काठमाडौं । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रकाशमान सिंह राउत सिफारिश हुनुभएको छ । सोमबार साँझ बालुवाटारमा बसेको संवैधानिक परिषद्को बैठकले राउतको नाम सिफारिश गर्ने निर्णय गरेको हो । वरिष्ठताका हिसाबले राउतलाई प्रधानन्यायाधीशमा सिफारिश गर्ने निर्णय गरिएको उपसभामुख इन्दिरा रानाले जानकारी दिनुभयो ।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ ६५ वर्षे उमेर हदका कारण आगामी असोज १८ गते अवकाशमा जाने भएकाले एक महिनाअगावै नयाँ प्रधानन्यायाधीश सिफारिश गर्नुपर्ने संवैधानिक दायित्वबमोजिम परिषद्ले राउतलाई नयाँ प्रधानन्यायाधीशका लागि सिफारिश गरेको हो । बैठकमा परिषद्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा राना, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालको उपस्थिति रहेको थियो । न्याय परिषद्ले प्रधानन्यायाधीशका लागि योग्यता पुगेका आठजना न्यायाधीशहरूको सूची संवैधानिक परिषद्मा पठाएको थियो । परिषद्ले वरिष्ठताका आधार सर्वोच्चका न्यायाधीश राउतलाई प्रधानन्यायाधीशमा नियुक्त गर्न सिफारिश गर्ने निर्णय गरेको हो ।
नयाँ प्रधानन्यायाधीशका रूपमा सिफारिश हुनुभएका राउत २०७३ साउन १७ गते सर्वोच्च अदालतको न्यायाधीश नियुक्त हुनुभएको थियो । प्रधानन्यायाधीश र सर्वोच्च अदालतका न्यायाधीशको उमेर हद ६५ वर्ष रहेकाले उहाँले आगामी २०८१ चैत ६ सम्म प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्ने मौका पाउनुहुने छ ।
राउत २०१७ चैत ६ मा उदयपुरमा जन्मिनु भएको हो । उहाँले त्रिभुवन विश्वविद्यालयअन्तर्गत रहेको नेपाल ल क्याम्पसबाट कानुनमा स्नातक गर्नुभएको छ । उहाँले २०४० सालदेखि २०७३ सालसम्म गरेर करिब ३३ वर्ष अधिवक्ता र वरिष्ठ अधिवक्ताको रूपमा काम गर्नुभएको थियो ।
राउतसँग अधिवक्ता र वरिष्ठ अधिवक्ताको रूपमा विशेष गरी देवानी, फौजदारी, संवैधानिक मुद्दा र रिटमा विशेषज्ञता छ । यसबाहेक, उहाँले विभिन्न सार्वजनिक संस्थान र निजी संस्थामा कानुनी सल्लाहकारको रूपमा पनि काम गर्नुभएको छ । उहाँले नेपाल बार एसोसिएसनमा संवैधानिक समितिको संयोजकको रूपमा समेत काम गर्नुभएको थियो । उहाँ २०६३ सालमा सर्वोच्च अदालत बार एसोसिएसनको अध्यक्षसमेत हुनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच