भक्तपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले संख्याको दम्भ नदेखाउन सरकारलाई चेतावनी दिनु भएको छ ।
प्रतिपक्षीलाई पेल्ने नीति सत्तारुढ दल नेकपा (एमाले) र नेपाली कांग्रेसलाई महँगो पर्ने उहाँले चेतावनी दिनुभयो ।
आइतबार नेपाल प्रेस सोसाइटीको सूर्यविनायकमा सम्पन्न अन्तरक्रियामा बोल्दै प्रमुख सचेतक परियारले सत्तारुढ दललाई नैतिकता नगुमाउन सुझाव समेत दिनुभयो । 'सत्ता स्थायी हुँदैन, सत्तामा रहँदा राजनीतिक नैतिकता बिर्सनु हुँदैन ।' उहाँले भन्नुभयो ।
संविधानिक परिषदमा बलियो बन्ने नियतले सत्तारुढ दलहरु मिलेर उपसभामुख इन्दिरा रानालाई पद्च्युत गर्ने प्रपन्च रचेको उहाँले आरोप लगाउनु भयो। 'उप सभामुखज्यूले कार्वाही भोग्नुपर्ने स्तरको अपराध गर्नुभएको होइन, उहाँलाई स्पष्टीकरणको मौका दिनुपर्छ ।' उहाँले भन्नुभयो । हरेक कमजोरीमा कार्वाही गर्दै जाने हो भने ठुला दलका कोही पनि बाँकी नरहने उहाँको भनाइ छ ।
सो अवसरमा प्रमुख सचेतक परियारले रास्वपा पुराना दलको बिकल्पको रुपमा आएकाले पुराना दललाई टाउको दुखिरहेको दावी गर्नु भयो । आगामी निर्वाचनमा पार्टीले प्रदेश र स्थानीय तहको चुनावमा पनि प्रतिस्पर्धा गर्ने संकेत गर्दै उहाँले भन्नुभयो , ' रास्वपा डिलमा बसेर रमिता हेर्दैन, तीनै तहको निर्वाचनमा सामेल हुन्छ ।' यसकै लागि पार्टीले प्रदेश र स्थानीय समिति बनाएको उहाँले खुलासा गर्नु भएको छ ।
त्यसैगरी रास्वपाकी केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य डा तोसिमा कार्कीले आफूहरू शासक नभई सेवक बन्न राजनीतिमा आएको उल्लेख गर्नुभयो । पूर्वमन्त्री समेत रहनुभएकी डा कार्कीले छोटो समय सरकारमा सामेल भएको अनुभवले पार्टीलाई सुशासन र बिकासको मार्गमा सरकार हाक्न सक्ने हौसला र सामर्थ्य प्राप्त भएको बताउनु भयो ।
कार्यक्रममा रास्वपाका केन्द्रीय सदस्य एवं संगठन बिभागका सचिव शंकर श्रेष्ठले असोज १ र २ गते हुने राष्ट्रिय भेलामा संगठनिक र बैचारिक बिकासका साथै बिधान संशोधन समेत हुने जानकारी दिनु भयो । भेलामा करिब २ हजार प्रतिनिधि सहभागी हुने उहाँको भनाइ छ ।
नेपाल प्रेस सोसाइटीका अध्यक्ष उपेन्द्रराज केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ भक्तपुरका सचिव संजीब घिमिरे शुभचिन्तकले विषय उठान गरेपछि रास्वपाका नेताहरु र सहभागिहरु बीच अन्तरक्रिया चलेको थियो ।
- बाबुराम दाहाल
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच