सडक मर्मतको माग गर्दै विद्यार्थी आन्दोलित

नन्दराम जैशी
Read Time = 4 mins

सुर्खेत । सडक मर्मतको माग गर्दै यहाँका विद्यार्थी आन्दोलित भएका छन् । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका र कर्णाली प्रदेश सरकारले आफूहरुलाई आन्दोलन गर्न बाध्य बनाएको उनीहरुले बताएका छन् ।

बाराम्बार सडक मर्मत गर्न माग गरेपनि नगरपालिका र प्रदेश सरकारले सुनुवाई नगरेपछि आफूहरु आन्दोलन गर्न बाध्य भएको उनीहरुले बताए ।

प्रदेश राजधानीको बिचमै रहेको गणेशचोकदेखि भैरवस्थान हुँदै ढोडेखाली जोड्ने यस सडकमा नगरप्रमुखदेखि मुख्यमन्त्रीसम्म दिनहुँ ओहोर-दोहोर गर्दछन् ।

तर यो सडकका खाल्डाखुल्डी दुई वर्ष देखि जस्ताका त्यस्तै छन् । जसले गर्दा दुर्घटना जोखिम निम्त्याएको छ । विद्यार्थीसँगै पैदलयात्रुलाई हिडेर आउजाउ गर्न सकस छ । लामो समयसम्म नगरपालिका र प्रदेश सरकार मातहतका कार्यालयले सडक मर्मत नगरेपछि आक्रोशित हुदै विद्यार्थीले सडक चक्काजाम गरेका हुन् ।

सडक मर्मत गर्न माग गर्दै जन नमूना माध्यमिक विद्यालय र भैरव माध्यमिक विद्यालयका विद्यार्थीहरुले आन्दोलन गरेका थिए । सडकमा खाल्डाखुल्डी भएको र हिडेर विद्यालय आँउदा सवारी साधनले आफ्नो ड्रेसमा हिलो छ्याप्नुका साथै बारम्बार दुर्घटना बढाएको आन्दोलित विद्यार्थीको दावी छ ।

भैरव माध्यमिक विद्यालयको अगाडी दुवै विद्यालयमा अध्ययनरत विद्यार्थीले आन्दोलन स्वरुप दुईतर्फी सडक अवरुद्ध गरेका हुन् । ‘हामीले बारम्बार नगरप्रमुखलाई यो बाटो सुधार गरिदिन अनुरोध गरेका थियौं । तर नत उहाँबाट सुनुवाई भयो, नत प्रदेश सरकारले नै यो सडक मर्मत गरेको छ’ विद्यार्थी नारायण नेपालले भन्नुभयो, ‘विद्यालय जादाँ ड्रेसमै हिलोमा छ्यापिएर जानुपर्ने अवस्था छ । दुई वर्षसम्म सडक मर्मत गर्न नसक्ने यो कस्तो सरकार ?’

बिच बजारकै सडक दुबै सरकारको ध्यानमा नपर्नु लज्जास्पद भएको भन्दै बाध्य भएर आन्दोलन गर्नु परेको विद्यार्थीले बताएका छन् । कर्णाली प्रदेश अस्पताल जाने बाटो पनि यही सडक भएका कारण सवारी साधनको चाप पनि सँधै उच्च हुन्छ ।

अर्का विद्यार्थी विपना खनालले पनि मुख्यमन्त्री यामलाल कँडेल वा नगरप्रमुख मोहनमाया ढकाल आएर सडक निर्माणबारे लिखित सहमति गरेमात्रै आफूहरु आन्दोलनबाट पछि हट्ने दावी गर्नुभयो । उहाँले भन्नुभयो, ‘नगरप्रमूख वा मुख्यमन्त्रीमध्ये एक जना आएर हामीसँग एक साताभित्र सडक मर्मत गर्नेगरी लिखित सहमति गर्नुपर्छ । नत्र थप आन्दोलन गर्न बाध्य हुनेछौं ।’

यो सडक मुख्यमन्त्री यामलाल कँडेलकै वडामा पर्छ । भने नगरउपप्रमूख निलकण्ठ खनालले यही वडाबाट प्रतिनिधित्व गर्छन् । यता नगर प्रमुख मोहनमाया ढकालले भने वर्खायाममा पानी परिरहेको हुनाले सडक मर्मत गर्न ढिला भएको दावी गर्नुभयो । अब तत्काल सडक मर्मत गर्ने योजना रहेको उहाँले बताउनुभयो । विद्यार्थीहरुले लिखित सहमति गर्न माग गरेपनि नगरप्रमुख ढकाल काम विषेशले काठमाडौंमा रहेकाले उपस्थित हुन सक्नुभएन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *