काठमाडौं । पत्रकार एवं लेखक रमेश भुसालको नयाँ गैरआख्यान कृति ‘छालबाटो’ लोकार्पण गरिएको छ । काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा-प्रतिष्ठानको डबलीमा आयोजित कार्यक्रममा भुसालकी छोरी अनुराले पुस्तक लोकार्पण गर्नुभएको हो ।
यो पुस्तकमा आफूले नदीयात्रा गर्दा भेटेका पात्रहरूको कथा रहेको भुसालले जनाउनुभएको छ । भुसालले ‘छालबाटो’ पुस्तकमार्फत पाठकलाई कैलाश मानसरोवर हुँदै तिब्बतस्थित कर्नाली नदीको उद्गमदेखि भारतको गंगासम्मको यात्रा गराउनुभएको छ ।
पत्रकार भुसालले प्रतिष्ठित अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बिबिसी, द गार्डियन, द फाइनान्सियल टाइम्स, द थर्ड पोल, द वायर, स्क्रललगायत नेपालका प्रमुख पत्रपत्रिकामा वातावरणीय विषयमा अनुसन्धानात्मक रिपोर्टिङ तथा विश्लेषण प्रकाशन गर्नुभएको छ ।
नेपालका मुख्य नदी कोशी, गण्डकी र कर्णालीको शिर-पुछार यात्रा गर्नुभएका उहाँले अन्टार्कटिकाबाहेक सबै महादेशबाट जलवायु परिवर्तनलगायत विषयमा रिपोर्टिङ गर्नुभएको छ ।