काठमाडौं । नेकपा एमालेले पार्टीको निर्णायक राष्ट्रिय शक्ति बनाउनका लागि वार्षिक कार्ययोजना पारित गरेको छ ।
एमाले पार्टी कार्यालय च्यासलमा शुक्रबार बसेको सचिवालय बैठकले पार्टीलाई बलियो र निर्णायक राष्ट्रिय शक्तिका स्थापित गर्ने गरि तयार गरिएको वार्षिक कार्ययोजना पारित गरेको महासचिव शंकर पोखरेलले जानकारी दिनुभयो ।
बलियो राष्ट्रिय शक्ति निर्माणको वार्षिक कार्य योजनामा १८ वटा विषय समेटिएको उहाँले बताउनु भयो।
नियमित अधिवेशन आयोजना र व्यवस्थापन गर्ने, अरु पार्टीबाट प्रवेश गरेका तथा अधिवेशनहरुमा पराजित भएका नेता कार्यकर्तालाई ३ महिनाभित्र यथोचित जिम्मेवारी दिइसक्ने, कार्यकर्ताको कामको मूल्यांकन गर्ने विधि बसाल्ने लगायतका विषय कार्ययोजनामा रहेको उहाँले बताउनुभयो ।
बैठकले सदस्यता नवीकरण, विस्तार र अभिलेखिकरण गर्ने, नियमित अधिवेशन आयोजना र व्यवस्थापन (कात्तिकभित्र बाँकी जिल्ला कमिटी र मंसिरभित्र सबै कमिटीको अधिवेशन आयोजना गरिसक्ने) जनाएको छ ।
त्यस्तै अरु पार्टीबाट प्रवेश गरेका तथा अधिवेशनहरूमा पराजित भएका नेता कार्यकर्तालाई ३ महिनाभित्र यथोचित जिम्मेवारी दिइसक्ने पनि पोखरेलले बताउनु भयो ।
कार्यकर्ताको कामको मूल्यांकन गर्ने विधि बसाल्ने, पार्टी कमिटी परिचालन र अन्तरविरोध व्यवस्थापनको प्रणाली बसाउने, सरकार र जनप्रतिनिधिको कामलाई प्रभावकारी बनाउने कार्ययोजना पनि ल्याएको छ ।
त्यस्तै, जनप्रतिनिधिहरूको कामको मूल्यांकन गर्दै जनतामा आफूले गरेका कामको जानकारी गराउने, पार्टी कार्यालयहरूको प्रभावकारी व्यवस्थापन गर्ने र केन्द्रदेखि वडासम्मै कार्यालयहरू सञ्चालनको मोडालिटी बनाउने निर्णय पनि गरेको छ ।