म्याग्दी । आज असोज २ गतेबाट यस वर्षको पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरू भएको छ । सोह्र श्राद्ध शुरू भए संगै हिन्दू र बौद्ध धर्मावलम्वीहरुको साझा तीर्थस्थल हिमाल पारीको जिल्ला मुस्ताङको कागबेनीमा आफ्ना पितृहरुलाई तर्पण र पिण्डदानसहित श्राद्ध गर्न भक्तजनहरु पुग्न थालेका छन् ।
दामोदर कुण्डबाट बगेर आएकी काली नदी र मुक्तिनाथका १ सय ८ धाराबाट बगेर आएकी गण्डकीको संगम स्थल भएकाले कागबेनीमा पुगेर पिण्डदान गर्दा सबैभन्दा उत्तम फल मिल्ने बराह पुराण, स्कन्द पुराण,श्रीमद्भागवत लगायतका ग्रन्थहरुमा उल्लेख गरिएको छ ।
कालीगण्डकी तथा मुक्तिनाथ क्षेत्रका जानकार पं नारायण आचार्यका अनुसार तीर्थस्थलमा पुगेर पितृलाई तर्पण दिनका लागि सोह्र श्राद्ध वा पितृको तीथि नै त चाहिदैन । तर सोह्र श्राद्धमा मुक्तिनाथ र कागबेनीमै पुगेर एकपटक भए पनि आफ्ना दिवंगत पितृको उद्धारका लागि पिण्डदान गर्न नेपाल र भारतका विभिन्न स्थानहरूबाट हजारौं धर्मालम्बी आउने गर्दछन् ।
सोह्र श्राद्धलाई ‘महालय श्राद्ध’ पनि भनिन्छ । यसबाहेक सोह्र श्राद्ध, पितृपक्ष, कगंत, जितिया, महालय पक्ष, पितृ पोखो आदि विभिन्न नामले यी पवित्र १६ दिनको पुकारा गरिन्छ । भाद्र शुक्ल पूर्णिमाबाट शुरू भएको यो पक्ष सोह्र श्राद्ध अवधिभरि अर्थात् आश्विन कृष्ण औंशीका दिनसम्म चल्ने गर्दछ ।
बुधबारबाट शुरु भएको पितृपक्ष अर्थात् सोह्र श्राद्धमा श्राद्ध गर्नका लागि चितवन,नवलपुर,नवलपरासी,म्याग्दी,बागलुङ लगाएत् विभिन्न जिल्लाबाट भक्तजनहरु आउन थालेका कागबेनीबाट रघु शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार सोह्र श्राद्ध शुरु भएसंगै कागबेनीमा चहलपहल पनि बढेको छ ।
आजदेखि म्याग्दीको सदरमुकाम बेनीबाट मुस्ताङका लागि छुट्ने सार्वजनिक सवारी साधनमा यात्रुहरुको भीड बढेको र उनीहरु अधिकांश कागबेनीमा श्राद्ध गर्न जानेहरु रहेको यातायात व्यवसायीहरुले बताएका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच