नेपाली गीतसंगीतमा पछिल्लो समय आफ्नो उपस्थितिलाई सशक्त रूपमा प्रस्तुत गर्दै आएको नाम हो सरु देउजा । काठमाडौंको जोरपाटीकी सरुको यतिबेला कर्मथलो क्यानडा भए पनि गीतसंगीतमा भने निरन्तर लागिरहनुभएको छ । छोटो समयमै उहाँका गीतले चर्चा पाउन सफल भएका छन् । कृष्णबहादुर देउजा र मनकुमारी देउजा (मीना)को कोखबाट जन्मिनुभएकी सरु सानो छदादेखि नै गीतसंगीत र नाच्ने भनेपछि हुरुक्क हुनुहुन्थ्यो । त्यही सानैदेखिको लगावले नै यतिबेला उहाँ गायिकाका रूपमा स्थापित हुनुहुन्छ । उहाँका ‘भन के गर्छु, तीजको लहर आयो वरिलै, फस्ने फस्ने, नैना रेशम, असारे महिना, ठूले दाइ जस्ता गीतलाई श्रोता/दर्शकले अधिक मन पराएका छन् । श्रीमान् दीपककुमार लामिछानेले पनि उहाँका गीतसंगीतको क्षेत्रमा हौसला र प्रेरणा दिइरहनुभएको छ । गायिकाको परिचय बनाउन सफल भएकोमा परिवार पनि उतिकै खुशी छ । मानिसको भविष्य उसको बाल्यकालको चरिचत्रले देखाउँछ भने जस्तै सरुको बाल्यकालका गतिविधिले भविष्यमा गायिका नै बन्ने संकेत गर्ने गर्दथ्यो । गीतसंगीतमा सानैदेखिको सौख भएकी उहाँको नशा नशामा संगीत तरंगीत भएका कारणले नै अहिले गायिकाको परिचय बनाउन सफल हुनुभएको छ । सरुलाई गायन क्षेत्रमा आउनका लागि पारिवरिक माहोल पनि सर्पोट गर्यो । उहाँकी आमा मीना देउजा कलाकार हुनुहुन्छ । उहाँले केही सिरियलमा अभिनय गर्नुभएको छ । सानोमा स्कुलमा हुने विभिन्न गायन र नृत्यका प्रतियोगितामा भाग लिने सरु घरपरिवारको सर्पोटले नै आफूलाई सजिलो भएको बताउनुहुन्छ । उहाँले प्रायः ती प्रतियोगितामा पुरस्कार पाउने गरेको सुनाउनुहुन्छ । सबै प्रकारका गीत गाउन रुचाउने सरु जतिबेला पनि आफू गुनगुनाइरहने बताउनुहुन्छ । गीतसंगीत भनेको जीवनको सुख दुःखको साथी रहेको बताउनुहुने उहाँ नेपाली गीतसंगीतको वर्तमान अवस्था फराकिलो हुँदै गएको जिकिर गर्नुहुन्छ । मीठो स्वरकी धनी गायिका सरु देउजासँग हिमालय टाइम्सका लागि गीता अधिकारीले गर्नुभएको संवादको संक्षिप्त अशंः-
यतिबेला के गर्दै हुनुहुन्छ ?
म विगत केही वर्षदेखि क्यानडा बस्दै आएकी छु । जहाँ बसे पनि गीतसंगीतलाई मैले जीवनको अभिन्न पाटो बनाएकी छु । यतिबेला नेपाल बसाईमा केही गीत श्रोता/दर्शकमाझ ल्याएकी छु । नेपाली नारीहरूको महान् पर्व तीजका अवसरमा गीतसंगीतका विभिन्न कार्यक्रममा सहभागी भइरहेकी छु । नेपालको बसाईमा केही गीत गर्दै छु । भिडियो बनाउँदै छु । यस्तै यस्तैमा व्यस्त छु ।
निक्कै व्यस्त हुनुहुन्छ है ?
नेपाल बसाईको यो छोटो समयमा धेरै काम गर्नुछ । गीत रेकर्डिङ गर्नुछ । भिडियो पनि बनाउनुछ । पारिवारिक भेटघाट पनि छँदैछ । यस्तै केही सांगीतिक कार्यक्रममा पनि सहभागी भइरहेकी छु । व्यस्त नै भन्नुपर्ला ।
नेपाली गीतसंगीतमा पछिल्लो समय आफ्नो उपस्थितिलाई सशक्त रूपमा प्रस्तुत गर्दै आएको नाम हो सरु देउजा । काठमाडौंको जोरपाटीकी सरुको यतिबेला कर्मथलो क्यानडा भए पनि गीतसंगीतमा भने निरन्तर लागिरहनुभएको छ । छोटो समयमै उहाँका गीतले चर्चा पाउन सफल भएका छन् । कृष्णबहादुर देउजा र मनकुमारी देउजा (मीना)को कोखबाट जन्मिनुभएकी सरु सानो छदादेखि नै गीतसंगीत र नाच्ने भनेपछि हुरुक्क हुनुहुन्थ्यो । त्यही सानैदेखिको लगावले नै यतिबेला उहाँ गायिकाका रूपमा स्थापित हुनुहुन्छ । उहाँका ‘भन के गर्छु, तीजको लहर आयो वरिलै, फस्ने फस्ने, नैना रेशम, असारे महिना, ठूले दाइ जस्ता गीतलाई श्रोता/दर्शकले अधिक मन पराएका छन् ।
कसरी आउनुभयो यो क्षेत्रमा ?
मेरो सानैदेखिको लगाव हो गीतसंगीत । मेरो बाबा-आमाले भनेनुसार म आफूलाई थाह नहुँदा पनि गीत गाउँदै हिँडथे अरे । सानो छदादेखि नै गीतसंगीत र नाच्ने भनेपछि हुरुक्क हुन्थे । विस्तारै स्कुलजादा विभिन्न कार्यक्रममा भाग लिन थाले । हौसला बढ्दै गयो । बढ्दै जाँदा यो क्षेत्रमा हेलिँदै गए । त्यही सानैदेखिको लगावले अहिले यो क्षेत्रमा छु भन्नुपर्ला । मेरो शरीरको नशा नशामा गीतसंगीत तरंगीत छ ।
प्रेरणा, हौसला दिने कोही थिए कि ?
मेरो घरपरिवारको माहालो नै कलाक्षेत्रलाई माया गर्ने थियो । आमा मनकुमारी देउजा (मीना) कलाकार हुनुहुन्छ । उहाँले केही सिरियलमा अभिनय गर्नुहुन्छ । उहाँको हौसला प्रेरण सधैं रहृयो । यस्तै विवाहपश्चात मेरो श्रीमान् दीपककुमार लामिछाने पनि मलाई सधैं गीतसंगीतका क्षेत्रमा हौसला र प्रेरणा दिइरहनुभएको छ ।
यहाँका कति जति गीत श्रोता/दर्शकमाझ आएका छन् ?
अहिलेसम्म एक दर्जन जति गीत श्रोता/दर्शकमाझ आएका छन् । केही आउने तयारीमा छन् ।
केही गीतको नाम लिनुपर्दा, जसलाई श्रोता/दर्शकले मन पराउनुभएको छ ?
मेरा सबै गीतले श्रोता/दर्शकको माया पाइरहेका छन् । केहीको नाम लिनुपर्दा ‘भन के गर्छु, तीजको लहर आयो वरिलै, फस्ने फस्ने, नैना रेशम, असारे महिना,’ जस्ता रहेका छन् ।
यहाँको स्वरमा रहेको ठूले दाइ गीत हालै श्रोता/दर्शकमाझ आएको हो, कस्तो पाइरहनुभएको छ प्रतिक्रिया ?
एकदमै राम्रो प्रतिक्रिया पाइरहेकी छु । सबैले माया गरिदिनुभएको छ । तपाईंको यही सञ्चारमाध्यममार्फत पनि सबैलाई यो अपार मायाका लागि धन्यवाद दिन चाहन्छु । दीपक शर्माको शब्द, संगीत, पुरुषोत्तम सुवेदीको संगीत संयोजन र किशोर थापाको मिक्सिङ/मास्टरिङ रहेको यस गीतको भिडियोलाई प्रहिल कार्कीले निर्देशन गर्नुभएको हो । गीतको भिडियोमा हरिश निरौला, म आफैं र आभा थापाको अभिनय छ । अजय रेग्मीले छायांकन गरेको भिडियोमा माधव बेलबासेको सम्पादन एवं कलर छ । गीतको भिडियो मेरै अफिसियल युट्युब च्यानलमार्फत् बजारमा आएको छ ।
गीतसंगीत के हो जस्तो लाग्छ ?
गीतसंगीत भनेको जीवनको सुख दुःखको साथी हो भन्ने लाग्छ । हामी दुःखी हुँदा पनि गीतसंगीतको सहारा लिन्छौ भने रमाउँदै पनि गीत संगीतमा झुमी रहेका हुन्छौ । गीतसंगीत हाम्रो जीवन हो ।
पछिल्लो समयको गीतसंगीतलाई कसरी लिनुहुन्छ ?
समय परिवर्तनशील छ । हाम्रो गीतसंगीतमा परिवर्तन भइरहका छन् । यो समयको माग हो । नेपाली गीतसंगीतको वर्तमान अवस्था फराकिलो हुँदै गएको छ । पहिला पहिला निकै गाह्रो भएको हामी देख्छौ । तर, अहिले हरेक कुरा सहज भएको छ । आफूमा त्यस विषयसम्बन्धी ज्ञान भएमा त्यसलाई प्रस्तुत गर्ने पिलेटफर्महरू धेरै छन् । म त नपाली गीतसंगीतले छलाङ नै मारेको आभास पाउँछु । आफूले बजारमा ल्याएका गीतको प्रवद्र्धनको शैली थाहा नहुँदा धेरै स्रष्टाले आफ्ना सिर्जनालाई घरमै थन्क्याएर राखिरहँदा अहिलेका स्रष्टा भने यो समस्याबाट मुक्त छन्, हाम्रा प्रस्तुतिलाई श्रोता/दर्शकमाझ लैजानका लागि विभिन्न स्रोत हामीले पाएका छौ । प्रविधि, मिडिया, संगीतको बजार, भिडियो निर्माणमा आएको विविधतासँगै संगीतको शिक्षा र सांगीतिक प्रविधिको माहौलमा रमाइरहने युवापुस्ताको आगमनले आफ्नो क्षमतालाई फराकिलो बनाएको छ । यो क्षेत्रमा युवाहरूको उपस्थिति उत्साहजनक छ । नेपालबाहिर रहेका नेपालीको त्यतिकै लगावले नेपाली गीतसंगीतको क्षेत्र समृद्धितर्फ अघि बढ्दै गएको छ । संगीत क्षेत्रको विकासक्रमलाई आर्थिक पक्षले पनि फराकिलो बनाइदिएको छ । शोखले मात्रै गीतसंगीतमा लाग्ने कुनै बेला समय थियो भने हाल समय फेरिएको छ । गीतसंगीतकै अध्ययन गरेर यसैमा लगानी गर्ने अहिलेको पुस्ता उदाहरणीय पनि बनेका छन् ।
यहाँका के कस्ता गीत श्रोता/दर्शकमाझ आउने तयारीमा छन् ?
‘खोला वारी’, ‘मनले आटेर’, ‘नौमती बाजाले’, ‘दिल तोड्यौ’जस्ता आधा दर्जन गीत श्रोता÷दर्शकमाझ ल्याउने तयारीमा छु ।
तपाईं त लामोसमयदेखि क्यानडामा रहँदै आउनुभएको छ, गीतसंगीतलाई कसरी अघि बढाइरहनुभएको छ ?
हो म लामो समयदेखि क्यानडामा रहँदै आएकी छु । जहाँ भए पनि नेपालीपनलाई आत्मसाथ गर्नुपर्छ भन्ने मैले मान्यता राख्दै आएकी छु । मलाई के लाग्छ भने सबैभन्दा ठूलो कुरा आफ्नो पहिचान, संस्कार, संस्कृति हो । हामी जहाँ रहे पनि संरक्षण र सम्बद्र्धन सबैको दायित्व र कत्वर्य हो । क्यानडामा वा जहाँ भए पनि नेपालीपन, नेपाली गीतसंगीतसँग म टाढा हुन सक्दैन । यससँग अटुट नाता जोडिएको छ ।
यहाँ कस्ता गीत गाउन मन पराउनुहुन्छ ?
मैले सबै विधाका गीत गाएकी छु । सबै गीत मनपराउँछु । तर, सुगम संगीत र लोक आधुनिक गीतमा मेरो स्वर बढी ‘म्याची’ भएको बताउँछन् सुन्नेहरूले । सबै किसिमका गीत गाउन उतिकै सहज लागे तापनि प्रतिक्रियाका आधारले सुगम र लोकआधुनिक गीतलाई प्राथमिकता दिँदै आएकी छु ।
अन्त्यमा,
गीतसंगीतमा आफू रमाउँदै श्रोता/दर्शकलाई राम्रा राम्रा गीत प्रस्तुत गर्दै जाने आठोटका साथ यो क्षेत्रमा समर्पित भएर लागिरहएकी छु । म गीतसंगीतको हिस्सा बनेर अघि बढीरहेकी छु । यो जीवनपर्यन्त रहिरहनेछ । उच्च साधना र मिहिनेत गरेर मीठामीठा गीतसंगीत ल्याउन सकुँ भन्ने लाग्छ । हेरौ समयले कतिको साथ दिन्छ । यो संवाद र बसाईका लागि यहाँलाई हृदयदेखि नै धन्यवाद ।