सांसदहरू भाषाशास्त्रीमा रूपान्तरित हुन लागेका छन् । हिंसा शब्द संसदीय हो कि असंसदीय भन्ने विवाद उत्कर्षमा छ । यो विवादले खुला चउरमा बसेर आची गर्नेलाई भन्दा देख्नेलाई लाज भन्ने चरितार्थ गर्दैछ । संसद्मा सामान्य शब्दको अर्थ र परिभाषाका कारण यो नै निहुँ बनेर गतिरोध पैदा हुँदै आएको छ । यसले गर्दा संसद्मा जे हुनुपर्ने हो त्यो भइरहेको छैन र जे नहुनुपर्ने हो त्यो भइरहेको छ । हालका केही दिनदेखि केही सांसदहरूले माओवादीले एक दशकभन्दा बढी समयसम्म सञ्चालन गरेको सशस्त्र हिंसालाई ‘हिंसा’ भन्ने शब्द प्रयोग गरेको भनेर माओवादीका सांसदहरू प्रतिकारमा उत्रिएका थिए । माओवादी पार्टीले उक्त सशस्त्र हिंसालाई जनयुद्ध भन्ने गरेको छ । उनीहरूकै शब्दमा भन्ने हो भने उक्त विद्रोह ‘महान् जनयुद्ध’ का रूपमा प्रयोग भइरहेको छ तर अरूले उक्त विद्रोहलाई जनयुद्ध मान्ने गरेका छैनन् । जनताका तर्फबाट उक्त विद्रोह भएको थिएन भन्ने अर्थमा अरूले जनयुद्ध नस्विकारिएको हो । वर्तमान संविधान निर्माणकै बेलामा पनि यस शब्दमाथि तर्कवितर्क र बहस भएको थियो ।
‘जनयुद्ध’ भन्ने शब्द सर्वस्वीकार्य बन्न नसकेकै कारण सशस्त्र विद्रोह भन्ने शब्दको प्रयोग भएको हो । हालका दिनहरूमा माओवादी केन्द्रले पनि सत्र हजार मानिसको ज्यान जानेगरी र हजारौं मानिसहरू बेपत्ता तथा विकलांग बन्ने गरी गरेको यो विद्रोह अनुचित थियो भन्ने सोचेकै होला तर आफ्नो पार्टीले गरेको उक्त विद्रोहलाई त्यसबेलाको हिंसात्मक कार्यको आलो दाग बाँकी छँदै आत्माआलोचना गरेर उक्त विद्रोह गलत थियो भन्नु आफ्नो कमजोरी देखिने र कानुनी रूपमा समेत दण्डनीय देखिने भएका कारण माओवादीले उक्त विद्रोहलाई ‘महान् जनयुद्ध’ भन्दै आइरहेको छ । जनता तथा अन्य पार्टीहरूले यसलाई स्वीकारेका छैनन् । संविधानको निर्माणका बेला संविधानमै यस शब्दलाई समावेश गर्न माओवादीले जोड गरेका थिए, अरूले मानेनन् ।
अहिले त्यही शब्द बल्झिएर आइरहेको छ । केही दिन पहिले नेकपा एमालेका सांसद तथा पूर्वमन्त्री योगेश भट्टराईले संसद्मा बोल्ने क्रममा ओवादीको उक्त विद्रोहलाई ‘हिंसा’ भन्नुभएका कारण संसद्मा माओवादीको तर्फबाट त्यसको प्रतिवाद भएको थियो । उहाँको उक्त भनाइलाई रेकर्डबाट हटाउन माओवादीको माग भए पनि एमालेले त्यसलाई स्वीकार गरेन । माओवादीले उहाँलाई कडा चेतावनी दिँदै जनकारबाहीको धम्की दियो तर अहिलेको अवस्था हिजोको जस्तो भयग्रस्त नभएकाले जनताको पनि भरोसा माओवादीप्रति नभएको र दिनप्रतिदिन उक्त विश्वास ट्टुदै गएकाले त्यतिलेमात्र पनि एमाले झुकेन र संसद्मा प्रतिवाद गरिरहेको छ ।
एमालेका सांसद रघुजी पन्तले आपूmले पनि ‘हिंसा’ भन्ने शब्द धेरैपटक प्रयोग गर्दै आएको छु भनेर उक्त विद्रोह ‘हिंसा’ नै हो भन्ने मत अघि सार्नुभयो । नेपाली कांग्रेसले गरेका क्रान्तिहरूलाई उहाँले जायज थिए भन्दै आफ्नो पार्टीले झापामा गरेको व्यक्तिहत्या उग्र वामपन्थी भड्काउ भएका कारण पार्टीले आत्माआलोचना गरिसकेको छ भन्दै माओवादीले सत्र हजार मानिसको ज्यान जानेगरी गरेको कार्य पनि सोही खालको हो भन्ने तर्क गर्नुभएको छ । संसद् भनेको शब्दको अर्थ र परिभाषामा अल्झिने ठाउँ होइन भनेर त्यसको निराकरण गर्दै गरौला अहिले संसद्बाट गर्ने काम अर्थात् सांसदहरूको काम कर्तव्यतर्फ लागौैं भनेर सभामुखले शालीन ढंगले रुलिङ गर्दासमेत माओवादी सांसदहरूले सदनमा हंगामा मच्चाउने गर्नुभएको छ ।
यसरी हेर्दा माओवादी र कांग्रेसको सरकार भएका बेला एमालेले, एमाले र माओवादीको सरकार भएका बेला कांग्रेसले र कांग्रेस र एमालेको सरकार भएका बेला माओवादीले संसद् चल्न नदिएको र त्यहाँका घटनाहरू देख्दा त्यो संसदीय मर्यादा र अभ्यासभन्दा विपरीत बाटोमा हिँडिरहेका छन् भन्ने प्रकट हुन्छ । यसबाट जनताको अपेक्षामा भन्दा सांसदहरू तथा पार्टीहरू आ-आफ्नै स्वार्थ र इख साँध्नतर्फ उद्यत् छन् भन्ने देखिन आएको छ । यस्तो इख साधनाले जनताका चाहनामाथि तुषारापात गरिँदै छ । परिणाम, सांसद र संसद्प्रति जनता दिनप्रतिदिन वितृष्णा पालेर बस्न बाध्य बन्दै गइरहेका छन् । सांसदहरूले खोइ त जनताका तर्फबाट आवाज उठाएको ? झगडा गर्न, हल्ला गर्न, अवरोध गर्न र निम्नस्तरीय व्यक्तिहरूको जस्तो गाली गलौजमा उत्रिन सांसदको पदमा जनताले निर्वाचित गरेर पठाएका हुन् र ?
शब्दको अर्थ प्रज्ञाको बृहत् नेपाली शब्दकोशमा दिएको हुन्छ । माओवादीको विद्रोह हिंसा हो कि होइन भनेर विवाद गर्ने बेला अब टरिसकेको छ । त्यसमा अल्झिने समयभन्दा पनि कुनै रचनात्मक काममा सांसद महोदयहरू लाग्नुपर्ने होइन र ? उक्त विद्रोह समापन भएर शान्ति प्रक्रियामा माओवादीहरू आएको १७ वर्षभन्दा बढी समय बितिसकेको अवस्थामा नयाँ नेपालको निर्माण भयो कि भएन ? त्यसतर्फ माओवादी पार्टी स्वयं र उक्त पार्टीबाट सांसद हुनुभएका महानुभावहरूले विचार गर्नुभएको छ त ? छैन भने एक दशकभन्दा लामो समय चलेको सशस्त्र विद्रोहको औचित्य के ? शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउने काम अझै भएको छैन ।
संसद्मा एकजनाले बोलेको एउटा शब्दले नै उक्त कार्य विथोल्न सक्ला ? आफ्नो पक्षमा सभामुखले रुलिङ नगर्दैमा र वा आफूले आफ्नो चाहना बमोजिम बोल्न नपाउँदैमा सभामुखको रुलिङ स्वीकार्य छैन भन्ने वा सभामुखले जनयुद्धलाई होच्याएको मान्ने सोचले माओवादीको आगामी यात्राले कति लामो गन्तव्य तय गर्न सक्ला ? त्यो सोचनीय छ । त्यसकारण शब्दको अर्थमा अल्झिने काम नगरौँ, शब्दकोशमा हेरौं, विद्वानहरूलाई सोधौं र संसद्बाट गर्नुपर्ने आफ्ना कामहरू निरन्तर गरौं । नत्र सांसदज्यूहरूले भोलिका दिनमा आफ्ना मतदातालाई जवाफ दिने बेलामा भुँइतिर हेर्नुपर्ने अवस्था सिर्जना हुनसक्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच