एन्फा महिला लिग : एपिएफको विजय यात्रा कायमै

बल खोस्ने प्रयास गर्दै एपिएफ र संकटाका खेलाडी । तस्बिर : एन्फा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । काठमाडौंमा जारी एन्फा महिला लिगमा विभागीय टोली नेपाल एपिएफ क्लबले संकटा क्लबलाई पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा एपिएफले संकटालाई तीन-शून्य गोल अन्तरले पराजित गरेको हो ।

एपिएफलाई जित दिलाउन सरु लिम्बूले खेलको १३ औँ मिनेट, अनिता केसीले ५० र सविता राना मगरले खेलको ६४औँ मिनेटमा गोल गर्नुभएको थियो । जितसँगै ६ खेलमा १६ अंक जोड्दै एपिएफ तालिकाको शीर्ष स्थानमा कायमै छ भने समान खेलबाट संकटाको पाँच अंक रहेको छ ।

जितसँगै साबिक विजेता एपिएफले लिगको शीर्ष स्थानमा रहेर दोस्रो चरणमा पुग्ने सम्भावना बलियो बनाएको छ । लिगको शीर्ष पाँच टोलीले दोस्रो चरणमा स्थान बनाउनेछन् ।

शीर्ष स्थानको एपिएफले पाँचौँ जितसँगै ६ खेलबाट १६ अंक जोडेको छ । जुन दोस्रो स्थानको पुलिसको भन्दा पाँच अंकले बढी हो । यद्यपि, पुलिसले एक खेल कम खेलेको छ ।

यता, पहिलोपल्ट लिग खेलेको संकटाले विदेशी खेलाडी भित्र्याए पनि सुखद नतिजा प्राप्त गर्न सकेको छैन । ६ खेलमध्ये संकटाको यो तेस्रो हार हो । संकटा पाँच अंकससहित सातौँ स्थानमा छ । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा जारी लिगमा १० टोलीको सहभागिता छ । दुई करोड २४ लाख ६८ हजार रुपैयाँ लगानी रहेको लिगको विजेताले १० लाख र उपविजेताले पाँच लाख रुपैयाँ पुरस्कार पाउने एन्फाले जनाएको छ ।

यस्तै लिगको उत्कृष्ट खेलाडीलाई एक लाख, फेयर प्ले टोलीलाई एक लाख ५० हजार, विधागत उत्कृष्ट खेलाडीलाई जनही ५० हजार रुपैयाँ प्रदान गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *