काठमाडौं । राष्ट्रिय बाल दिवस २०८१ का अवसरमा किडपावर नेपालको आयोजना र लक्ष्मी सनराइज बैंकको सौजन्यमा काठमाडौं उपत्यकाका तीनैवटा जिल्लामा सप्ताहव्यापी कार्यक्रम आयोजना गरिएको छ । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ८, ९ र १० का दुई सयभन्दा बढी किशोरीलाई सुरक्षा र आत्मरक्षा तालिम प्रदान गरिएको थियो ।
तालिम प्रदान गरिएका विद्यालय क्रमशः गान्धी आदर्श माध्यमिक विद्यालय, कागेश्वरी मनोहरा नगरपालिका, सिद्धि मंगल माध्यमिक विद्यालय, महालक्ष्मी नगरपालिका र आदर्श माध्यमिक विद्यालय सानोठिमी भक्तपुर रहेका थिए । तालिम भदौै २५ देखि २८ गतेसम्म सञ्चालन भएको थियो । सो अवसरमा विद्यालय व्यवस्थापन समिति अध्यक्ष, प्रधानाध्यापक, सहायक प्रधानाध्यापक, शिक्षकलगायत लक्ष्मी सनराइज बैंकका शाखा प्रमुखहरूको उपस्थिति रहेको थियो ।
गान्धी आदर्श माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष गयाप्रसाद उपाध्यायले सुरक्षासम्बन्धी ज्ञानवर्धक सिकाइ विद्यालय पाठ्यक्रममा समावेश गराइए अझै प्रभावकारिता बढ्ने बताउनुभयो भने सिद्धि मंगल माध्यमिक विद्यालयका प्रधानाध्यापक मीनबहादुर अछामीले तालिमबाट सिकेका सीप शिक्षकमार्फत् अन्य विद्यार्थीलाई सिकाइने बताउनुभयो भने आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक रामबाबु रेग्मीले कार्यक्रमको निरन्तरतामा जोड दिनुभयो ।
तालिमका प्रमुख प्रशिक्षक किडपावर अन्तर्राष्ट्रिय नेपालका लागि निर्देशक अधिवक्ता सुष्मा पोखरेल र सहायक प्रशिक्षक किडपावर नेपालका प्रतिनिधि कृष्णप्रसाद खनालले गर्नुभएको थियो भने किडपावर नेपालका प्रतिनिधि सुनिता पोखरेलको समेत उपस्थिति थियो ।