मौरी मर्नुको कारण परिजीवी विषादी र कुपोषण

विजय रावत जुम्ला, संवाददाता
Read Time = 4 mins

जुम्ला । जुम्लाका मौरी पालक किसानले पालेका मौरी मर्नुको प्रमुख कारण परिजीवी विषादी र कुपोषणलाई मानिएको छ । व्यावसायिक रुपमा पालिएका मौरी मर्न थालेपछि ललितपुरस्थित मौरी विकास केन्द्रको टोली यहाँ आएर अनुसन्धान गरेको छ ।

किसानका घार, मौरी पालन गरिएको स्थानको वस्तुस्थिति र मर्नुको कारणबारे अनुसन्धान गरी मौरीपालन किसान, केन्द्रका विज्ञको समूह र जिल्लाका सरोकारवाला निकायबीच आज भएको अन्तरक्रिया कार्यक्रममा परिजीवी, विषादी, कुपोषणलगायत समस्या देखिएकाले मौरी मरेका केन्द्रका प्रमुख एवं मौरीविज्ञ तीर्थकुमार श्रेष्ठले बताउनुभयो ।

उहाँले जुम्लामा पालन गरिएका मौरी पोलाको माथिल्लो भागमा हुनुपर्ने जति मह नभएकाले मरेका जानकारी दिनुभयो ।

मौरीपालक किसानका घार हेर्दा पोलाको माथिलो भागमा हुनुपर्ने जति मह नभएपछि मौरी मरेको हो । “कुटमा पोषण हुन्छ, कुट नै नभएकाले मौरी मरेका हुन”, श्रेष्ठले भन्नुभयो । पोला कमजोर हुने बित्तिकै मौरी नासिने अवस्थामा पुग्ने भएकाले पोला बलियो बनाएर पोषणयुक्त बनाउन किसानले विशेष ध्यान दिनुपर्ने उहाँले उल्लेख गर्नुभयो ।

मौरी विज्ञ श्रेष्ठले मौरीमा देखिएको सङ्क्रमण, परिजीवी, विषादी र कुपोषणका कारणले यो समस्या देखिएको बताउनुभयो ।

“अध्ययनका क्रममा यहाँका मौरीपालनको व्यवस्थापकीय पक्ष राम्रो देखिएको छ । घार पनि व्यवस्थित रुपमा राखिएका छन”, उहाँले भन्नुभयो,“कुपोषण, मौरी चरण क्षेत्रमा विषादीको प्रयोगलगायत करणले पोषणको कमी भई मौरी मरेका हुन् । मरेका मौरीको नमूनाको थप अध्ययन गर्न नेपाल कृषि अनुसन्धान केन्द्रको किट तथा नेपाल बाहिर पठाएर रोगको पहिचान गरिने मौरी विज्ञ श्रेष्ठले जानकारी दिनुभयो । “कतिपय स्थानमा सुलसुले रोगले गर्दा पनि मौरी मरेका देखिएको छ ।

'यसबारे विस्तृत विवरण थप अध्ययन, परीक्षणबाट थाहा हुन्छ',उहाँले भन्नुभयो । तीन वर्षदेखि मौरीमा देखिएका विभिन्न रोगबारे अध्ययन गर्न मौरी विकास केन्द्रका विज्ञ श्रेष्ठको टोली विभिन्न स्थान पुगेर अनुसन्धान गरिरहेको छ । श्रेष्ठको टोलीसँग किट विकास महाशाखाका सुनिलकुमार जैसवाल र जिल्लास्थित कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाले अध्ययनसम्बन्धी जानकारी दिँदै समस्या समाधानका उपायलगायत पक्षका बारेमा छलफल गर्नुभएको थियो ।

जिल्लाका मौरीपालक किसानले सेराना जातको मौरी पाल्दै आएकाछन् । पातारासी गाउँपालिका-१ पेरे, गुठिचौर गाउँपालिकाको गुठिगाउँ, तातोपानी र चन्दननाथ नगरपालिकामा रहेका घार, वरपरको वातावरण, रोग र किरासम्बन्धी टोलीले अध्ययन गरेको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *