काठमाडौं । सरकारले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा विगत लामो समयदेखि वेवारिसे अवस्थामा रहेका मोबाइल प्रयोगशाला भ्यान तत्काल सञ्चालनमा ल्याउन विभागलाई निर्देशन दिएको छ । आइतबार सम्पन्न खाद्य स्वच्छता तथा गुणस्तर सिफारिस समितिको पहिलो बैठकले यस्तो निर्देशन दिएको हो ।
खाद्य स्वच्छता तथा गुणस्तर सिफारिस समितिको व्यवस्थाअनुसार समितिको पहिलो बैठकमा समितिका अध्यक्ष तथा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. दीपककुमार खरालले हाल विभागमा रहेको मोबाइल प्रयोगशाला भ्यान तत्काल चाँडो सञ्चालनमा ल्याई ठाउँको ठाउँ खाद्यवस्तुको स्थलगत परीक्षण गरी उपभोक्ता स्वास्थ्यको रक्षा तथा उपभोक्ता हितमा राज्यबाट भएको लगानीको सदुपयोग गर्न पनि विभागलाई निर्देशन दिनुभएको हो । उहाँले मोबाइल भ्यान राजधानी, पूर्वपश्चिम राजमार्ग, उपत्यका छिर्ने नाकामा रहेका भोजनालय तथा देशका विभिन्न महानगरहरू केन्द्रित गरी सञ्चालन गर्न निर्देशन दिनुभएको छ ।
सचिव खरालले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ कार्यान्वयनका लागि खाद्य नियमावलीको मस्यौदा गरी मन्त्रालयबाट गठिन प्राविधिक समितिमा छलफल गरी शीघ्रसाथ नियमावली तर्जुमासम्बन्धी कार्य सम्पन्न गरी स्तर निर्धारणका क्रममा रहेका छुर्पी र मस्यौराको मापदण्ड स्विकृतिका लागि मन्त्रिपरिषद्मा पेश गर्न पनि निर्देशन दिनुभयो । साथै उहाँले चाडपर्व नजिकिँदै जाँदा खाद्यवस्तुको गुणस्तर तथा स्वच्छतामा हुन सक्ने अवाञ्छित क्रियाकलाप कानुनी दायरामा ल्याउन विभाग तथा मातहतका सम्पूर्ण कार्यालयबाट अनुगमनमा तीव्रता दिन निर्देशन दिनुभयो । सचिव खरालले बजार अनुगमनका लागि राज्यका तिनै तहहरू लाग्नुपर्ने आवश्यकता भएकाले विभागवाट आवश्यक समन्वयका लागि पहल गर्नसमेत निर्देशन दिनुभएको विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले जानकारी दिनुभएको छ ।
सरकारले खाद्य मोबाइल ल्याब भ्यान राजधानी, पूर्वपश्चिम राजमार्ग, उपत्यका छिर्ने नाकामा रहेका भोजनालय तथा देशका विभिन्न महानगरहरू केन्द्रित गरी सञ्चालन गर्न निर्देशन दिएको हो ।
खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ कार्यान्वयनका लागि हाल विभागमा भएको जनशक्ति अपुग रहेकाले समय सन्दर्भअनुरूप खाद्य स्वच्छता कायम गर्न खाद्य स्वच्छता व्यवस्थापन प्रणाली सुदृढ बनाउन जनशक्ति पुनरवलोकनका लागि संगठन संरचना तथा दरबन्दी विवरणसम्बन्धी सर्भे गरी आवश्यक जनशक्ति प्रस्ताव पेश गर्न पनि उहाँले निर्देशन दिनुभएको छ । खाद्य स्वच्छता तथा गुणस्तरको विषय बहुआयामिक विषय भएकाले सोसँग सम्बद्ध सरोकारवाला जस्तै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, भन्सार प्रशासन, मन्त्रालय मातहतकै कृषि विभाग, पशुसेवा विभाग, विषादी व्यवस्थापन केन्द्रलगायतका निकायसँग समन्वय गरी खाद्य स्वच्छता कायम गर्न एकीकृत कार्ययोजना तयार गरी कार्यान्वयन गर्न पनि विभागलाई उहाँले निर्देशन दिनुभएको छ । समितिबाट प्राप्त निर्देशन विभागले शीघ्र क्रमैसँग पालना गर्ने प्रतिबद्धता विभागका महानिर्देशक सञ्जीवकुमार कर्णले व्यक्त गर्नुभएको छ ।
बैठकमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट खाद्यवस्तुको स्तर निर्धारणसम्वन्धी ऐनमा रहेका प्रावधान, सिफारिस समितिको काम, कर्तव्य, अधिकार, स्तर निर्धारण प्रक्रिया तथा विभागले विगतमा स्तर निर्धारणसम्बन्धी गरेका कामबारेमा प्रस्तुति भएको थियो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा भएको बैठकमा समितिका सदस्यहरू, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव, कृषि तथा पशुपन्छी मन्त्रालयका सहसचिव डा. हरिबहादुर केसी, वन तथा वातावरण मन्त्रालयका सहसचिव, नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधि, नेपाल कृषि अनुसन्धान परिषद्(नार्क)का वरिष्ठ वैज्ञानिक डा. रोमन कार्की, समितिका सदस्य-सचिव तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जीवकुमार कर्ण तथा उपमहानिर्देशक सोमकान्त रिजाललगायतको उपस्थिति रहेको थियो । सरकारले खाद्य ऐन, २०२३ खारेज गरी ‘खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१’ नेपाल राजपत्रमा गत वैशाख २३ गते प्रकाशनपछि ९१औँ दिनदेखि लागू हुने व्यवस्थाअनुरूप साउन १९ देखि लागू भएको छ ।
खाद्य बजारमा चरम बेथिति
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले विगत केही सातायता दैनिकरूपमा गर्दै आएको बजारमा अनुगमनका क्रममा खाद्य बजारमा चरम बेथिति रहेको तथ्य फेला परेको छ । विभागले आकस्मिक बजार अनुगमनका क्रममा काठमाडौंको सिनामंगलस्थित प्राप्ति फुड प्रोडक्ट्सको भण्डारण कक्षमा प्याक गरी लेबल नलगाएको अवस्थाको एक लिटरका ३० डब्बा घ्यू, करिब ३० केजी डिप फ्रिजमा भण्डारण गरेको नौनी र करिब ५० लिटर तयारी घ्यू ड्रममा भण्डारण गरिएको पाइएको छ । उक्त घ्यूको गुणस्तरमा आशंकामा बिक्रीवितरण रोक लगाउनुका साथै नमुना संकलन गरी परीक्षणका लागि अनुगमन टोलीले प्रयोगशालामा पठाएको छ ।
त्यस्तै सूर्यविनायक नगरपालिका ३, बालकोटस्थित विके पूर्वेली घ्यू प्याकिङ उद्योगमा बिक्रीका लागि तयार गरिरहेको एक लिटरका १० डब्बा र आधा लिटरका २० डब्बा घ्यू पाइएकोमा आधा लिटर घ्यूको नमुना संकलन गरी परीक्षणका लागि प्रयोगशालामा पठाइएको छ । कागेश्वरी मनोहरा नगरपालिका ९ स्थित सनसिटी ग्लोबल आइएमई बैंकअगाडि रहेको दर्ता नभएको उद्योगमा अनुगमन गर्दा तीन केजीमात्रै नौनी भेटिएकाले उद्योग सञ्चालकलाई अनुमतिपत्र लिएरमात्र बिक्रीवितरण गर्न निर्देशन दिनुका साथै नौनीको नमुना संकलन गरिएको विभागले जनाएको छ ।
त्यसैगरी विभागबाट टेकुस्थित तास एण्ड सेकुवा महल अनुगमनका क्रममा खाद्य रंग जथाभावी प्रयोग गरेको, फ्रिज फोहोर तथा अव्यवस्थित पाइएको, किचेनमा सरसफाइमा कमी रहेको, पकाइसकेको खाद्य पदार्थ नछोपी राखेको, व्यक्तिगत सरसफाइको कमी रहेको र खानेकुरा अव्यवस्थित तरिकाले भण्डारण गरी राखेको पाइएकाले सुधार गर्न निर्देशन दिइएको विभागले जनाएको छ । तास एण्ड तन्दुरी हाउस टेकुमा अनुगमन गर्दा सुधारका लागि आवश्यक निर्देशनसहित गुणस्तरहीन एक बोतल गुलाव जल नष्ट गरिनुका साथै टेकुस्थित फन्को तन्दुरी क्याफे एण्ड बर्गरका नुडल्स नष्ट गरिएको र सरसफाइ तथा कैफियत भएका कुरा सुधार गर्न निर्देशन दिइएको विभागका प्रवक्ता मोेहनकृष्ण महर्जनद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच