गोपाल पराजुली (१९९८) मूलतः बाल साहित्यकार हुन् । उनले बालसाहित्यका क्षेत्रमा कविता, कथा, उपन्यास, स्थानपरिचय, राष्ट्रिय विभूतिहरू जस्ता विधामा कलम चलाउँदा चलाउँदै बालसाहित्यको पनि जीवनीका क्षेत्रमा पुगेर लब्धप्रतिष्ठित बनेका व्यक्ति हुन् । यिनले लहड चलेका बेला लेखेका केही कविता ‘समयका डोबहरू’ (२०५३) प्रकाशित भएको रहेछ । बालसाहित्यकारका रूपमा पराजुलीका साहित्यिक प्रवृत्तिनिरूपण गर्ने क्रममा मेरा आँखा उनका उपयुक्त कवितासङ्ग्रहमा परे । कविता पढ्दै जाँदा परिमार्जित शैलीका चयनपूर्ण पदावलीमा रचिएका र कुनै उद्दिष्ट लिएर लेखिएका सोद्देश्यक कविता रहेछन् भन्ने मलाई लाग्यो ।
प्रकृतिको पारखी मान्छे हो । मान्छेका जीवनमा प्रकट हुने प्रकृतिका रूप, प्रभाव र परिणामलाई व्यक्त गर्ने पनि मान्छेको भोगाइ, अनुभव गराइ नै हुने भएको हुनाले मानव निरपेक्ष्य प्रकृतिको सत्व भए पनि उपादेयता सिद्ध गर्न सकिँदैन ।
गद्यलय र स्पष्ट अभिव्यक्तिको उठान विस्तार र बैठानमा आबद्ध पराजुलीका कविताले साधनाको समाधि र स्याहारासुसार पाएको भए सशक्त बन्ने रहेछन् । बिहान, बेलुका, दिनरात, प्रकृति, मानवीय, वयगत स्वभावका कुरामा रहेका उनका चिन्तनमूलक बढी, काव्यात्मक उच्छ्वलन कम भएका तर साधित गद्यमा रहेका हुनाले यी सबै कवितालाई पृथक्पृथक व्याख्या विश्लेषणभन्दा मिल्दाजुल्दा आकार, विषय र प्रस्तुतिका दृष्टिले मात्र व्याख्या विश्लेषण गर्नु समीचीन हुने ठम्याएर यसैनुरूप अगाडिका पंक्तिमा मेरा कुरा आबद्ध रहने छन् ।
राष्ट्रवादी स्वर
गोपाल पराजुलीका कविताहरूमध्य नेपाली माटाको सुगन्ध बोकेर राष्ट्रको अभिवन्दना गर्ने खालका कवितामा पहिलो कविता हुन् : ‘मेरो राष्ट्र, म, यो फूलबारी, युवा, हामी जुट्ने छौं, आऊ पौरख गरौं, हाम्रो देश,’ शीर्षकका कविता पर्दछन् भने यी सबै कविताले कतै युवकलाई, कतै विकासका चाहनालाई, अभिव्यक्ति र अभिव्यञ्जनाको माध्यम अनि वर्णनको विषय बनाइएको देखिए पनि भित्री अन्तर्हमा पुगेर खोतलेर जाँच्पड्ताल गर्दा त्यहाँ राष्ट्र, हाम्रो समग्र देश उभिएको देखिन्छ । यसो भएको हुनाले यी छवटा कविताको अभिवक्तव्य विषय बनेर देश उभिएको देखिन्छ । यी सबै माटाका मायाले ओतप्रोत रहेका कविता हुन् । यद्यपि एक प्रकारले प्रकृति राष्ट्र, विश्व, मानव उन्नति प्रगति र मानवीय मनका आरोह अवरोहभन्दा भिन्न प्रस्तुति असम्भवै नभए पनि कष्टकर चाहिँ हुन्छ नै ।
अतः कविता, कथा, उपन्यास आदिमा चाहे देशको सिमाना आओस् या विश्वपरिवेश उभियोस् अभिव्यक्तिलाई कुनै न कुनै विषय मुख्य बनाउँछ लेखक या स्रष्टाले र मात्रै त्यसैलाई समातेर अभिव्यक्तिको महामाला उन्ने प्रयत्न गरिएको भेटिन्छ । राष्ट्र शब्दको प्रथम प्रयोग ऋग्वेदमा आएको देखिन्छ । ऋक्को राष्ट्र शब्द धान, मकै, जौ, तील आदि सप्त धान्यादि उब्जाउने ठाउँलाई भनिएको देखिन्छ ‘राष्ट्रदाममुष्मै राष्ट्रदाराम्मे...’ यही शब्द यजुर्वेदमा आउँदा राजा र प्रजा सहितको वनपर्वतयुक्त खेत, खोला नद, नदी, वन, भीर, पाखापखेरा, स्वास्थ्यशिक्षा आदि भएको एउटा विकसित राज्यका अर्थमा प्रयुक्त भएको देखिन्छ । यजुर्वेदको दशौं अध्यायमा त राजालाई राज्यरोहण गराएर ईश्वरीय शक्त्याधानसमेत गरेको वर्णन भेटिन्छ ।
यसरी ऋक्ले बस्ने सानो परिधिका रूपमा र बालीनाली लाउने खेतबारीका अर्थमा ग्रहण गरेको राष्ट्रशब्दको अर्थ विस्तार भएर यजुसमा आइपुग्दा आजको सकल अंग विकसित भएको राष्ट्र शब्द बनिएको देखिन्छ । अझै पश्चिमा दृष्टिले भन्दा त आज पनि नेपाल राष्ट्र बन्न नसकेको देखिन्छ । बी.पी.को राष्ट्र विश्वमा मानवीय सम्बन्ध भएको समग्र जनताको भावात्मक एकताले ओतप्रोत निश्चित भूभाग, सार्वभौमसत्ता सम्पन्नता, सरकार आदि भन्दा पनि परिस्थिति विशेषमा जनताको सर्वोच्च भावात्मक एकता झल्काउन सक्ने सामथ्र्य नै कुनै पनि राज्यले प्राप्त गरेको राष्ट्रको स्वरूप हो ।
तर, कवि यसै भावनामा आएर जन्म दिने माता र माता की पनि जननी राज्यको भूमिलाई नै राष्ट्र भनेर अभिवन्दना गर्न पुग्दछन् : माथि हेरौं हिमचुली तल हेरौँ तराई÷आफ्नो भन्नु सबै मेरा कमी छैन केही । माटोभित्र मुटु राखी ब्युझी उठ्ने ठाउँ/मेरो देश जस्तै अर्को कहां छर ठाउँ ? यसरी मुटु देशका पाखापखेर हिमदेखि तराईका फाँटसम्मै बग्रेल्ती भएर पोखिएको देखिन्छ ।
प्रकृतिसँग सम्बद्ध
वैयक्तिक, सामूहिक जीवनजगत्लाई अभिव्यञ्जित गराउन प्राकृतिक उपादानलाई अवलम्ब्य बनाएर लेखिएका कवितालाई प्रकृतिसँग सम्बद्ध मान्न सकिन्छ । प्रकृतिको पारखी मान्छे हो । मान्छेका जीवनमा प्रकट हुने प्रकृतिका रूप, प्रभाव र परिणामलाई व्यक्त गर्ने पनि मान्छेको भोगाइ, अनुभव गराइ नै हुने भएको हुनाले मानव निरपेक्ष्य प्रकृतिको सत्व भए पनि उपादेयता सिद्ध गर्न सकिँदैन । यसो भएको हुनाले प्रकृति कृतिका अन्तर कुन्तरमा व्याप्त भएर लेखक स्रष्टाको मनमस्तिष्कलाई समातेर कहिले आलम्बन विभावका रूपमा त कहिले उद्दीपन विभावका रूपमा आएको हुन्छ । यहाँ प्रकृतिसँग सम्बद्ध भनेर छानिएका कवितामा प्रकृतिलाई दुवै भावका रूपमा पनि ग्रहण गरेका छन् कविले ।
प्रकृतिजगद्व्यापी हुने भएका कारणले यो आलम्बन विभाव र उद्दीपन विभावलाई तेस्रामा सन्चरण गर्ने प्रभावक तत्वका रूपमा आउँदा पनि कि त आलम्बन र कि भने उद्दीपन विभावकै रूपमा आएको देखिन्छ । यस संग्रहका कविता घरबसिबियाँलो टार्ने उपक्रममा आएका जस्ता पनि देखिन्छन् । कतै आवश्यक परिमार्जनका लागि लामो पर्खाइ पनि देखिन्छ भने कतै साना टुक्रे भावलाई सीमित शब्दावलीमा व्यक्त गर्ने कलाको चमत्कार पनि प्रकट भएको देखिन्छ । वर्षा आयो, अनवरत शृंखला, हिमकन्या, फूल, तिमीलाई सम्झँदा जस्ता कवितामा प्रकृतिको अनवरता, प्रकृतिको आगमनागमन, प्रकृतिले मानव मनलाई पार्ने प्रभाव आदि कुरालाई अभिव्यक्त गरिएको देखिन्छ ।
खोजी पस्दा यहाँ प्रयोजनवती लक्षण, वस्तुध्वनि र श्लेष, स्वाभावोक्ति जस्ता अलंकारादिको पनि उपस्थिति रहेको भेट्न सकिन्छ । यी अलंकार, ध्वनि, रस आदि सावधान भएर आयोजना गरिएका भने छैनन् । यी वनेलु गुलाव जसरी या सुनाखरी जस्ता भएर सुकेका रूखमा पनि मनमोहक बनेर फुलिदिएका छन् । छन्दको तारतम्यको जञ्जाल छैन तापनि कवितामा प्रचुरमात्रामा गद्यलयको सन्चार रहेको पाठकका हृदव्योमले अनुभव गर्दछ ।
कताकति हरिभक्तेली छाँटको अभिव्यक्ति र कताकति गोपालप्रसाद रिमालका पाराको छनक आउँदा कविता छाड्न मन लाग्दैन । मेरो मनको रहस्य पनि तिमीलाई/मैले खोल्न नसकेको व्यथा हुन्छ ।...टाढा-टाढा नदेखिने ठाउँतिर/सम्झनाका पटुकाभित्र पोकाहरू कसेर । तिमीलाई सम्झदा शीर्षक कविताका यी अभिव्यक्ति कति रहस्यमय छन् । यो सम्झना, देश, नेता नीति व्यवस्था र प्रेयसी जोकोही र जेपनि हुनसक्छ । यसैले कविता सांकेतिक हुन्छन् तिनमा षोडशीको चन्चलनेत्र कर्काइको बेधकता रहेको हुन्छ ।
मान्छे र उसका बाहृयान्तरिक प्रवृत्तिसँग सम्बद्ध
प्रकृतिको सबैभन्दा कमैया पुत्र नै मान्छे हो । मान्छेका लागि पनि अनन्त स्रोत र साधनको कहिल्यै नसिद्धिने खानी प्रकृति नै हो । स्पर्श गर्दा पनि अस्पृष्टा भोगेर घस्ट्याएर छाड्दा पनि अजनवीकी अजनवी बाला ऋक्कालदेखि कम्तीमा पनि इतिहास छ मान्छेले प्रकृतिलाई भोगेको त्योभन्दा कतिअघिदेखि भोगेको चेतना विनै पनि त मान्छेले अनेकौं प्रकारले नित्य नव-बालालाई सुम्सुम्यायो हो, परिचुम्बनका चेष्टा देखायो हो वाल्मीकि र कालिदासमात्रै त होईनन् नि यिनका कर्के आँखाका इसारालाई छातीभरि सजाएर संकेत स्थलमा पुगेर प्रतीक्षा गर्ने । अवतारी पुरुष भनिएका रामले त झन ‘रे रे वृक्षाः पर्वतस्था गिरिगहनलता वायुना विज्यमाना’...आदिआदि भनेर प्रकृतिलाई एकमात्र आराध्यकोड बनाएर देखाएका थिए ।
व्यासले पनि त ‘विष्णोर्माया भगवती यया सम्मोहितञ्जगत्’ भनेर यिनै प्रकृतिको गुणगान गरेका थिए । रुसो जस्ता उद्भट चिन्तक पनि ‘प्रकृतितिर फर्क’ भनेर मान्छेलाई प्रकृतिकै बाहृयान्तरिक शक्तिको संगेत गर्दै अघिबढेका थिए नि १६औं शताब्दीको औद्योगिक प्रदूषणले खग्रास बनाएको युरोपको मानवोद्धारका लागि । कतै राजनीतिका झूट त कतै विचारका बीजवपनका झगडाको दन्त बझान अनि कताकति मान्छेको आफ्नै जुम्सोपना, अल्छ्याई अधोमुखे, आहारिसे प्रवृत्तिको कमजोरीका कारणले मानवजीवन सम्पन्नताबाट विपन्नता र तिनै दुर्गुणको अभाव भएको मान्छे चाहिँ अभाव, दारिद्रय र विपन्नताको गहिरो गर्तबाट हेर्दा टोपी खस्ने उचाइमा पुगेका मान्छेको दृष्टान्तले पनि शासक निर्लज्ज दाँत देखाएर बसेका दृश्यावली पनि आएका छन् कवितामा ।
बालकप्रति नयाँ बिहानी, मैले देखेँ, समयका डोबहरू, जिन्दगीको यात्रा, तिम्रा प्रणहरू, लौन उठौं, आफूलाई चिन, युवा, तथा छरिएका सपना जस्ता कविताले उपर्युक्त किसिमका भावलहरीका माध्यमले जीवनजगत्को उद्गान गरेका छन् । यस संसारमा प्रत्येक शिक्षित मान्छे पहिला कवि बन्छ र पछि परिपक्व बन्दैगएपछि अर्कै वृत्ततिर कदम बढाउँछ । कविताबाट आरम्भित सर्जन यात्रा अन्यत्र नै पुगेर फैलेर स्वत्व प्रदर्शन गर्न गए/पुगेका यथार्थ पनि कम रोचक छैनन् । आकाशका जुन तारा टिपेर प्रेयसी र जनताका पोल्टामा हाल्ने काम अल्लारे प्रेमी र ठग राजनीतिकर्मीले गर्दारहेछन् । तिम्रा प्रणहरू शीर्षक कवितामा यिनै कुराको विमर्श गरिएको देखिन्छ ।
बालसाहित्यकार गोपाल पराजुलीले वयस्क मान्छेका लागि २५ वटा कविता लेखेर बाँकी समय सबै उनले बालमुस्कानमा समर्पण गरेको देखिन्छ । बालसाहित्यका बालकोचित शब्दचयन, वाक्विन्यास, भनाइको ढंग र विषयचयनमा भेटिने एक रूपताले उनलाई बालमनका गोपाल बनाएको सबैले स्वीकारे ।
मैले देखेँ शीर्षक कवितामा वस्तु ध्वनिका माध्यमले यो कविता लेखिएका बेलाका तमाम शासक, प्रशासक, जेता, नेताको जन्मकुण्डली उतारेर कविले ती निर्लज्ज देश दारालाई कुरीकुरी गरेका छन् । हामी केटाकेटीमा कसैको अधोस्त्र रैनछ भने चोर औंलाले औंल्याएर ‘कुरीकुरी धोजे पोइ खोजे’ भनेर चर्को स्वरमा खिज्याउने काम गर्दथ्यौं । आज म बुढाबुढा देश चलाउँछु भनेर मैदानबाट होक्काँ गरेर जोधा ठहरिएका काना गोरुलाई कुरीकुरी त भन्दै छु तर ती काना गोरु औंसी न पुर्ने चाल नपाए जसोगरी लाज पचाएरै बाँचिरहेका देख्छु । यसरी हेर्दा बालसाहित्यका फाँटतिर लागे पनि गोपाल पराजुलीमा संगति, विसंगतिलाई बुझेर कुरीकुरी भन्नेसीप र जाँगर थियो भन्ने अनुमान गर्न सकिन्छ ।
मानवीय भावसम्बद्ध कविता
यस संग्रहको पहिलो कविता नै रहस्यमय किसिमले अन्त्यमा मात्रै कविताका सम्बन्धमा भनिएका रहेछन् माथिदेखिका सारा कुरा भन्ने बुझेर पाठकका मनमा पाक्दै गरेका तिलजौका लड्डू पटपटी फुट्न लाग्दछन् ।यसरी हेर्दा यसमा भएका सबैभन्दा राम्रा कविता नै पहिलोक्रममा परेको ‘तिम्रो जन्म’ र ‘हाम्रो घर’ नामक कविता हुन् । यी एउटा कविताको आगमनमा पुत्रकामनाले उद्दीप्त मन पुत्र प्राप्तिपछि उत्फुल्ल भएको जस्तो कविको भाव रहेको देखिन्छ । बाल साहित्यको पनि गद्यविधामा परिकेन्द्रित कविले बेलामौकामा लेखेर कुनै न कुनै पत्रिकामा प्रकाशित भएका तर स्रष्टाको साधनाधुन अर्कैतिर मोडिएपछि अलपत्र परेका यी साधनाका दसीलाई सँगालेर वाणी प्रकाशनका वासु रिमाल यात्रीले समयका डोबहरू भन्ने शीर्षकमा सजाइदिएका हुनाले पछिसम्मका पाठक लाभान्वित हुन पाएका छन् ।
...तिमीले हतार हतार लुकी छिपी दौडाएका आँखाहरू । कहिलेकाहीं यी आँखाको नानीमा मुस्काउन पुग्छन् । कविताकाप्रति गोपाल पराजुलीका धारणा हुन् । कवि बनेर बाँच्ने न रहर छ न त कवितालाई गोडमेल गर्ने फुर्सद नै । तर पनि यदाकदा आफ्ना सिर्जना देख्दा उनलाई मन नमुस्कुराए पनि आँखा भने सहजै प्रफुल्लित भएको अनुभूति पोखेका छन् । रित्तो कोठा, बालकप्रति, नयाँ बिहानी, जिन्दगीको यात्रा, लौन उठौँ, आफूलाई चिन, मान्छे भई बाँचौं, दुर्घटनाजस्ता कवितामा मानवीय मनका भावहरू अभिव्यन्जित भएका छन् । यी भाव सुखदुःखमा पनि कहिले हाँसोका सुखात्मक बुँद र कहिले रोदनमा दुखात्मक बुँदका रूपमा चुहेका हुन्छन् । कविता बिम्ब र प्रतीकलाई आधार मार्ग बनाएर रुनझुने भाव बोकेर उतुंग हिमनगको आरोहण हो भावगम्भीर कविका निमित्त ।
उपसंहृति
यसरी बालसाहित्यकार गोपाल पराजुलीले वयस्क मान्छेका लागि २५ वटा कविता लेखेर बाँकी समय सबै उनले बालमुस्कानमा समर्पण गरेको देखिन्छ । बालसाहित्यका बालकोचित शब्दचयन, वाक्विन्यास, भनाइको ढंग र विषयचयनमा भेटिने एकरूपताले उनलाई बालमनका गोपाल बनाएको सबैले स्वीकारे । धेरैजसो साहित्य स्रष्टा एकाधिक विधामा कलम चलाए पनि एक-दुई विधामा मात्रै सिद्धि हात पार्न सफल भएका देखिन्छन् । देवकोटाले नेपाली साहित्यका प्रायःजसो विधामा कलम चलाए पनि उनको सिद्धि भनेको कविता र निबन्धका पाँटमा नै रहेको देखिन्छ ।
यस्तै बालकृष्ण समले पनि अनेकौं विधामा कलम चलाए तापनि उनले पनि चूडान्त संसिद्धि चाहिँ नाट्य र दर्शनमा मात्रै पाएका छन् अझ सोझो शब्शब्दमा भन्दा नाट्यका दुःखान्त र कवितात्मक नाट्य नै बालकृष्ण समका चम्किला ज्योति हुन् । यसै गरी बालजीवनीकार गोपाल पराजुली पनि यगयुगान्त चमक्क चम्किरहने क्षेत्र भनेको ‘पच्चीस प्रतिभा’का अष्टाहार नै हुन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच