भिजनलाई आइओएफटिसीको सम्मान

काठमाडौं । अमेरिकाको पोर्टल्याण्डमा मुख्यालय रहेको अन्तर्राष्ट्रिय ओपन फ्रेण्डसिप तेक्वान्दो च्याम्पिनसिप (आइओएफटिसी) ले १४औँ अन्तर्राष्ट्रिय ओपन फ्रेण्डसिप तेक्वान्दो च्याम्पियनसिपका स्वर्ण विजेता नेपालका भिजन तामाङलाई एक लाख नगदसहित सम्मान गरेको छ । सोही अवसरमा युएस वल्र्ड क्लास हलिउड तेक्वान्दो एसोसिएसनका खेलाडी सेल्बा ताम्राकारले उपलब्ध गराएको दुई सय अमेरिकी डलर पनि भिजनलाई प्रदान गरिएको थियो ।

आइओएफटिसीको आयोजनामा दक्षिण कोरियाको सिओलमा गत अगष्ट २३ देखि २४ तारिखसम्म भएको प्रतियोगितामा भिजनले पुरुष ४० केजीमुनि स्वर्ण जित्नुभएको थियो । उहाँले सेमिफाइनलमा अमेरिका तथा फाइनलमा फिलिपिन्सका खेलाडीलाई पराजित गर्नुभएको थियो । उक्त प्रतियोगितामा नेपालबाट सहभागी भिजन एक्लो खेलाडी हुनुहुन्छ । भिजन प्रतियोगिताकै उत्कृष्ट खेलाडी पनि घोषित हुनुभएको थियो ।

समग्रमा भिजनको यो दोस्रो अन्तर्राष्ट्रिय स्वर्ण हो । यसअघि भिजनले थाइल्याण्डमा भएको प्रतियोगितामा स्वर्ण जित्नुभएको थियो । विभिन्न घरेलु प्रतियोगितामा नेप्लिज तेक्वान्दो एकेडेमीका भिजनले २१ स्वर्ण जित्नुभएको छ । भिजनको प्रतिभाको कदर गर्दै सम्मान गरिएको आइओएफटिसीका निर्देशक दिवाकर महर्जनले जनाउनुभएको छ ।

सोही प्रतियोगितामा उत्कृष्ट निर्णायक बन्नुभएका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्कालाई पनि नगद २५ हजारसहित सम्मान गरिएको थियो । अन्तर्राष्ट्रिय प्रतियोगितामा अशोक उत्कृष्ट निर्णायक भएको यो १४औँ पटक हो । उहाँले करिब ४० अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरिसक्नुभएको छ ।

आइओएफटिसीका लागि खेलाडी छनोट गर्न नेपालमै गत वैशाखमा भएको चौथो राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगितामा संयोजकको भूमिका निर्वाह गर्नुभएका वरिष्ठ तेक्वान्दो प्रशिक्षक नवीनकुमार श्रेष्ठलाई पनि प्रशंसापत्रसहित सम्मान गरिएको थियो । सोही अवसरमा भारतमा भएको १०औँ एसियाली आइटिएफ तेक्वान्दो प्रतियोगिताको भेट्रानमा स्वर्ण जित्नुभएका राजमन्दिर श्रेष्ठ पनि प्रशंसापत्रसहित सम्मानित हुनुभयो ।

उहाँहरूलाई युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले एक कार्यक्रमबीच नगद र प्रशंसापत्र प्रदान गरी सम्मान गर्नुभयो । सो अवसरमा आइओएफटिसी नेपाल च्याप्टरका अध्यक्ष मिनप्रसाद खनाल र सचिव गिरीबहादुर सुनारको पनि उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *