काठमाडौं । रेडियो नेपालका प्रथम गायक, ख्यातिप्राप्त रंगकर्मी, अभिनेता तथा गीतकार स्व. हरिप्रसाद रिमालको शतवार्षिकी पारेर पहिलोपटक आयोजना गरिएको राष्ट्रिय नाटक महोत्सव २०८१ आइतबार राजधानीमा शुभारम्भ गरिएको छ । स्व. हरिप्रसाद रिमाल र उहाँकी सञ्चारकर्मी पत्नी कल्याणी रिमालको नाममा स्थापित हरिप्रसाद कल्याणी रिमाल नाट्य संगीत प्रतिष्ठानले आयोजना गरेको नाटक महोत्सवको आइतबार राष्ट्रिय नाचघर जमलमा रहेको हरिप्रसाद रिमाल प्रेक्षालयबाट शुभारम्भ गरिएको हो । महोत्सवको पहिलो दिन याम नारायण आचार्य निर्देशित ‘सति कलसा’ र सुरेश पोर्तेल निर्देशित ‘घरजम’ नामक दुई नाटक प्रदर्शन गरिएको थियो ।
आइतबार सुुरु भएको महोत्सव आज (मंगलबार) सम्म जारी छ भने मध्यान्ह १२ बजेदेखि दैनिक दुई नाटक मञ्चन गरिँदै छ । सोमबार ‘नीब, नाच नवरंगी’ प्रदर्शन गरिएको र आज (मंगलबार) ‘लाशको खेती र शाल्भिया’ प्रदर्शन गरिँदै छ । बुधबार असोज २ गते स्व. रिमालको जन्मजयन्तीको दिन प्रतिष्ठानले नाटकको विजयी घोषणा गर्नेछ ।
समारोहमा चलचित्र लेखक, निर्देशक, साहित्यकार तथा कार्यक्रममा प्रमुख अतिथि यादव खरेलले नेपाली नाट्य तथा संगीत क्षेत्रमा रिमालको योगदानको चर्चा गर्दै रेडियो नेपालमा रिमालका साथ आफूले पनि सँगै काम गरेको स्मरण गर्नुभयो । उहाँले नाट्यकर्मी रिमालका साथ काम गरेकामध्ये केही व्यक्ति मात्र जीवित रहेको र उहाँहरूसँग रिमालबारे बाहिर नआएका विषयमा जानकारी लिई जानकारीमूलक पुस्तक प्रकाशन गर्न सुझाव दिनुभयो । ‘म रेडियो नेपालमा जागिरे हुँदा उहाँबाट कार्यक्रम प्रशारणसम्बन्धी ज्ञान हासिल गरेको थिए । पछि बेलायत पढ्न गएको बेला बिबिसीमा काम गर्दा त्यो पृष्ठभूमिका कारण सजिलो भएको थियो । पछि म र मेरो छोरा सम्राट् खरेलले उहाँको घरमा गएर उहाँसँग अन्तर्वार्ता लिएका थियौँ । त्यो बेला उहाँलाई अलि गाह्रो भइसकेको थियो । त्यो अन्तर्वार्ता हामीले यादव खरेल आर्काइभ युट्युबमा पनि राखेका छौँ’, उहाँले भन्नुभयो, ‘रिमालसँग जोडिएका कुराहरू उहाँ मात्र नभई प्रशारण इतिहाससँग पनि जोडिन्छ नेपाली प्रशारण क्षेत्र तथा नाटकमा उहाँको समय अविस्मरणीय खण्ड भएकाले उहाँको बारेमा जानकारी संकलन गरी पुस्तक निकाल्न सकेमा धेरै कुरा संरक्षित हुने थियो ।’
समारोहमा स्वागत मन्तव्य राख्दै प्रतिष्ठानका उपाध्यक्ष तथा प्राध्यापक प्रयागराज भट्टराई वशिष्ठले नेपाली नाट्य, गीत, संगीत, प्रशारण, फिल्मलगायत क्षेत्रमा रिमालको योगदानको चर्चा गर्नुभयो । उहाँको शतवर्षिकीको अवसरमा आयोजना गरिएको नाटक महोत्सव पछिल्लो पुस्ताका लागि प्रेरणादायी रहेको जनाउँदै रिमालको योगदानको अभिलेखीकरणमा प्रतिष्ठानले पाइला चाल्ने बताउनुभयो ।
समारोहमा आफ्ना भनाइ राख्दै कार्यक्रमका सभाध्यक्ष, प्रतिष्ठानका अध्यक्ष एवं साहित्यकार प्राडा वासुदेव त्रिपाठीले रिमालले नेपाली नाटक र संगीतको क्षेत्रमा आफ्नै युगको सुरुवात गरेको र सो युगको नायक रहेको चर्चा गर्नुभयो । प्रतिष्ठानका सदस्य सचिव एवं अभिनेता सम्राट् सापकोटाले नाटकप्रेमीहरूलाई मध्यनजर गर्दै यस किसिमको महोत्सवको आयोजना गरिएको सुनाउनुभयो । ‘काठमाडौंमा त नाटकघर कलाकार तथा नाटकसम्बन्धी गतिविधि बेलाबेलामा भइरहन्छ । तर, मोफसलमा नाटकको माहोल पहिले जस्तो छैन ।
त्यसकारण पनि हामीले नाटक राजधानी मात्र केन्द्र्रित मात्र भयो भनेर जिल्लालाई फोकस गरेका छौँ । महोत्सवमा देशका विभिन्न स्थानबाट सहभागिता जनाएका छन्’, उहाँले भन्नुभयो । सम्राट्ले नाट्यकर्मी रिमालले नाटक स्वाभाविक र जीवन्त हुनुपर्छ भन्ने धारणा र त्यसको सुरुवात गरेको जिकिर गर्नुभयो ।
महोत्सवमा सुदूरपश्चिमबाहेक बाँकी ६ प्रदेशका विभिन्न स्थानबाट प्रतिस्पर्धाका लागि आएका नाटकमध्ये जुरी टिमले प्रदर्शनको अनुमति दिएका ६ नाटक प्रदर्शन गरिनेछ भने उत्कृष्ट तीन नाटकलाई पुरस्कृत गरिने जनाइएको छ । प्रतिष्ठानका अनुसार महोत्सवमा विजयी हुनेलाई ट्रफी र सम्मानपत्रसहित पहिलो पुरस्कारस्वरूप एक लाख रुपियाँ, दोस्रो पुरस्कारस्वरूप ५० हजार रुपियाँ र तेस्रो पुरस्कारस्वरूप २५ हजार रुपियाँ प्रदान गरिनेछ । त्यसैगरी, नाटकका उत्कृष्ट निर्देशक, अभिनेता र अभिनेत्रीलाई जनही नगद १५ हजार रुपियाँ पुरस्कारस्वरूप प्रदान गरिने र महोत्सवका लागि राजधानीमा आएको नाट्य टोलीको महोत्सव अवधिभरको खाने, बस्ने र यातायात खर्चको प्रबन्धसमेत प्रतिष्ठानले गर्नेछ ।
आइतबार सुुरु भएको महोत्सव आज (मंगलबार)सम्म जारी रहनेछ भने मध्यान्ह १२ बजेदेखि दैनिक दुई नाटक मञ्चन गरिनेछ । सोमवार ‘नीब, नाच नवरंगी’ प्रदर्शन गरिएको र आज (मंगलबार) ‘लाशको खेती र शाल्भिया’ प्रदर्शन गरिने जनाइएको छ । बुधबार असोज २ गते स्व. रिमालको जन्मजयन्तीको दिन प्रतिष्ठानले नाटकको विजयी घोषणा गर्नेछ भने सोही अवसरमा कलाकर्मी र सञ्चारकर्मीलाई हरेक वर्ष प्रदान गर्दै आइरहेको शताब्दी स्मृति सम्मान पनि प्रदान गर्नेछ । यस वर्ष २०७९ र २०८० साल गरी कला र सञ्चार क्षेत्रमा योगदान पुर्याउने नयाँ र पुराना गरी आठ व्यक्तित्वलाई दुई वर्षको सम्मान एकैपटक प्रदान गरिने जनाइएको छ । सम्मानको राशी ३१ र २१ हजार रुपियाँ रहेको छ ।
कार्यक्रममा रिमालका जेठा छोरा एवं प्रतिष्ठानका संरक्षक अरुणप्रसाद रिमालका साथका प्रतिष्ठानकी संरक्षिका एवं रिमाल पत्नी एवं रेडियो नेपालकी पूर्वसमाचार वाचिका कल्याणी रिमालका साथमा प्रतिष्ठानका सदस्यहरूको सहभागिता थियो ।
विसं २०६५ मा स्थापना गरिएको प्रतिष्ठानले कला साहित्य, सञ्चार र नाटकका क्षेत्रमा योगदान गर्ने स्रष्टालाई हरेक वर्ष सम्मान गर्दै आएको छ ।