जुम्लामा जातीय विभेदको कसुरमा पूर्व वडा अध्यक्षका छाेरा पक्राउ

प्रतिकात्मक तस्वीर

मान बहादुर बिश्वकर्मा कालिकोट
Read Time = 3 mins

कालीकोट । जातीय विभेद मुद्दामा दाेषी ठहर भएका फरार प्रतिवादी पक्राउ परेका छन् । जातीय विभेद गरेकाे कसुरमा उच्च अदालत सुर्खेत-जुम्ला इजालासले दाेषी ठहर गरेका जुम्लाको सिँजा गाउँपालिका-६ का नवीन बुढा पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक (डिएसपी) छेदीलाल काम्तीका अनुसार बुढालाई उनकै घरबाट पक्राउ गरिएकाे हाे ।

साेही वडाका वीवेन्द्र नेपालीले तत्कालीन वडाअध्यक्ष कालीबहादुर बुढा र उनका छाेरा नवीन बुढाविरूद्व जातीय विभेद गरेकाे आराेपमा जिल्ला प्रहरी कायर्यालय जुम्लामा २०७८ असार २६ गते मुद्दा दर्ता गरेका थिए ।

तत्कालीन वडाअध्यक्ष कालीबहादुर बुढालाई जिल्ला अदालत जुम्लाले भने उन्मुक्ति दिएको थियो । तर, उनका छाेरा नवीन बुढालाई भने चार महिना कैद र २० हजार जरिवाना र २५ हजार क्षतिपूर्ति पीडितलाई दिने फैसला सुनाएको थियो ।

वडाअध्यक्ष बुढालाई अदालतले उन्मुक्ति दिएपछि पीडित नेपालीले दुबैजनालाई कारबाहीको माग गर्दै उच्च अदालतमा पुग्नुभएको थियो । उच्चमा २०७८ साउन २७ गते मुद्वा दर्ता भएको थियो ।

उच्च अदालतले २०८० जेष्ठ १८ गते उक्त मुद्दामा फैसला गर्दै नवीन बुढालाई तीन महिना बीस दिन र २० हजार जरिवाना कैद सुनाएकाे थियाे ।

उनी अदालतकाे फैसला लगत्तै फरार रहेका थिए । लामाे समय फरार रहेका उनलाई पक्राउ गरेर अदालतमा पेस गरिएकाे डिएसपी काम्तीकाे भनाइ छ ।

बुढा पक्राउ परेपछि आफूले न्याय पाएकाे महशुस भएकाे पीडित वीवेन्द्र नेपालीले प्रतिक्रिया दिनुभयाे । जातीय विभेद तथा सजाय कसुर ऐन २०६८ अनुसार जातका आधारमा गरिने कुनैपनि विभेद कानुन अनुसार दण्डनीय मानिने उल्लेख गरिएको छ । पक्राउ परेका बुढालाई कारागार चलान गरिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *