रेषण भएको छ ।
माथि उल्लेखित कविताहरूका अतिरिक्त चेरी, मुहार, पञ्च जलधारा, सलेदो, ओहो प्रकृति, जन्मघर, पिरती, खै कस्तो कस्तो !, आमा तिमी भुल्यौ, किशोरीको बदला, बोलुँ बोलुँ लाग्छ, सम्बन्ध, यात्रा जिन्दगीको, विदेशी भयौँ, कोटिकोटि नमन, निःशब्द छु, वसन्त, तीतो यथार्थ, विद्रोही, फर्कौं स्वदेश, लाज’ आदि यी कविताहरू पनि मायाका यस कृतिमा संलग्न रचनाहरू हुन् । यी सबै कविताहरू पठनीय र मननीय छन् ।
अन्त्यमा प्रवासमा बसेर पनि देशभित्र भइरहेको विविध गतिविधिहरूको सूक्ष्मातिसूक्ष्म विषयवस्तुलाई उजागर गरेर कविता लेख्नु आफैंमा एक प्रशंसनीय कर्म हो । यो आफैँमा रचनाकारको वैशिष्ट्यता पनि हो । यस कृतिका कविता पढ्दा कवि माया प्रवासमा बसे पनि देशको सेराफेरोमा घुमिरहेको आभास हुन्छ । सरल भाषा, सरल अभिव्यक्ति मायाको कविताको विशेषता हो । उनको कवितामा व्याकरण हट कहिँकतै पाइँदैन भने लक्षणा र व्यजनामात्र होइन विम्ब र प्रतिकसमेत रहेका छन् तथापि जे छन् ज्ञेय योग्य छन् । यसपछि आउने मायाका कृतिहरू अवश्य पनि साँवा र कनिकारहित हुनेछन् भन्ने अपेक्षाका साथ यो कृतिको सफलताको अपेक्षा गर्दछु ।
Thank you Ramesh bhai for your humble opinion on the course of analysis onto the poem Aina. Please keep encouraging to Maya as she is an amateur in this field.