काठमाडौं । चार वर्षअघि आफ्नो आपत्तिजनक अभिव्यक्तिका कारण तत्कालीन समाजवादी पार्टीकी सांसद सरिता गिरीको राजनीति सकियो । नेपालको राष्ट्रियता, सीमा र तत्कालीन सरकारले जारी गरेको नयाँ नक्सालाई लिएर आपत्तिजनक अभिव्यक्ति दिनुभएकी गिरीको सांसद पदमात्रै गएन उहाँको राजनीतिक करियर नै सकियो । अहिले उहाँ मूलधरको राजनीतिक सिनमा कतै देखिनुभएको छैन ।
गिरीले २०७७ जेठमा संसद्मै सरकारले जारी गरेको नक्सा देशको नभएको अभिव्यक्ति दिनुभएको थियो । एक टेलिभिजन अन्तर्वार्तामा उहाँले लिम्पियाधुरा नेपालको भाग हो भनेर आफूले स्वीकार नगर्ने अभिव्यक्ति दिनुभएको थियो । यतिमात्रै होइन सांसद गिरीले नेपालको संविधान संविधानको अनुसूची ३ मा रहेको निसान छाप संशोधन गरेर नेपालको अद्याविधक नक्सा अनुसारको नक्सा राख्ने बुँदा हटाउनुपर्ने मागसमेत गर्नुभएको थियो । आफ्नो विवादास्पद अभिव्यक्तिमा अडिग रहेपछि न उहाँको सांसद पद रहृयो न राजनीतिक करियर नै ।
संसद्, सामाजिक सञ्जाल र सञ्चारमाध्यमबाट राष्ट्रियता जस्तो संवेदनशील विषयमा लगातार आपत्तिजनक अभिव्यक्ति दिएर गिरीले राजनीतिबाट हात धोएको चार वर्षपछि नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव मेटमणि चौधरी फेरि उस्तै विवादमा फस्नुभएको छ । एक टेलिभिजन अन्तर्वार्तामा लिपुलेक, लिम्पियाधुरा र कालापानीमा भारतको दाबी पुग्छ भन्ने अभिव्यक्ति दिएपछि प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका चौधरी विवादमा फस्नुभएको हो । भदौ २५ गते प्राइम टिभीमा ऋषि धमलालाई दिएको अन्तर्वार्तामा चौधरीले महाकाली सन्धिपछि भारतले कालापानी क्षेत्रमा आफ्नो दाबी गर्न थालेको जिकिर गर्नुभएको हो । अन्तर्वार्तामा उहाँले लिपुलेक, लिम्पियाधुरा र कालापानी भारतले लिनसक्ने बताउनुभएको थियो । सुरुमा हेरौं अन्तर्वार्तामा उहाँले के भन्नुभएको थियो ? ‘महाकाली सन्धिपछि भारतले महाकाली नदी मेरो पनि आधा हो भनेर दाबी गर्न थाल्यो । पहिले नदी बेच्ने, अनि सरकारले चुच्चे नक्सा निकाल्यो, यसकारण भारतले लिपुलेक, लिम्पियाधुरा र कालापानीमा भारतले आफ्नो दाबी प्रस्तुत गरेको छ,’ धमलासँगको अन्तर्वार्तामा चौधरीले भन्नुभएको थियो, ‘मलाई लाग्छ उसको (भारत) दाबी पुग्छ । दाबी पुग्छ, उसले लान पाउँछ ।’
चौधरीले सीमा नाघेर बोलेको सुनेपछि धमलाले पूरक प्रश्न गर्नुभयो- तपाईंले लिम्यिाधुरा, लिपुलेक र कालापानी भारत हो भनेर घोषणा गर्नुहुन्छ ? जवाफमा चौधरीले भन्नुभयो, ‘भारतको हो नि, त्यो चुच्चे नक्सा मेरो देशको भन्न मिल्छ ? यस्तो फटाहागिरी काम कसैले गर्नु हुँदैन । म अहिले पनि भन्छु त्यसबेला नेकपा एमालेको भूमिकामा गल्ती थियो । कोशी र गण्डकी नदी बेच्ने काम भयो । पछिल्लो महाकाली सन्धि गर्दाखेरी त्यो भूमि अहिले भारतले दाबी गरिरहेको छ । उसको दाबी पुग्छ । तर, आज मान्छेलाई भ्रमित पार्ने काम भइरहेको छ । मान्छेलाई बेवकुफ बनाउन चुच्चे नक्सा बनाइयो ।’ यही अभिव्यक्तिका कारण अहिले मेटमणि पनि सरिताजस्तै चरम विवादमा तानिनुभएको छ । आफ्नो जिब्रोमा लगाम लगाउन नसक्दा उहाँ विवादमा मात्रै फस्नुभएको छैन, सांसद र उपमहासचिव पद नै धरापमा पर्ने देखिएको छ । राष्ट्र र राष्ट्रियताविरुद्ध अभिव्यक्ति दिएको भन्दै सरिताजस्तै मेटमणिलाई पनि कारबाही गर्नुपर्ने आवाज उठ्न थालेको छ । बेलगाम बोलीमा लगाम लगाउन नसक्दा उहाँमाथि कारबाही गर्न एकीकृत समाजवादीलाई पनि दबाब छ । तर, पार्टीले भने हाल स्पष्टीकरणमात्रै सोधेको छ ।
तत्कालीन सरकारले २०७७ जेठ ७ गते चुच्चे नक्सा जारी गरेको थियो । जसमा नेपाली संसद्ले अभूतपूर्व एकता प्रदर्शन गर्दै संविधान संशोधन गरेर आफ्नो मानचित्र घोषणा गरेको थियो । जेठ ३१ मा प्रतिनिधिसभाबाट संविधान संशोधन गर्दै नयाँ नक्सा सर्वसम्मत अनुमोदन भएको थियो । नेपालभित्र सबैजसो निकायमा सोही नक्सा प्रचलनमा रहे पनि अन्तर्राष्ट्रिय समुदायबाट भने खुलस्त समर्थन (मान्यता) पाएको छैन । यसैबीच, गत वैशाख २१ गते बसेको तत्कालीन मन्त्रिपरिषद् बैठकले नेपाली एक सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने निर्णय गरेको थियो ।
एकीकृत समाजवादीले सोध्यो स्पष्टीकरण
विवादित अभिव्यक्ति दिनुभएका चौधरीलाई उहाँको पार्टी एकीकृत समाजवादीले स्पष्टीकरण सोधेको छ । टिभी अन्तर्वार्तामा प्रयोग गरेको भाषालाई लिएर एकीकृत समाजवादीले उपमहासचिव चौधरीसँग स्पष्टीकरण सोधेको हो । महासचिव घनश्याम भुसालले चौधरीसँग तीन दिनभित्र लिखित स्पष्टीकरण बुझाउन पत्र पठाउनुभएको छ । प्रमुख सचेतकसमेत रहनुभएका चौधरीले टेलिभिजन अन्तर्वार्तामा नेपालको भौगोलिक अखण्डताबारे बोल्नुभएको थियो । चौधरीको अभिव्यक्ति मुलुकको अखण्डता र सार्वभौमिकताविरुद्ध भएकाले तीन दिनभित्र लिखित जवाफ पेश गर्न निर्देन दिइएको छ ।
‘तपाईंले लिपुलेक, लिम्पियाधुरा र कालापानीमाथि इण्डियाले आफ्नो दाबी प्रस्तुत गरेको छ । मलाई लाग्छ उसको दाबी पुग्छ, भारतले लिन पाउँछ, कालापानी र लिपुलेक भारतको हो नि’ भन्नुभएको रहेँछ,’ स्पष्टीकरण पत्रमा भनिएको छ, ‘अनेकौं तथ्यहरूले उक्त भू-भाग नेपालको हो भन्ने कुरा स्पष्ट पारेका छन् । हाम्रो पार्टीको समेत दाबीका आधारमा उक्त भू-भाग संविधानको अंग बनाइएको कुरा सर्वविदितै नै छ । त्यसविपरीत, मुलुकको अखण्डता र सार्वभौम सत्ताविरुद्ध तपाईंले किन बोल्नु भएको हो ।’
उहाँको अभिव्यक्तिलाई गम्भीरतापूर्वक लिएका छौं, कारबाही गर्छौं : खनाल
एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टी उपमहासचिव मेटमणि चौधरीले नेपालको भूमि विदेशीको हो भनेर आपत्तिजनक अभिव्यक्ति दिएको बताउनुभएको छ । नेपाली रेडियो नेटवर्कको एक कार्यक्रममा नेता खनालले चौधरीले एकीकृत समाजवादीको समर्थकले समेत बोल्न नहुने कुरा बोलेको बताउनुभयो । मेटमणिलाई पार्टीले कारबाही गर्ने उहाँको भनाइ छ । ‘त्यो अत्यन्त आपत्तिजनक कुरा हो । एकीकृत समाजवादीको सामान्य सदस्यमात्रै होइन, समर्थकले पनि त्यस्तो कुरा सोच्न सक्दैन । आफ्नो भूमिलाई विदेशीको हो भनेर एकीकृत समाजवादीको नेताले बोल्ने कुरा पार्टी र देशविरोधी हो,’ उहाँले भन्नुभयो, ‘कसरी मेटमणिको मुखबाट यस्ता कुरा निस्किए ? म आफैं आश्चर्य चकित भएको छु । त्यसबारेमा पार्टीले स्पष्टीकरण सोधिसकेको छ । यो कुरालाई हामी गम्भीरतापूर्वक लिन्छौं । हामी कारबाही गर्छौं ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच