काठमाडौं । संघीय राजधानी काठमाडौंको चक्रपथ दोस्रो खण्ड (कलंकी-बसुन्धारा) सडक अत्यन्तै दयनीय छ । सडकको छेउछाउ भत्काइएको छ । जसकारण जताततै धुलो र खाल्डाखुल्डी छन् । सर्भिस लेन निर्माणका क्रममा सडकका दुवै खण्डमा थुपारिएको ढुंगामाटोले ट्राफिक जाम बढेको छ । कामले गति लिन नसक्दा धुवाँ, धुलो, हिलो र खाल्डाखुल्डीले निरन्तरको सास्ती कायमै छ । बालुवा, गिट्टी, थुपारिएको अव्यवस्थित स्वरूप पनि देखिन्छ । अस्तव्यस्त सडक हुँदै दैनिक यात्रा गर्ने यात्रुहरू आजित छन् भने सडक आसपास व्यापार-व्यवसाय गर्नेहरू पनि हैरान छन् । जसकारण सो क्षेत्रको व्यापार-व्यवसायमात्रै चौपट्ट बनेको छैन, व्यवसाय नै छोड्नुपर्ने अवस्था आएको गुनासो व्यवसायीहरूको छ ।
दोस्रो चरणमा विस्तार गरिने भनिएको कंलकीदेखि बसुन्धरासम्मको सडक अलपत्र हुँदा सर्वसाधारण हिलो र धुलोको चपेटामा परेका छन् । दोस्रो खण्डअन्तर्गत कलंकी, वनस्थली, बालाजु र नयाँबसपार्क हुँदै बसुन्धरासम्मको आठ दशमलव दुई किलोमिटर विस्तार गर्ने सम्झौता भएको छ । तर, सोे खण्डको कामले गति लिन सकेको नसक्दा सडकमा यात्रा गर्दा सास्ती व्यहोर्नु परेको वर्षैं भइसक्यो ।
सडक विस्तारमा ढिलाइ भएको भन्दै काठमाडौंका मेयर बालेन्द्र शाहले विरोधस्वरूप सडक विभागको कार्यालयअगाडि धुलो फ्याँक्न लगाउनुभएको थियो । बालेनले विभागमा धुलो खन्याएपछि निक्कै चर्चा र विवाद पनि भयो । तर, समस्या समाधानमा कसैले चासो दिएनन् । दोस्रो खण्डभित्र पर्ने कलंकीदेखि सीतापाइलासम्मको सडक हाल चार लेनको छ भने सीतापाइलाबाट दुई लेनमा मात्र सडक विस्तार भएको छ ।
कंलकीदेखि बसुन्धरासम्मको खण्डका लागि सन् २०१८ मा डिपिआर नै बनिसकेको छ । डिपिआर अनुसार चिनियाँ पक्षले कंलकीदेखि बसुन्धरासम्मको सडक विस्तारमा मात्र सहयोग गर्ने बताएको छ । तर, नेपाली पक्षले भने कंलकीदेखि चाबहिलसम्मको सडकका लागि सहयोग गर्नुपर्नेलगायत माग राखेपछि विवाद भएको बताइन्छ ।
दोस्रो खण्ड ६ वर्षदेखि अलपत्र
चक्रपथ विस्तारका क्रममा कोटेश्वर र कंलकीसम्मको खण्ड निर्माण भएको ६ वर्ष पूरा भइसकेको छ । काठमाडौंको चक्रपथ विस्तारअन्तर्गत पहिलो चरणमा कोटेश्वरदेखि सातदोबाटो र बल्खु हुँदै कलंकीसम्मको सडक निर्माण पूरा भइसकेको छ । तीन खण्डमा विस्तार गर्न लागिएको चक्रपथमा पर्ने अन्य स्थानमा भने सडक निर्माण हुनसकेको छैन । कोटेश्वरदेखि कंलकीसम्मको १० दशमलव ३९ किलोमिटर खण्डमा चीन सरकारको सहयोगमा आठ लेनसहित सडक विस्तार गरिएको हो ।
चक्रथप पहिलो खण्ड (कोटेश्वर-कलंकी) विस्तार सकिएपछि २०७५ सालमै यो खण्डको डिजाइन र विस्तारका लागि नेपाल र चीनबीच सम्झौता भएको थियो । कोरोना महामारीको कारण देखाउँदै लामो समयसम्म चिनियाँ पक्षले काम सुरु गरेन । त्यसपछि पनि साइट क्लियर हुनुपर्ने मुद्दा उठाएर काम सुरु गरेन । २०७९ पुसतिर चिनियाँ टोली साइट निरीक्षणका लागि आएको थियो । त्यसबेला सडक आसपासका मन्दिरहरू नहटाएसम्म काम सुरु नगर्ने अडान राखेर फर्केको थियो । त्यसयता सडक विभागले साइट क्लियर गरेको एक वर्ष बितिसकेको छ । साइट क्लियर भएको जानकारी पठाउँदा पनि चिनियाँ पक्ष आएको छैन ।
आठ दशमलव दुई किलोमिटर लामो यो खण्डको विस्तार दुई वर्षभित्र सक्ने गरी ४ माघ ०७४ (१७ जनवरी २०१८)मा नेपाल र चीनबीच सम्झौता भएको थियो । २०७५ असार (जुलाई २०१८)मा पहिलो खण्ड विस्तार सकाएर हस्तान्तरण भएपछि दोस्रो खण्डले गति लिने अपेक्षा गरिएकोमा अझैसम्म अलपत्र छ । सडक कहिलेसम्म बनिसक्छ भन्ने अझैं टुंगो छैन । गत भदौ ६ गते नेपाल र चीन सरकारका प्रतिनिधिहरूबीच सडक विस्तारमा सहयोग गर्नेसम्बन्धी पत्रमा हस्ताक्षर भएको थियो । त्यसपछि दोस्रो खण्डको निर्माण प्रक्रिया अघि बढेको छ ।
बाहिरी चक्रपथका नाममा करिब १५ करोड खर्च, उपलब्धि अध्ययनमात्रै
बाहिरी चक्रपथ योजनाको २२ वर्ष पुग्दा पनि उपलब्धि भने अध्ययनमात्रै देखिएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६१औं वार्षिक प्रतिवेदन अनुसार २०५८ मा अवधारणा ल्याइएकोमा २२ वर्ष हुँदा पनि सम्भाव्यता अध्ययनको काममात्र भएको उल्लेख छ । काठमाडौं उपत्यका विकास प्राधिकरणअन्तर्गत बाहिरी चक्रपथ विकास आयोजनाबाट १४ करोड ८४ लाख ५७ हजार खर्च भएको प्रतिवेदनमा उल्लेख छ । बाहिरी चक्रपथ निर्माण व्यवस्थित जग्गा एकीकरणका आधारमा काठमाडौं उपत्यकाका तीन जिल्लामा योजनाबद्ध नयाँ व्यवस्थित शहर विकास गर्न ७२ किलोमिटर बाहिरी चक्रपथ निर्माण गरी जनजीवन सहजीकरण गर्ने भन्दै २०५८ मा अवधारणा ल्याइएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच