-बाबुराम दाहाल
भक्तपुर । कम तौलको गहनाको बढी तौलको बिल बनाई ठगी गर्नेगरेको आरोपमा महिलाहरु पक्राउ परेका छन् । भक्तपुर प्रहरीले उनीहरुलाई ब्यासीबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सप्तरी कन्चनपुर घर भई हाल जिल्ला ललितपुर महालक्ष्मी नगरपालिका-४ बर्ष ५५ की मनमाया थापा र राधा विश्वकर्मा त्यसैगरी उदयपुर घर भई ललितपुरको इमाडोल बस्ने ५४ वर्षीया चन्द्रकला विश्वकर्मा रहेका जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी मोहनमणी अधिकारीले जनाएका छन् । उनीहरुमाथि नक्कली बिलबिजक बनाई बढी मुल्यमा गरगहना बन्धकी राखी रकम ठगी गर्नेगरेको आरोप छ ।
डिएसपी अधिकारीका अनुसार आरोपी महिलाहरु भक्तपुर-२ ब्यासीमा गरगहना बन्धकी राखी रकम लिने प्रयोजनका लागि आएका थिए । ठगी उद्योग गर्दैगर्दा उनीहरुलाई पक्राउ गरिएको डिएसपी अधिकारीले जानकारी दिनुभयाे ।
उनीहरुको साथबाट विभिन्न बीलबिजकहरू, गरगहनाहरु र बन्दकी राख्दा लिने दिने कागज चिट-३० थान, विभिन्न भिजिटिङ कार्ड र नगद रु. ३ लाख ४२ हजार ५ सय रुपैयाँ पनि बरामद गरिएको प्रहरीको भनाइ छ ।
ती महिलाहरुको सम्बन्धमा ललितपुरको प्रहरी वृत्त सातदोबाटोमा ठगी सम्बन्धी उजुरी परेकोले बरामद सामानसहित थप अनुसन्धानका लागि प्रहरी वृत्त सातदोबाटो ललितपुर पठाइएको डिएसपी अधिकारीको भनाइ छ ।