काठमाडौं । नेकपा एमालेले पार्टीलाई बलियो र निर्णायक राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्न तथा मिसन ८४ सफल पार्न १८ बुँदे वार्षिक कार्ययोजना बनाएको छ । केन्द्रीय सचिवालयको शुक्रबार बसेको बैठकले महासचिव शंकर पोखरेलले प्रस्ताव गरेको कार्ययोजनालाई पारित गरेको हो । बैठकपछि पत्रकार सम्मेलनमा निर्णय जानकारी गराउँदै महासचिव पोखरेलले बलियो राष्ट्रिय शक्ति निर्माणको वार्षिक कार्य योजनामा १८ वटा विषय समेटिएको जानकारी दिनुभयो । वार्षिक कार्य योजनाबमोजिम अब पार्टीका सबै कमिटीहरू परिचालन हुने पोखरेलले बताउनुभयो ।
वार्षिक कार्ययोजनामा सदस्यता नवीकरण र विस्तारदेखि ४० वर्षमुनिका युवाहरूको शिखर सम्मेलन आयोजनासम्मका विषय समेटिएका छन् । त्यस्तै एमालेले पार्टीका सबै सदस्यले हरेक वर्ष कम्तीमा एउटा कक्षा लिनैपर्ने योजना तय गरेको छ । सदस्यता नवीकरण, विस्तार र अभिलेखीकरण गर्ने निर्णय गरिएको छ । नियमित अधिवेशन आयोजना, व्यवस्थापन (कात्तिकभित्र बाँकी जिल्ला कमिटी र मंसिरभित्र सबै कमिटीको अधिवेशन आयोजना गरिसक्ने उल्लेख छ । यसैगरी अरू पार्टीबाट प्रवेश गरेका तथा अधिवेशनहरूमा पराजित भएका नेता कार्यकर्तालाई तीन महिनाभित्र यथोचित जिम्मेवारी दिइसक्ने उल्लेख छ । कार्यकर्ताको कामको मूल्यांकन गर्ने विधि बसाल्ने, पार्टी कमिटी परिचालन तथा अन्तरविरोध व्यवस्थापनको प्रणाली बसाउने भनिएको छ । पार्टी स्कुल सञ्चालनलाई अभियानको रूपमा चलाउने, प्रत्येक वर्ष पार्टीका सबै सदस्य कुनै न कुनै स्कुलमा भाग लिनैपर्ने निर्णय गरेको छ ।
सरकार र जनप्रतिनिधिको कामलाई प्रभावकारी बनाउने र जनप्रतिनिधिहरूको कामको मूल्यांकन गर्दै जनतामा आफूले गरेका कामको जानकारी गराउने भनिएको छ । पार्टी कार्यालयहरूको प्रभावकारी व्यवस्थपन गर्ने । केन्द्रदेखि वडासम्मै कार्यालयहरू सञ्चालनको मोडालिटी बनाउने, पार्टी प्रचारको परम्परागत ढाँचामा सोसल मिडिया अनिवार्य जोड्ने, हरेक कमिटीले प्रचार व्यवस्थित गर्ने सन्दर्भमा सोसल मिडिया नेटवर्किङ गर्ने, कामका नयाँ क्षेत्र पहिचान गर्ने, जिम्मेवारी नपाएकालाई ती नयाँ क्षेत्रमा परिचालन गर्ने, हरेक कमिटीले वार्षिक बजेट तयार पार्ने, त्यसअनुसार स्रोत परिचालन तथा आम्दानी र खर्चको व्यवस्थापन गर्ने, पार्टी जीवनको शुद्धीकरण, सुदृढीकरणलाई अभियानका रूपमा लैजाने, बलियो र निर्णायक राष्ट्रिय शक्ति निर्माण तथा मिसन ८४ मा बहुमत प्राप्त गर्ने भन्ने योजनासहित सबै कमिटीले योजना बनाउने उल्लेख छ । नयाँ पुस्तामा पार्टी कामको विस्तार तथा जनसम्बन्ध विकासमा जनसंगठन परिचालन गर्ने, प्रवासमा रहेका प्रवासीबीचको कामलाई देश हितको पक्षमा परिचालन गर्ने, पार्टीको आफ्नै केन्द्रीय कार्यालय भवन निर्माण गर्ने, नेकपा स्थापनाको ७५ वर्षको अवसरमा अघि सारिएका र सम्पन्न हुन बाँकी काम सम्पन्न गर्ने, पार्टीमा नियमित रिपोर्टिङ प्रणाली व्यवस्थित गर्ने, पार्टीको आयोजनामा ४० वर्षमुनिका युवाको ‘युथ समिट’ आयोजना गर्ने निर्णय गरेको छ ।
‘उपसभामुख हटाउनेबारे कुनै निष्कर्षमा पुगेका छैनौं’
सत्तारुढ दल नेकपा एमालेले उपसभामुख इन्दिरा राना मगरलाई हटाउनेबारे अहिलेसम्म कुनै निष्कर्षमा नपुगेको बताएको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको पार्टीको सचिवालय बैठकमा यसबारे कुरा उठेको र अहिले नै के गर्ने भन्ने स्पष्ट भइनसकेको महासचिव शंकर पोखरेलले जानकारी दिनुभयो । ‘जसरी बाहिर आएको छ । त्यसरी के गर्ने भन्ने निष्कर्षमा पुगेका छैनौं । यो संसद्को मामिलाको कुरा हो । संसद्लाई कसरी मर्यादित बनाउने भन्ने काममा संसदीय दल र पार्टीले गर्ने कुरामा पार्टीको पूर्ण समर्थन रहन्छ,’ महासचिव पोखरेलले भन्नुभयो । उपसभामुख रानाबारे उठेका प्रश्नमा उनको पार्टी रास्वपाले पनि प्रष्ट पार्नुपर्ने निर्णय आफ्नो पार्टीको भएको महासचिव पोखरेलले सुनाउनुभयो । ‘उहाँमाथि उठेका प्रश्नको बारेमा उहाँ आफैं र पार्टीले स्पष्ट पार्नुपर्छ । उहाँका विषयमा जे आएका छन्, यदि त्यो सत्य हो भने उहाँ त्यो पदका लागि उपयुक्त होइन भन्ने स्पष्ट नै देखिएको छ,’ महासचिव पोखरेलले भन्नुभयो ।
येचुरीको अन्तिम संस्कारमा पोखरेल सहभागी हुने
नेकपा एमालेले भारतीय कम्युनिष्ट नेता सीताराम येचुरीको अन्तिम संस्कारमा सहभागी हुन वरिष्ठ उपाध्यक्षलाई पठाउने भएको छ । शुक्रबार बसेको सचिवालय बैठकले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई भारत पठाउने निर्णय गरेको हो । भारतीय कम्युनिष्ट नेता यचुरीको बिहीबार निधन भएको थियो । उहाँ करिब दुई सातादेखि दिल्लीको अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स)मा श्वासप्रश्वास नलीको संक्रमणको उपचार गराइरहनुभएको थियो । निमोनियाजस्तो छातीमा संक्रमण भएपछि उहाँलाई भदौ १९ गते अस्पताल भर्ना गरिएको थियो । येचुरी अगस्ट २९ सम्म सामाजिक सञ्जालमा सक्रिय हुनुहुन्थ्यो । येचुरी सन् १९९२ देखि सीपीएमको पोलिटब्यूरोको सदस्य हुनुहुन्थ्यो । यसअघि, उहाँ सन् २००५ देखि २०१७ सम्म पश्चिम बंगालबाट राज्यसभाको सांसद हुनुभएको थियो ।