एमाले-कांग्रेसलक्षित प्रचण्डको टिप्पणी : संविधान च्यात्ने र २०४७ मा फर्कन चाहनेहरु यतिबेला मुलुकमा क्रियाशील छन्

राजेन्द्र गौतम झापा, संवाददाता
Read Time = 5 mins

झापा । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान च्यात्ने, २०४७ मा फर्कन चाहनेहरु मुलुकमा क्रियाशील भएकाे बताउनु भएकाे छ ।

आइतबार झापाको बिर्तामोडमा आयोजित राजनीतिक प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष दाहालले यस्ताे बताउनु भएकाे हाे ।

माओवादीको एजेन्डामा आएका कांग्रेस, एमालेले माओवादीलाई मूलधारमा ल्यायौं भन्नु हाँस्यास्पद अभिव्यक्ति भएको उहाँको तर्क छ । कांग्रेस, एमालेप्रति लक्षित गर्दै उहाँले भन्नुभयो,'कोही संविधान च्यात्ने, कोही २०४७ मा फर्कन चाहनेहरु मुलुकमा क्रियाशील छन् ।'

संविधानको प्रस्तावनादेखि मौलिक हकसम्म नै माओवादी, सशस्त्र संघर्षजस्ता शब्दावली उल्लेख भएपनि एमालेलाई त्यो पाच्य नभएको उहाँको टिप्पणी थियाे। अध्यक्ष प्रचण्डले हिजो दुई तिहाई भएकै बेला एमालेले संविधान च्यात्न खोजेको आरोप लगाउनु भयो ।

सत्तारूढ दल कांग्रेस, एमालेप्रति निक्कै रुष्ट देखिनुभएका दाहालले कांग्रेस, एमालेलाई माओवादीले राजनीतिको मूलधारमा ल्याएको जिकिर गर्नुभयाे। 'कांग्रेस , एमाले माओवादीलाई मूलधारमा ल्याएको अभिव्यक्ति दिन्छन्' उहाँले भन्नुभयो, 'वास्तवमा कांग्रेस, एमालेलाई माओवादीले मूलधारमा ल्याएको हो।'

पुरातनवादी दलको संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रको एजेण्डामा माओवादी नगएपछि संविधानसभा, संघीयता, गणतन्त्रको एजेन्डामा कांग्रेस, एमाले लगायतका अन्य दलहरू आएको उहाँको दाबी थियाे।

अहिलेसम्म प्राप्त उपलब्धिलाई सिध्याउने किसिमले संविधान संशोधनको कुरा ल्याए त्यो आफूहरूलाई किमार्थ मान्य नहुने दाहालको भनाइ छ । उहाँले बहुमतको घमण्ड नगर्न कांग्रेस, एमालेका नेताहरूलाई चेतावनी समेत दिनुभयाे। उहाँले अहिलेको सरकार अप्राकृतिक गठबन्धनको उपज भएको बताउनु भयो ।

सदनमा माओवादी सशस्त्र द्वन्द्वलाई एमालेले हिंसात्मक भनेकोप्रति लक्षित गर्दै उहाँ एमालेप्रति आक्रोशित सुनिनुभएको थियो ।

उहाँले एमालेलाई गधाको संज्ञासमेत दिनुभयाे । 'गधा धोएर कहिल्यै गाई हुँदैन' भन्ने चर्चित नेपाली भनाइ (उखान) को सहायता लिएर एमालेमाथि उहाँले त्यस्तो संगीन कटाक्ष गर्नुभएको हो ।

'सत्ता सहकार्यको बेला एमालेलाई सुधार्न धेरै कोसिस गरेपनि त्यो सफल भएन' आइतबार झापाको बिर्तामोडमा आयोजित राजनीतिक प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष दाहालले भन्नुभयो, 'गधालाई धोएर कहिल्यै गाई नहुँदो रहेछ, एकपटक धोएपछि हामीले पनि छोड्नु नि! हामी पनि धुनेतिर लाग्यौँ ।'

पूर्वप्रधानमन्त्री दाहालले आफ्नो नेतृत्वमा भएको सरकारले नक्कली भुटानी शरणार्थी र गिरीबन्धु टी स्टेट जग्गाको प्रकरणमा हात हालेपछि कांग्रेस, एमालेको गठबन्धन बनेको बताउनु भयो। दाहालले भन्नुभयो,'यी दुई काण्डमा दुई पार्टीका ठुलै नेताहरू पर्ने भएपछि बुढानीलकण्ठ र बालकोटको मिलन भएको हो।'

सम्बोधनको क्रममा बंगलादेशको प्रसंग समेत उल्लेख गरेर निक्कै विवादास्पद अभिव्यक्ति दिएका दाहालले भन्नुभयो,'नेपालको भूरजनीतिक अवस्थितिका कारण विश्व शक्ति राष्ट्रहरू नेपाललाई टेकेर चीनलाई घेरा हाल्ने वा नेपाललाई त्यस्तै रणनैतिक अड्डा बनाएर नयाँ युद्धको तयारी गर्ने प्रक्रियामा छन् ।'

अध्यक्ष दाहालले आन्तरिक तथा बाह्य शक्तिबाट मुलुक खतरामा रहेको बताउनु भयाे। एमालेका पुराना नेता लोकबन्धु कन्दङ्वासहित अन्य दलका सयौं नेता कार्यकर्तालाई पार्टीमा स्वागत गर्दै दाहालले २०८४ को निर्वाचनमा २०६४ को नतिजा आउने दाबीसमेत गनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *