समयलाई हामीले सेकेन्ड, मिनेट, घण्टा, दिन, महिना, वर्ष आदिमा मापन गर्दछौं । समय बित्छ, घटना हुन्छन् अर्थात् समयको चल बिन्दु स्थानान्तरित हुन्छ । समय नदीको प्रवाहजस्तै निरन्तर र अविछिन्न बग्छ । समय चलायमान छ । दुई लगातार घटित घटना वा कुनै गतिशील बिन्दुको एक बिन्दुबाट अर्को बिन्दुसम्मको अन्तराल अर्थात् प्रतीक्षानुभूतिलाई समय भनिन्छ । समय कुनै एक निश्चित सन्दर्भ या स्थितिको मानक हो । यो हरपल निरन्तर परिवर्तनशील छ । समयको परिवर्तनको छालमा बग्न सक्नुपर्छ । समयको चालको बेगसँग निरन्तर बग्न सक्नेहरू निःसन्देह सफल हुन्छन् । समयको बेगसँग बग्नेहरूले समयलाई सकारात्मक सदुपयोग गर्नुपर्छ ।
समयको सकारात्मक प्रयोग नगर्नेहरू गन्तव्यमा पुग्दैनन् । क्रियाशीलता मात्रै सफलताको द्योतक होइन । क्रियाशीलताले त्यसलाई सफल बनाउँछ जसले क्रियाशीलतालाई सकारात्मक सदुपयोग गर्छ । समय मानव जीवनको अनमोल धन हो । किनकि बितेका पल फिर्ता हुँदैनन् । मानवमात्रका लागि वर्तमान समय महत्वपूर्ण हुन्छ । वर्तमान समयलाई सदुपयोग गर्नु नै मानवमात्रको सच्चा धर्म हो । समय विभिन्न मापकको एक घटकमात्र हो जसको उपभोग घटनालाई अनुक्रमित गर्नु, भौतिक वास्तविकता तथा चेतन अनुभवमा मात्राको परिवर्तनका दरको मापन गर्नलाई प्रयोग गरिन्छ ।
समयलाई सदुपयोग गरियो भने समयसँग सुख, सुविधा, आनन्द र समृद्धि प्रदान गर्ने क्षमता हुन्छ । वृद्धहरू सक्रिय हुँदा युवा आलस्य त्याग्न बाध्य हुन्छन् । हर काम समयमा जसले गर्छ उसको भविष्य उज्ज्वल छ । हामीले आफ्नो र अन्यका गल्तीहरूबाट सिक्नुपर्छ । अर्काको सफलताबाट प्रेरणा लिन सक्नुपर्छ ।
समय सबैका लागि अमूल्य छ । तसर्थ समयलाई बर्बाद गर्नु हुँदैन । समयलाई बर्बाद गर्नु भनेको स्वयंलाई बर्बाद गर्नु हो । समय पैसाभन्दा मूल्यवान छ । समयले कसैलाई प्रतीक्षा गर्दै न, यो चलायमान र नाशवान छ । समयको सही उपयोग एक प्रकारको कला हो, जसले समयलाई सकारात्मक प्रयोग गर्छ उसले सफलताको लक्ष्य चुम्छ । समय एक अनमोल ईश्वर प्रदत्त धन हो । समयलाई नष्ट गर्नु र दुरुपयोग गर्नु भनेको अनमोल सम्भावनालाई उपयोग गर्न अक्षम हुनु हो । समयको सदुपयोगको कुञ्जी समयको व्यवस्थापन कुशलतामा भरपर्छ । समयलाई उच्चतम सदुपयोग गर्ने कलाको सिद्धि भनेको व्यक्तिले स्वयंलाई अनुशासित बनाउने संकल्प हो । कामलाई समयबद्धताका साथ पूरा गर्ने योजना र संकल्प भनेको अनुशासनका माध्यमले लक्ष्यलाई प्राप्त गर्ने विधि हो । समयको सदुपयोगले व्यक्तिको दक्षताको उत्पादकता बढ्छ ।
सफलता, समृद्धि र सुख प्राप्ति त्यसले गर्छ जसले समयको उच्चतम सदुपयोग गर्छ । समयको गुणवत्ताले जीवनको गुणवत्तालाई प्रभावित गर्छ । समय यस्तो मूल्यवान सम्पत्ति हो न यसलाई खरिद गर्न सकिन्छ न त संग्रहित गर्न नै सकिन्छ । समयलाई सदुपयोग गर्नु नै सफलताको मूल मन्त्र हो । समयको सदुपयोग व्यक्ति, समाज र राष्ट्रको उन्नतिका लागि महत्वपूर्ण हुन्छ । समयलाई व्यवस्थित, सही र उच्चतम उपयोग गरेर हामीले सामाजिक एवं आर्थिक प्रगतिमा योगदान गर्न सक्छौं । समयको उच्चतम प्रबन्धन गर्ने क्षमता, योग्यता र कला जीवन सफलताको राजमार्ग हो । समयको सदुपयोग जीवनलाई सफल बनाउने कुञ्जी हो ।
व्यक्ति सफल हुन दैनिक कार्ययोजना अनुसार चल्नुपर्छ । प्रत्येक क्षणलाई कसरी सदुपयोग गर्न सकिन्छ भन्ने सोच र चिन्तनले व्यक्तिलाई सफल बनाउँछ । समयको अपव्यय असफलताको मूल कारण हो । समयको बर्बादीप्रति जुन समाजले अफसोस गर्दैन त्यो समाजले प्रगति गर्दैन । आज भएको समयको सदुपयोग र मिहिनेले भोलि समृद्धि अवश्य ल्याउँछ । जीवनको अन्तिम साससम्म पनि समयलाई बर्बाद गर्नुहुँदैन । सेवा निवृत्तहरूलाई क्रियाशील गर्ने योजना र कार्यक्रमको अप्रत्यक्ष प्रभाव युवाहरूको कार्य तत्परता, कार्यघण्टामा पर्छ ।
समयलाई सदुपयोग गरियो भने समयसँग सुखसुविधा, आनन्द प्रदान गर्ने क्षमता हुन्छ । वृद्धहरू सक्रिय हुँदा युवाहरू आलस्य त्याग्न बाध्य हुन्छन् । सधैं उपयोगी कामबाट समयको सदुपयोग गर्नुपर्छ ताकि हामीलाई समयले समृद्धि प्रदान गर्न सकोस् । व्यक्तिले यदि समयको उच्चतम प्रयोग गर्न सक्यो भने उसको दक्षता र कार्यक्षमता वृद्धि हुन्छ । परिणामस्वरूप समय सफलतातिर स्वतःनिर्देशित हुन्छ । समयलाई सदुपयोग गर्नका लागि अल्पकालीन र दीर्घकालीन दुवै अवधिको लक्ष्य निर्धारण गर्ने विषय महत्वपूर्ण हुन्छ । लक्ष्यले आफैं मार्गनिर्देशक शक्तिको रूपमा काम गर्न उत्प्रेरित गर्छ । लक्ष्य निर्धारणको अभ्यासले व्यक्तिको दक्षता बढ्छ । परिणामस्वरूप व्यक्ति अधिकाधिक काम गर्न उत्प्रेरित हुन्छ । वास्तवमा जनजीवनलाई प्रत्यक्ष प्रभाव पार्ने भनेको व्यावहारिक पक्ष हो । हाम्रा राजनीतिका शीर्षस्थहरूले समयको सदुपयोग गरेका छन् कि दुरुपयोग गरेका छन् ? यो यक्ष प्रश्नको सेरोफेरोमा विकास र समृद्धिको विषयलाई मापन गर्दा नै यसले वस्तुस्थितिलाई प्रकटीकरण गर्छ ।
हामीले राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, प्रतिपक्षी दलको नेता, मन्त्री, संवैधानिक आयोगका पदाधिकारीहरू, कूटनीतिक सेवामा कार्यरतलगायतलाई आवास, सवारीसाधन, इन्धन, चालक, मोबिल, पेट्रोल सवारीसाधन मर्मत, पत्रपत्रिका, पानी, बिजुलीका अतिरिक्त निजी सहायक, सुरक्षाकर्मीलगायता विविध सुविधा लिने पदाधिकारीहरूको पूरै समयलाई राज्यले उक्त पदमा बहाल रहँदाका मितिसम्म खरिद गरेको छ । यस्ता पदधारीसँग निजी समय हुँदैन । निजी समयलाई म परित्याग गर्छु भन्ने करारनामा हो सबै पदाधिकारीहरूको नियुक्ति । यस्ता पदाधिकारीहरूले समयलाई कति राष्ट्र र जनताको हितमा प्रयोग गर्छन् त्यसले नै देशको कानुन व्यवस्था, सुशासन आदिको पूर्वाधार तयार हुन्छ ।
नेपालमा यसरी नियुक्ति लिने पदाधिकारीमध्ये सबैलाई आफ्नो काम, कर्तव्य, अधिकारका साथै कामलाई कसरी अगाडि बढाउने भन्ने विषयमा पूर्वज्ञान कमैमा छ । फेरि हाम्रो कमजोरी भनेको कुनै पदमा नियुक्ति पाएपछि आफूलाई त्रिकालदर्शी ठान्ने प्रवृत्ति र अहंले देश सुशासनको दिशामा जाने लक्षणसम्म देखिएको छैन । भाषणमा सुशासन, विकासलाई बारम्बार फलाक्ने तर व्यवहार भने सुशासन, विकास र समृद्धिविरोधी गतिविधिमा समयलाई खर्च गर्ने हाम्रो दीर्घरोगको मनोवैज्ञानिक उपचारविना देशमा सुशासन, विकास र समृद्धि भाषणमा हुने हल्लाले किमार्थ आउँदैन ।
जिम्मेवारहरू जिम्मेवारीमा रहँदाका बखत जनता र देशको हितमा प्राप्त समयलाई उच्चतम सदुपयोग गर्ने चरित्र र मनस्थितिको विकास नहँुदासम्म सुशासनको पूर्वाधार बन्दैन । यस्तो परिस्थितिमा सुशासनको भाषण र अपेक्षाको के अर्थ ? प्रधानमन्त्री जस्तो प्रमुख कार्यकारी पदमा बस्ने व्यक्ति आत्मकेन्द्रित, परिवार, नातागोता, गुट र टाढासम्म पुग्यो भने पार्टीमा केन्द्रीकृत हुने अवस्थाले देश कसरी बन्छ ? सदनमा हुने छलफलका विषय देश र जनतासँग सम्बन्धित अत्यन्तै कम हुन्छन् । सदनले गर्नुपर्ने कामभन्दा पार्टी-पार्टीबीचको झगडा, घमण्ड आदिले संसदको महत्वपूर्ण समयलाई बर्बाद गर्दै आएको कुरा जगजाहेर छ । सदन सञ्चालनका लागि राज्यको अथाह लगानी छ । सदनको समयमा जनताको कति लगानी छ ? के त्यो लगानी कुनै पार्टी र कुनै नेताहरूले यसको दुरुपयोग हुनुहुुँदैन भन्ने सोच र चिन्तन व्यवहारमा देखाउन सकेका छन् ? किमार्थ छैनन् । एउटा शब्दमा, एउटा पार्टीको नेताको लहडमा सदनका कामकारबाही महिनौं रोकिने अवस्था भनेको सिंगो सदनको समयको दुरुपयोग हो ।
देशको कानुन निर्माण गर्ने निकाय आफैं कानुन, नियमविपरीत अवरुद्घ हुने अवस्थाले हाम्रो व्यवस्था र यसका सञ्चालकहरू असफल भएको प्रमाणित गर्दैन ? सदनसम्म सुचारु गर्न नसक्ने सरकारले देशको अवस्थालाई बदल्छ भन्ने हाम्रो विश्वासलाई जिम्मेवारहरूले कति धोखा दिएका होलान् यो सामान्य नागरिकले अनुभव गरेको विषयप्रति सम्बन्धित पक्ष किन सधैं बेखबर हुन्छ । पदासीनहरू सधैं आफ्नो कर्तव्य र दायित्वलाई बेवास्ता गर्ने, जनताले किनेको समयलाई आफ्नो, आफ्नाहरूको हितमा खर्चेर सार्वजनिक जिम्मेवारीमा खर्चनुपर्ने समयको दुरुपयोग गर्ने प्रवृत्ति गरिबी, अभाव र पछौटेपनका लागि जिम्मेवार छ ।
के अहिलेसम्म देशको राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, मन्त्रीजस्ता उच्च पदस्थले आफ्नो कामकारबाहीलाई व्यवस्थित गर्न आगामी दिनका कामको कार्यतालिका सार्वजनिक गर्न सकेका छन् ? कार्यतालिकाविना काम कसरी व्यवस्थित हुन्छ । लाग्छ यिनीहरूलाई कार्यतालिकाको महत्व नै थाहा छैन ? कार्यतालिकाको मर्मसम्म थाहा नहुने व्यक्तिहरूको निर्देशनमा देश कसरी र किन व्यवस्थित हुन्छ ? आफूलाई समयसारिणी अनुसार तोकिएको जिम्मेवारी निश्चित समयमा पूरा कसरी गर्ने भन्ने सामान्य खाका कोर्न नजान्ने, नसक्नेले समृद्धि र सुशासन जस्तो जटिल काम सम्पन्न गर्छन् भनेर जुन जिम्मेवारी सुम्पेका छौं त्यो हाम्रो भुल हो ।
हाम्रा सार्वजनिक पदधारकले हामीले सुम्पेको समयलाई दिनदिनै र छिनछिनै दुरुपयोग गर्दै आएका छन् । जनतालाई दिएको समयलाई जसले उच्चतम सदुपयोग नगरेर दुरुपयोग गर्छ ती समयप्रति इमानदार हुन नसक्नेहरू देश र जनताप्रति कसरी इमानदार हुनसक्छन् ?
हालसम्मको अनुभवले सबै पात्र अक्षम छन् भन्ने कुरा देशको लथालिंग र भताभुंग अवस्थाले प्रमाणित गरेको छ । यस्ता पदाधिकारीहरूको काम समयलाई निजी लाभका लागि प्रयोग गर्ने र सार्वजनिक काममा खर्च गर्नुपर्ने पूरै समयको दुरुपयोगको प्रतिफल हो कुशासन, भ्रष्टाचार, अनियमितता साथै प्रतिवर्ष घट्दो निर्यात र आकासिँदै गरेको आयात ।
सडक निर्माणको दुर्दशाको सिकार नागरिक सधैं किन हुनुपर्ने ? उदाहरणका लागि महेन्द्र राजमार्गको नारायणगढ बुटवल खण्ड विस्तार र सुधार गर्न ठेक्का दिएकोमा ठेक्का अवधि पूरा भएपछि पनि दुई-तीन पटक म्याद थप्ने काम भयो । बाटाको काम अझै आधा पनि सम्पन्न भएको छैन । जनताले भोग्नुपरेको सास्ती शब्दमा व्यक्तसम्म गर्न सकिने अवस्था छैन । यस्तो जनतासँग प्रत्यक्ष जोडिएको विषयमा प्रधानमन्त्री र सम्बन्धित मन्त्रीले आजका मितिसम्म ठेकेदारको ठेक्का भंग गर्ने वा उसले छिटोभन्दा छिटो सम्पन्न गर्न कानुनी दबाब दिने योजनालाई कार्यान्वयन गर्ने विषयमा किन पर्याप्त समय दिन सक्दैनन् । हातमा ठेकेदारले दिएको घडी, जुत्ता, कपडामात्रै होइन चढ्ने गाडीसमेत दुर्गा प्रसाईं जस्ताबाट दान लिनेहरूले ठेकदारसँग आँखा जुधाएर कुरा गर्ने आत्मबल नै छैन ।
दुर्गा प्रसाईले गाडी दिएको विषय किन संसद्मा छलफलको विषय बन्दैन । दोषी को हो त्यो जनतालाई सुसूचित गर्नु पर्दैन ? सबै पार्टीका नेताहरूको हविगत उस्तै भएकाले नै तैँचुप मैँचुप भएको त होइन ? ठेकेदारहरूको सहयोगमा घरबास गर्नेहरू र सधैं निर्वाचनको खर्च जुटाउनेहरू नै जिम्मेवारीमा हुने अवस्थामा ती ठेकेदारहरूको सहयोग गुम्छ कि भनेर आतंकित हुने हाम्रा सार्वजनिक पदधारकहरूले हामीले सुम्पेको समयलाई दिनदिनै र छिनछिनै दुरुपयोग गर्दैआएका छन् । जनतालाई दिएको समयलाई जसले उच्चतम सदुपयोग नगरेर दुरुपयोग गर्छ ती समयप्रति इमानदार हुन नसक्नेहरू देश र जनताप्रति कसरी इमानदार हुनसक्छन् ?
जबसम्म सार्वजनिक पदमा हुनेहरूमा यो जिम्मेवारीमा रहँदाको समय मेरो निजी होइन यो जनताको समयलाई मैले दुरुपयोग गर्नुहँुदैन भन्ने विवेक र चेतको विकास हुँदैन त्यस बेलासम्म सुशासन, विकास र समृद्धि हात्तीका देखाउने दाँत हुन् । चपाउने दाँत भनेको नेताहरूको व्यक्तिगत, पारिवारिक, नातागोता र पार्टीका गुटका व्यक्तिहरूको समृद्धिका लागि समयको चरम दुरुपयोग हो । समयको दुरुपयोग नरोकिने अवस्थामा सुशासन, विकास, समृद्धि र भ्रष्टाचार नियन्त्रण बारे नेताहरूका धारणा भ्रम छर्ने खेतीबाहेक जनउत्थानका विषय किमार्थ होइनन् । त्यसैले समयलाई सधैं दुरुपयोग गर्ने नेतृत्वको वर्तमान कार्यशैलीबाट विकास र समृद्धि व्यवहारमा किमार्थ सम्भव छैन ।