कैलाली ।उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले सहकारी प्रकरणमा सरकार कानुनअनुसार अघि बढ्ने बताउनुभएको छ ।
धनगढी उपमहानगरपालिकाको १०औं स्थापना दिवसका अवसरमा मंगलबार भएको कार्यक्रममा उपप्रधानमन्त्री सिंहले सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धी गठित संसदीय विशेष समितिले बुझाएको प्रतिवेदन सरकारले कार्यान्वयन गर्ने बताउनुभएको हो ।
संसदीय विशेष समितिले सहकारीको रकम दुरुपयोग सम्बन्धी प्रतिवेदन बुझाएको बताउदै उहाँले सरकारले प्राप्त गरेपछि प्राप्त सुझावका आधारमा अध्ययन गर्ने र समितिको सुझावको आधारमा सबै प्रक्रिया पूरा गर्नुपर्ने सरकारको दायित्व रहको र पुरा गर्ने बताउनुभयो ।
उपप्रधानमन्त्री सिंहले सबै दलको सहमतिबाट संंविधान संशोधन गरिने बताउनुभयो । ‘संविधान संशोधन एक वा दुईदलले मात्र गरेर हुँदैन’ उहाँले भन्नुभयो ‘सबै दलको सहमतिले मात्र हुने हो ।’
सिंहले विगतका सरकारहरूले भन्दा राम्रो काम गर्नेगरी अहिलेको सरकारले कामलाई अघि बढाइरहेको बताउनुभएको छ । उहाँले जनअपेक्षाअनुसार शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा सरकारले राम्रो काम गर्न खोजेको बताउनुभयो जनचाहनाअनुसार विकास निर्माणका साथै शिक्षा, स्वास्थ्य लगायत क्षेत्रमा पनि अहिलेको सरकारले विगतका सरकारहरूले भन्दा राम्रो काम गर्न ध्यान केन्द्रित गरेको बताउनुभयो ।
उहाँले स्थानीय तह, प्रदेश र संघीय सरकारले आवश्यक कानुनहरू बनाएर जनअपेक्षाअनुसार काम गर्नुपर्नेमा पनि जोड दिनुभयो । उहाँले व्यवस्थासँगै अवस्थामा पनि परिवर्तन आएको उल्लेख गर्न भयो । उहाँले सडक, खानेपानी, शिक्षा र स्वास्थ्यलगायत क्षेत्रमा पहिलेकोभन्दा तुलनात्मकरूपमा अहिले राम्रो हुँदै गएको पनि बताउनुभयो ।
सरकार घरीघरी परिवर्तन भइरहँदा नैराश्यता देखिएकोले संघीय संसदका दुई ठूला दल कांग्रेस र एमाले मिलेर अहिलेको सरकार बनाइएको सिंहले बताउनुभयो । कोभिड पछि सुस्ताएको अर्थतन्त्रलाई गति दिन, पटकपटक हुने सरकार फेरबदल प्रकृयालाई रोक्न अहिलेको गठबन्धन भएको उहाँको भनाइ छ ।
उहाँले महिनै पिच्छे सरकार फेरिने अवस्थालाई अन्त्य गर्न दुई ठुला दल मिलेको बताउनुभयो । पछिल्लो २०७९ सालको निर्वाचनपछि देशमा राजनितिक अस्थिरता देखिएकाले त्यसको अन्त्य गर्न ठुला दल मिल्नु परेको सिहंले बताउनुभयो । बर्तमान सरकारले थुप्प्रै आशा जगाउने काम गरिरहेको बताउँदै सिहंले जनतामा आश पनि पलाएको दावी गर्नु भयो ।
देशमा व्यवस्था र अवस्थामा धेरै परिवर्तन भएको बताउँदै उहाँले केही दलविरोधिहरुले व्यवस्था परिवर्तन भए पनि अवस्था परिवर्तन नभएको गलत प्रचार गरिरहेको आरोप लगाउनुभयो ।
उहाँले नेपाली कांग्रेस एकजुट रहेको र अहिले कांग्रेस सत्ता सञ्चालनसँगै संगठन विस्तारमा पनि देशभर सक्रिय भएर लागेको बताउनुभयो ।