काठमाडौं । रसियाकी एकातोरिना जुभियागिनसिभाले गण्डकी थण्डर्सबाट वात्सल्य एभरेष्ट वुमन्स भलिबल लिग खेल्नुहुने भएको छ । गण्डकीले आफ्नो तेस्रो विदेशी खेलाडीका रूपमा एकातोरिनालाई अनुबन्ध गरेको हो । एकातोरिना रसियाको घरेलु लिगमा परिचित अनुहार हुनुहुन्छ । उहाँले रसिया तथा मंगोलियामा हुने घरेलु प्रतियोगिताहरू खेल्नुभएको छ ।
एकातोरिनाले नेपालमा भलिबल खेल्न आउन पाउनु आफ्ना लागि खुसीको कुरा भएको बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘नेपालजस्तो सुन्दर देशमा भलिबल खेल्न आउन पाउँदा मलाई खुसी लागेको छ, छिट्टै कोर्टमा भेट हुनेछ ।’
एकातोरिनाले दुई सिजन सन् २०१७ र २०१८ मा यू-२० रसियन लिग खेल्नुभएको छ । त्यस्तै उहाँले सन् २०२३-२४ मा मंगोलियन प्रिमियर लिग पनि खेल्नुभएको थियो ।
गण्डकीले यसअघि भारतकी शिल्पा सिन्धु र रसियाकी एलिसा रुबियकलाई अनुबन्ध गरेको थियो । गण्डकीले अझै एक खेलाडी अनुबन्ध गर्ने लक्ष्य बनाएको छ ।
आफ्नो तेस्रो विदेशी खेलाडी अनुबन्ध गरेपछि टिमका प्रबन्धक विकास खेतानले तीनजना विदेशी खेलाडी टिममा रहँदा गण्डकी बलियो भएको बताउनुभयो ।