काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी वैशाख अन्तिम साता पहिलो राष्ट्रिय महाधिवेशन गर्ने भएको छ ।
पार्टीको जारी राष्ट्रिय भेलामा सभापति रवि लामिछानेले २०८२ साल वैशाख २५, २६ र २७ गते महाधिवेशन गर्ने प्रस्ताव गर्नुभएको हो ।
आजैबाट पार्टीको केन्द्रीय कमिटी महाधिवेशन आयोजक कमिटीमा परिणत भएको सभापति लामिछानेले बताउनु भयो । उहाँले नयाँ अभियानको पनि घोषणा गर्नुभयो ।
जनताको कुरा सुन्न ‘महाकाली–मेची जनयात्रा अभियान’ सुरु गर्ने उहाँले बताउनु भयो ।
राष्ट्रिय भेलामा मंगलबार प्रदेश स्तरीय प्रतिवेदन, आर्थिक प्रतिवेदन, अनुशासन आयोग, संसदीय अभ्यास लगायतका विषयमा प्रतिवेदन पेस भएका थिए । ती प्रतिवेदनमाथि आज छलफल गरि अनुमोदन गरिएको थियो । ती प्रतिवदेनहरुमा सामूहिक छलफलका लागि केही समय छुट्याइएको भए पनि पार्टी सभापतिले पेस गर्ने राजनीतिक प्रतिवेदनमाथि भने छलफलमै नलागेर पारित गरिएको थियो ।