काठमाडौं । सत्तारूढ दलहरूले उपसभामुख इन्दिरा रानामगरलाई हटाउने अडानबाट ब्याक हुने संकेत गरेका छन् । असम्बन्धित व्यक्तिलाई अमेरिकाको भिसा सहजीकरण गर्न दूतावासलाई पत्र लेखेका कारण विवादमा पर्नुभएकी उपसभामुख रानालाई हटाउने तयारीमा रहेका सत्तारूढ नेपाली कांग्रेस र नेकपा (एमाले)ले ब्याक हुने संकेत गरेका हुन् । गत वर्ष पाँच नेपाली युवालाई आफूसँगै अमेरिका लान अन्तर्वार्ताको मिति अगाडि सारिदिन उहाँले अमेरिकी दूतावासलाई पत्र लेख्नुभएको थियो । उहाँले लेखेको पत्र पदीय मर्यादाविपरीत भएको भन्दै कांग्रेस र एमालेले उपसभामुख रानामगरलाई हटाउने तयारी गरेका थिए । यसअघि उपसभामुख रानाले सहजै राजीनामा नदिए दुईतिहाइ बहुमत पुर्याउने दाबीसहित कांग्रेस र एमाले अगाडि बढेका थिए । एमालेले संसद्बाट राजीनामा माग्दा कांग्रेसले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक गरेर उपसभामुखले राजीनामा दिन उचित भएको निर्णय गरेको थियो ।
तर, विपक्षीको आक्रामक अभिव्यक्ति र दुईतिहाइ मत पुर्याउने सकसले तत्काल यो विषय रोकिएको हो । विपक्षीको विरोध र आन्तरिक तयारी नपुगेपछि अहिले सत्तारूढ दलहरूका बोली फेरेका छन् । उपसभामुखको विषय आफूहरूले नउठाएको उनीहरूको दाबी छ । तर, यसअघि संसद्मा दुवै दलले उपसभामुखले पदीय आचरणविपरीत काम गरेको भन्दै राजीनामा दिनुपर्ने माग गरेका थिए ।
उसो त प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यसअघि नै उपसभामुखलाई हटाउने तयारीबाट कांग्रेस-एमाले ‘ब्याक’ हुने बताउनुभएको थियो । शनिबार विराटनगर पुग्नुभएका प्रचण्डले नजानेर भएको त्रुटिका कारण उपसभामुखबाट हटाउनेसम्मको सजायमा जान नहुने बताउनुभएको थियो । ‘उपसभामुख इमानदार एक जनजाति महिला हुनुहुन्छ । उहाँले बालबच्चाका लागि ख्यातिप्राप्त काम गर्दै आउनुभएको छ । टेक्निकल्ली केही कुरा नजानेर उहाँबाट त्रुटि भएको हो,’ प्रचण्डले विराटनगर पुगेर भन्नुभएको थियो, ‘यसैले उपसभामुखबाट हटाउने सम्मको सजायमा जानु हुँदैन । उहाँलाई हटाउने कुराबाट कांग्रेस–एमाले नै पछाडि हट्छन् भन्ने लागेको छ ।’
प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषद्मा सत्तापक्षभन्दा प्रतिपक्षी बलियो अवस्थामा छ । प्रमुख प्रतिपक्षी दलको नेता माओवादी केन्द्रका प्रचण्ड, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल र उपसभामुख राना एउटा कित्तामा हुँदा प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे एउटा कित्तामा हुनुहुन्छ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश पनि परिषद्को सदस्य रहन्छन् तर उहाँ, तटस्थ भूमिकामा रहने भएकाले सत्तापक्षको बहुमत छैन । रानालाई हटाएर कांग्रेसलाई उपसभामुख दिने सरकारको योजना थियो । रानालाई हटाएर कांग्रेसका तर्फबाट उपसभामुख बनाई परिषद्मा बहुमत जुटाउने योजना प्रधनमन्त्री ओलीको थियो । तर, तत्कालका लागि यो योजना तुहिएको नेताहरू बताउँछन् ।
उपसभामुखको विषय सत्तापक्षले ल्याएको होइन : बर्तौला
एमालेले उपसभामुख राना मगरको राजीनामा मागेको वा हटाउन खोजिएको कुरामा सत्यता नभएको जिकिर गरेको छ । एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले सत्तारूढ दलहरूले उपसभामुख रानाको राजीनामा नमागेको बताउनुभयो । आइतबार सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख सचेतकहरूको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले उपसभामुखविरुद्ध रास्वपा र प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले फायर खोलेको जिकिर गर्नुभयो । ‘उपसभामुख भनेको एउटा संस्था हो । यो विषय धेरै बाहिर ल्याउन हामीले उपयुक्त ठानेनौँ । एकाएक रास्वपाकै प्रमुख सचेतकबाट फायर खोल्ने काम भयो । एउटा जिम्मेवार राजनीतिक पार्टीको तर्फबाट उपसभामुखजस्तो संस्थाको हुर्मत लिनेगरी कुनै विषय अगाडि बढाउन खोजिएको थिएन, छैन’, उहाँले भन्नुभयो, ‘विशेष गरी माओवादी केन्द्रका प्रमुख सचेतक सहितबाट यो कुरा उठेपछि हाम्रो तर्फबाट प्रतिवाद गर्ने काम भयो । यो विषय सत्तापक्षले ल्याएको होइन । बेमौसमी ढंगबाट, रास्वपा र प्रमुख प्रतिपक्षीको तर्फबाट जसरी उपसभामुखको मसला बनाउनुभयो, यो दुःखद छ । यसलाई कसरी निरूपण गर्ने भन्ने कुरा समयक्रममा अगाडि बढ्ने पनि उहाँले जानकारी दिनुभयो । संसद्को अन्त्य र प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन जान लागेका बेला रास्वपा र प्रमुख प्रतिपक्षबाट उपसभामुखको विषय मसला बनाइएको उहाँले दाबी गर्नुभयो ।
यसैगरी, रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले पनि उपसभामुखलाई हटाउने विषयमा बैठकमा कुरा उठ्दा बर्तौलाले त्यस्तो तयारी नभएको जवाफ दिएको जानकारी दिनुभयो । ‘उपसभामुखको विषयमा एमाले मुख्य सचेतक महेश बर्तौलाज्यूले त्यस्तो केही थिएन, तपाईंहरूले चाँडै कुरा उठाउनुभयो भन्नुभयो’, परियारले भन्नुभयो, ‘मैले तपाईंहरूको त्यस्तो केही रहेनछ भनेँ । संसद्मा कुरा उठाउने नै हो, कुरा बग्रेल्ती आए, हामीले उठाइ नै हाल्यौँ, तपाईंहरूको त्यस्तो केही रहेनछ भने धन्यवाद, केही पनि फेरि नहोस् भनेँ ।’
उपसभामुख रानालाई जबरजस्ती पदबाट हटाउने प्रयास गरियो : बेलवासे
माओवादी केन्द्रकी राष्ट्रियसभा सदस्य गंगाकुमारी बेलवासेले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउने खोज्ने प्रयास उचित नभएको बताउनुभएको छ । उपसभामुख रानाले आफूले केही गल्ती गरेको स्वीकार गरेपछि पनि सत्तारूढ कांग्रेस र एमालेले सो विषयलाई उचालेर जबरजस्ती कारबाही गर्न खोज्नु आफूहरूका लागि मान्य नहुने जिकिर गर्नुभयो । आइतबार राष्ट्रियसभा बैठकको शून्य समयमा सांसद बेलवासेले उपसभामुख रानाबाट भएको पत्राचारमा त्रुटि भए पनि त्यस अनुसारको काम नभएको बताउनुभयो । ‘उपसभामुखले मैली केही त्रुटिवश गल्ती गर्न पुगे भनेर गल्ती स्वीकार गरिसक्नु भएको छ । मान्छेहरू गएका पनि होइनन् । मैले त्योभन्दा बाहेक अरू गल्ती गरेको छैन भनिसक्नु भएको छ,’ उहाँले भन्नुभयो, ‘त्यसमा मलाई चित्त बुझेको छैन । त्यस्ता खालको विषय जबरजस्ती फेरि उठाउनु उचित होइन ।’